बागलुङ/हुँदाखाँदाको सरकारी जागिर थियो । २१ वर्ष अघिसम्म उनको तलब ५ हजार थियो । त्यसैले परिवार कठिनपूर्वक चलेको थियो । तर, उनी जागिरको भर परेनन् । बढेपनि महंगी र प्रतिस्पर्धी बजारमा जीवन धान्न गाह्रो पर्छ भन्ने सोचे ।
जागिरमा मन नगरेका उनले विदेश जाने सोच राखे तर सफल भएनन् । काठेखोला गाउँपालिका ७ का ५० वर्षिय तालबहादुर कुँवरले आफ्नै ठाउँमा व्यवसाय गरेर देखाउने अठोट लिएपछि जागिर छाडिदिए । यो घटना २०६० को हो ।
होटल र पर्यटन व्यवसायबाटै समृद्धिका पाईला चाल्ने सपना देखेर २०६० फागुनमा सदरमुकाम झरेका कुँवरले अहिले भने बागलुङ बजारमा सफल व्यवसायी बनेर देखाएका छन् । पढ्ने काममा लागेकोले शुरुमा उनले धेरै लगानी पनि गर्न सकेनन् । सानो लगानीबाटै छाप्रो होटल शुरु गरेका कुँवरले क्रमशः व्यवसाय बढाएर अहिले उपल्लाचौरस्थित शितल होटल एण्ड पार्टी प्यालेस सुविधासम्पन्न भवनमा चलाउन थालेका छन् । जिल्लाका धेरै नेता, कार्यकर्ता, गैरसरकारी संस्थादेखि सामाजिक संस्थाले यो होटलमा खाना खाने, कार्यक्रम गर्ने योजना बनाउने गर्छन् । शिवधारा चोकमा रहेको होटलले चाप थेग्न नसकेपछि उनले उपल्लाचौर सारेका हुन् ।
उनको सफलतामा केही रोचक कथाहरु जोडिएका छन् । विदेश गएको एक साथीले बस्ने होटल खोजीदिन भनेपछि उनले आफ्नो छाप्रोमा राख्न सकेनन् । सदरमुकामकै ठूलो होटलमा कोठा खोजीदिए । त्यस दिन आफ्नो छाप्रो होटलप्रति आँफैलाई लज्जाबोध भएपछि ऋण खोजेर ठूलो होटलको खोजीमा हिंडे । उनले गुणस्तर दिने, सरसफाई र मेहेनत गर्न भन्दै शितल होटल एण्ड रेष्टुरेष्ट खोले । यो रेष्टुरेन्टबाट उनले सफलताको सिढी चढ्न शुरु गरेका हुन् । कुँवर मुक्तिनाथ जाने पर्यटकलाई बागलुङमा राख्ने, जिल्लाका धार्मिक र ऐतिहासिक स्थानमा पर्यटक घुमाउने गरी पदमार्ग र रुट बनाउने अभियानमा राजनीतिक नेतृत्वले भूमिका खेलीदिनुपर्ने मत राख्छन् । ‘आएका पाहुनालाई राख्ने र सन्तुष्टी दिने काम हामी गर्छौ’ उनले भने, ‘पूर्वाधार निर्माण र रुट स्थापित गर्न राजनीतिक नेतृत्वको अगुवाई हुनुपर्छ ।’
शिक्षण पेशामा लागेको भए व्यवसायिक बन्नै नसक्ने उनले बताए । विदेश मोह छैन भनिसकेपछि केही युवालाई रोजगारी दिएर रोक्ने उनको योजना होटलले साकार पारिदिएको छ । अहिले उनले ७ जना युवालाई रोजगारी दिएको बताए । त्यसमा पनि अपांगता भएका यहाँ रोजगार छन् । उनले बहिरालाई नियमितजसोः रोजगारीमा राख्ने गरेका छन् ।
कुँवरले कार्यक्रम र तालिम हल बनाएपछि होटल व्यवसायिक बन्न थालेको हो । ‘समूहमा आएका पाहुनाले बेलुकी कार्यक्रम र नाचगान गर्न खोज्छन्’ उनले भने, ‘त्यो अवसर दिन नसके पाहुना दोहोरिएर आउँदैनन् ।’ उनको अभियानलाई श्रीमती बिनिताले साथ दिएकी छिन् । एक जनाले व्यवस्थापन हेर्दा अर्कोले बाहिरी वातावरण बनाउन सकिने उनीहरुको अनुभव छ । घरबाट रित्तो हात झरेका कुँवरले अहिलेसम्म झण्डै ५ करोड आसपासमा लगानी गरिसकेका छन् ।
संघियताको कार्यान्वयन पछि सदरमुकामको व्यापार घटेको भन्नेलाई उनी हल्लाको संज्ञा दिन्छन् । ‘केही कर्मचारीहरु गाउँ पसेका हुन्, तर होटलले घुम्न आउने पाहुना बढाउने हो’ उनले भने, ‘सेवा र पर्यटकीय गन्तव्य बढाउँदा व्यवसाय फस्टाउँछ ।’ पाहुना सँगको व्यवहार, खाना र बस्ने गुणस्तर, सरसफाई र मेहेनतले सफलता पाउन सकिने उनको तर्क छ । होटल व्यवसायी संघ जिल्ला र महासंघ गण्डकी प्रदेशका धेरै कार्यक्रम समेत उनले आफ्नै होटलमा ल्याएर गर्न सकेका छन् । त्यतिबेला उत्कृष्ठ होटल व्यवसायीले दिने सुझावले पनि व्यवसाय प्रवद्र्धन गर्ने तथा नयाँ सोचको विकास गरेको उनी बताउँछन् ।





