बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

‘दिलसरा’ले दर्शकको दिल जित्नेछः प्रभावशाली महिला बन्न प्रेरणा दिनेछ

‘दिलसरा’ले दर्शकको दिल जित्नेछः प्रभावशाली महिला बन्न प्रेरणा दिनेछ


  • ढोरपाटन संवाददाता
  • साउन ३१ २०८१, बिहिबार

पोखरा/ सबै समुदायले आफ्ना कला, भाषा, संस्कृति, भेषभुषा, रितिरिवाज र रहनसहनलाई संरक्षण र उजागर गर्न विभिन्न तवरबाट प्रयास गर्दै आइरहेका छन् । यसै क्रममा मगर संस्कृतिमा आधारित चलचित्र ‘दिलसरा’ यही भदौ ३ गतेदेखि पोखरामा औपचारिक रुपमा प्रदर्शन हुदैछ । चलचित्रले मगर समुदायको बहुआयामिक सांस्कृतिक पक्षलाई उजागर गर्नुका साथै समुदायभित्र भएका विकृति विसंगतिहरुलाई केलाएर अगाडि बढ्नुपर्छ भन्ने प्रेरणा दिने आशा निर्माण पक्षको छ ।

चलचित्र मुख्यतयाः मगर समुदायको संस्कृतिमा आधारित भएपनि कथावस्तु भने देशमा महिलाहरुले संघर्ष गर्नुपर्ने बाध्यात्मक सामाजिक परिवेश र सफलताको ऐनाको रुपमा चित्रण गर्ने प्रयत्न गर्ने चलचित्रका निर्माता तथा कथा लेखक जुना थापामगरले बताइन् । ‘देशको अधिकांश हिस्सा हामी आदिवासी जनजाति समुदायले ओगटेका छौँ, बाहुल्य जनसंख्या भएको समुदायमध्येको एक समुदाय मगर समुदाय हो । हामीले मान्दै आएका सुन्दर सांस्कृतिक पक्षहरु भीमकाय छन्, जसले हामीलाई पहिचान दिएको छ’, लेखक थापामगरले भनिन्, ‘यी हाम्रा सांस्कृतिक पहिचानहरू समय परिवेशअनुसार भोलिका पुस्ताले कसरी अनुशरण गर्छन्, यो निकै चुनौतीको विषय छ, त्यसैले यसलाई जीवित राख्न पनि दस्तावेजका रुपमा हाम्रो टिमले ‘दिलसरा’ निर्माण गर्न आवश्यक ठानेका हो, चलचित्रमा मगर समुदायको संस्कृति समावेश गरिएको भएतापनि कथावस्तुमा भने समग्र देशकै सामाजिक परिवेशलाई चित्रण गरिएको छ ।’  लेखक थापामगर लामो समयदेखि सञ्चार क्षेत्रमा आवद्ध रही मगर समुदायका गतिविधिलाई सञ्चार माध्यम मार्फत वकालत गर्दै आईरहेकी छिन् । साथै फुटकर पटकथा र डकुमेन्ट्रीहरुको स्क्रिप्ट लेखनमा राम्रो अनुभव र दखल राख्छिन् । आफ्नो अनुभव र क्रियशनलाई अब आफ्नो समुदायको हितमा योगदान दिनुपर्छ भनेर ‘दिलसरा’ चलचित्रको कथावस्तु लेखनमा पहिलो पटक आँट गरेको उनी सुनाउँछिन् । ‘छोटा कथा र स्क्रिप्ट लेखन पहिलेदेखि गर्दै आए पनि चलचित्रको लेखन भने पहिलो हो’ उनले थपिन् ।

हाल शिक्षण पेसा तथा सञ्चार क्षेत्रमा आबद्ध थापामगरलाई तपाईँ पनि चलचित्रकी नायिका भन्दा कम हुनुहुन्न आफूले निर्माण गरेको चलचित्रमा तपाई नै किन मुख्य पात्रमा देखिनु भएन त ? भन्ने प्रश्नमा उनले हाँस्दै जवाफ दिइन् ‘मान्छेको एउटा चासोको विषय हुँदो रहेछ, कार्यक्षममताको उत्कृष्टता र मन भित्रको सन्तुष्टिको फ्युजन मिल्नु पर्छ नि ! तर मलाई पर्दा पछाडिकै जिम्मेवारीमा बढी सन्तुष्ट महसुस भएको छ, यहि भूमिकालाई अझै निखार्न चाहन्छु ।’
चलचित्र निदेर्शक अशोक आलेमगरले दिलसरामार्फत अन्धविश्वासी मूल्यमान्यताले व्यक्ति, परिवार र समाजमा पारेको असर र यसबाट कसरी बच्न सकिन्छ भन्ने पक्षलाई जोडतोडले प्रस्तुत गरिएको बताए । उनका अनुसार चलचित्रमा समाजमा महिलाको संघर्ष र सफलतालाई विषेश जोड दिइएको छ । ‘मैले यस अघि पनि केही मगर चलचित्रमा अभिनय गरेको छु, कुनै चलचित्र निर्देशन पनि गरेको छु, मलाई लाग्छ दिलसरा चलचित्रले मेरो आगामी यात्रामा थप सहयोग पुग्ने छ, यसमा पक्कै नयाँ मसला दिन कोसिस गरेको छु, चलचित्र हेरेपछि दर्शकले आफै मूल्याङ्कन गर्नुहुनेछ’ उनले भने । पोखराको निर्मलपोखरी र आसपासका पर्यटकीय स्थलहरुलाई मुख्य केन्द्रबिन्दु बनाएर छायाकंन गरिएको चलचित्रले समाजको यथार्थ परिवेशलाई मात्रै उजागर गरेको छैन, यहाँका पर्यटकीय स्थानहरुको पनि समाहित गरिएको छ, जसले यहाँका पर्यटन प्रवर्धमा पनि सहयोग पुग्ने अर्का चलचित्र निर्माता हर्क आलेमगरको विश्वास छ ।

