बागलुङ/सवारीसाधनको अव्यवस्थित पार्किङले बागलुङ नगरको बजारक्षेत्र अस्तव्यस्त बनेको छ ।
ट्राफिक व्यवस्थापनका लागि नगरपालिका, प्रहरी र ट्राफिक प्रहरीले बजारका मूल सडकपेटीमा पसल राखेर व्यापार गर्दै आएका साना व्यापारीहरुको पसल हटाएको छ । तर, अहिले त्यहिं सडकपेटी सवारी साधनको पार्किङ स्थल बनेको छ ।
बजारको साँघुरा सडकदेखि गल्लीहरुमा समेत अव्यवस्थित पार्किङ गरेको देखिन्छ । पार्किङ व्यवस्थित गर्ने जिम्मेवार निकाय ट्राफिकको एकल प्रयासले त्यो संभव पनि छैन ।
बागलुङ बजारका साँघुरा र जीर्ण सडक जताततै मालबाहक ट्रक, लरी, बस, जीप, कार, अटोरिक्सा, मोटरसाइकल लगायतका सवारी पार्किङ हुँदै आएको छ ।
मुख्यगरी बजारक्षेत्रका ट्राफिक चोक, शिवधारा चोक, जिपपार्कलगायत अन्य सडक छेउछाउ पार्किङ गर्ने क्षेत्र निश्चित क्षेत्र तोकेपनि पुराना सडक साँघुरो हुँदा सवारी पार्किङ समेत अस्तव्यस्त देखिन्छ । अव्यवस्थित पार्किङकै कारण बजारमा सवारी जाम हुने समस्या छ भने पैदलयात्रीले समेत सास्ती खेप्न बाध्य छन् ।
बागलुङ बजारका सडक पहिलादेखि नै साँघुरा भएकाले ग्र्रामीण भेगबाट धेरै सवारी आउने भएकाले पार्किङको समस्या रहेको छ । दिनहुँ जस्तो दुर्घटना हुने भएकाले पार्किङको दिगो व्यवस्थापनमा नगरपालिकाले तत्काल पहल गर्नुपर्ने बागलुङ नगरपालिका वडा नं. ३ रात्माटाका अमृत सापकोटा बताउँछन् ।
बजारक्षेत्र साँघुरो भएकाले चिप्लेटी बसपार्कलाई उपल्लाचौरमा स्थानान्तरण गर्ने तयारी भईरहेको छ । बागलुङ नगरपालिका वडा नं. ४ उपल्लाचौरको दाबगरामा निर्माण सम्पन्न गण्डकी प्रदशकै नमुना आधुनिक बसपार्क स्थानान्तरण गर्न चिप्लेटी बसपार्कमा साना सवारीलाई पार्किङको व्यवस्था गर्न सकिने ट्राफिक प्रहरीको योजना छ । स्थानीय तह, सवारी व्यवसायीको बैठकमा पटक पटक जानकारी गराएपनि सुनुवाई भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बागलुङका प्रमुख सुमन निउरेको भनाई छ ।
बागलुङ बजारको सौन्दर्यकरण गर्ने अभियानलाई प्राथमिकतामा राखेको नगरपालिकालाई ट्राफिक व्यवस्थापन नै प्रमुख चुनौती बनेको छ । पैदलयात्रुलाई ध्यानमा राख्दै फुटपात सहितको सडक बनाउने कामलाई निरन्तरता दिएको नगरपालिकाले साउन महिनाभित्र उपल्लाचौरको दाबगराबाट बसपार्क संचालन गर्नेगरी काम तीव्र बनाएको छ ।
बसपार्क स्थानान्तरण गर्न सकेमात्र बजारको ट्राफिक व्यवस्थापन चुस्त बन्ने नगरपालिकाको विश्वास छ । बसपार्क स्थानान्तरण संगै चिप्लेटीलाई ट्याक्सी, पिकअप जिपको पार्किङ स्थल बनाउने योजना रहेको बागलुङ नगरपालिकाका नगरप्रमखु बसन्त कुमार श्रेष्ठले सुनाए ।
बागलुङ बजारको पार्किङ व्यवस्थापन अस्तव्यस्त हुँदा बजारबासीले यात्रामा सास्ती खेप्दै आएका छन् । साँघुरा सडकले दुर्घटनाको जोखिम पनि उत्तिकै बढाएको छ । बजारमा बढ्दो जनघनत्वसंगै सवारी साधनको चाप पनि उत्तिकै बढेको छ ।
बागलुङ बजारमा मात्रै झण्डै ७ सय दुई पाङग्रे सवारी ओहोरदोहोर गर्छन् । ग्रामिण क्षेत्रबाट भित्रिने जीपहरुको संख्या पनि उत्तिकै छ । सडकमा जेब्रा क्रस र ट्राफिक टाइटको व्यवस्था नहुँदा स्कुले बालबालिकादेखि जेष्ठ नागरिकलले जोखिम मोलेर सडक काट्न विवश छन् । सवारी चापले कुरुप बनेको बजारको सौन्दर्यलाई बचाउन पार्किङको दिर्घकालिन व्यवस्थापन गर्नुपर्ने सरोकारवाला बताउँछन् ।