‘दिलसरा’ चलचित्र भावी पुस्ताका लागि उत्कृष्ट दस्तावेज सावित हुने चलचित्रका अर्का निर्माता तथा पटकथा लेखक मिना थापामगरको दावी छ । समाजमा एउटा महिलाले अगाडि बढ्न कति संघर्ष गर्नुपर्छ भन्ने पक्ष समेटिएकोले दिलसरा चलचित्रले विषेश गरी महिला जमात र सिंगै समाजलाई प्रेरणा दिनेमा उनी ढुक्क छिन् । २ घन्टा ३० मिनेटको चलचित्रले प्रदर्शन अवधिभर दर्शकलाई होल्ड गर्ने छ भन्ने उनको आशा छ । ‘धार्मिक, सांस्कृतिक रुपमा धनी हाम्रो समुदायलाई आधार बनाएर अब हामी पनि राजनैतिक, आर्थिक, भौतिक, नैतिक र बौद्धिक रुपमा राज्यका उच्च ओहोदामा पुग्नु पर्छ भन्ने विषयलाई चलचित्रमा जोड दिएको छ’, उनले थपिन्, ‘दिलसरा अरु मगर चलचित्र भन्दा फरक पक्कै छ, आशा छ, चलचित्र पुरै अवधि दर्शकलाई मनोरञ्जन दिन सफल हुनेछ ।’ चलचित्रमा पुरुष पात्रका रुपमा मुख्य भूमिकामा कल्याण रानामगरलाई देख्न सकिने छ । ‘मेनेको फिल्म्स् एण्ड मिडिया हाउस’ को व्यानरमा निर्मित चलचित्रमा रानामगरसँगै सृष्टि राना मगर, सुस्मिता पुन मगर, मिन पुन मगर, खड्गबहादुर पुन मगर (खगपु), भीमसरा घर्ती मगर, टेक पुर्जा पुन, सुनमाया थापा मगर, ओम विरकट्टा मगर, ओम श्रीष मगर तथा स्थानीय कलाकारहरुले अभिनय गरेका छन् ।

चलचित्र ‘दिलसरा’ र प्रभावशाली मगर महिला २०८१ योजना
चलचित्र ‘दिलसरा’ निर्माण पश्चात् यसको प्रवर्धनका लागि निर्माण टिमले एउटा कन्सेप्ट लिएको छ, त्यो हो– प्रभावशाली मगर महिलाहरुको खोजी । चलचित्रले दिन खोजेको सन्देश र व्यवहारिक रुपमा सफल मगर समुदायका महिलाहरुको पहिचान र प्रोत्साहनले आगामी दिनमा समुदायलाई सकरात्मक बाटोमा अगाडी बढ्न धाप मारोस् भन्ने निर्माण टोलीको लक्ष्य हो । अहिले चलचित्र प्रमोशन र प्रदर्शनको अवधिभर देश तथा विदेशमा रहेर विभिन्न क्षेत्रमा क्रियाशील तथा समुदायमा समुदाय र राष्ट्रको उत्थानमा उदाहरणीय कार्य गर्दै आइरहेका मगर समुदायका प्रभावशाली महिला खोजीको सुरुवात गर्ने कार्य समेत शुभारम्भ गरिएको छ । विशेषगरी नारी कथानक चलचित्र भएकोले ‘दिलसरा’ पात्रको प्रतिनिधित्व गर्ने महिलाहरु जो आफ्नो क्षेत्रमा संघर्षरत छन् र समाज र राष्ट्रलाई अग्रदिशातर्फ डो¥याउन अभिप्रेरित गर्न सक्छन् त्यस्ता जुझारु महिलाहरुको खोजी गरी समाज र राष्ट्रमा नै चिनाउने चलचित्र टिमको उद्देश्य रहेको चलचित्रका कार्यकारी निर्माता प्रेम थापामगरले बताए ।

चलचित्र जुन जिल्लामा प्रदर्शन हुन्छ सोही स्थानबाट शिक्षा, राजनीति, समाजसेवी, उद्योग व्यवसाय, स्वास्थ्य, साहित्य, खेलकुद, सञ्चार, भाषा कला तथा संस्कृति, कृषि, पर्यटन, सूचना प्रविधि, गीतसंगीत, कानून तथा प्रशासन, सुरक्षा लगायत क्षेत्रमा रही समुदाय तथा मुलुकलाई टेवा पु¥याएका प्रभावशाली मगर महिलाहरु मध्येबाट खोजी गरिने खोजी अभियानका संयोजक तथा चलचित्रका कथा लेखक जुना थापामगरले बताइन् । उनका अनुसार ‘प्रभावशाली मगर महिला–२०८१’ मा सहभागिता जनाउन चाहने महिलाले आफूले गरेको विभिन्न कामको विवरण सहित इच्छुकले गुगल तथा इमेल मार्फत् फारम भर्न सकिने बताउँदै कास्कीबाट १९ जना प्रभावशाली मगर महिलाहरु सहभागी भएका छन । छनोट भएका उत्कृष्ट ‘प्रभावशाली मगर महिला २०८१’ को अन्तिम परिणाम २०८२ साल वैशाखमा फाइनल गरिनेछ । छनोट प्रक्रिया लोकप्रियता र जजराउण्डको आधारमा हुनेछ । उत्कृष्ट महिलाका लागि उचित पुरस्कारको व्यवस्था रहेको आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->