मंगलबार, कार्तिक ३ २०८३

मंगलबार, कार्तिक ३ २०८३
  • ३ कार्तिक २०८३ , मंगलबार
  • October 20 2026

चिरीच्याट्ट ‘मुखिया घर’

चिरीच्याट्ट ‘मुखिया घर’


  • ढोरपाटन संवाददाता
  • साउन ३१ २०८१, बिहिबार

बागलुङ/पञ्चायत कालमा मुद्दा मामिला भएमा मुखियाले छिनोफानो गर्थे । साँधकिलोको झगडा भएमा पनि मुखियाको साथ लिने चलन थियो ।
बागलुङको तमान गाउँमा त्यसकै प्रतिक मुखिया घर बनेको थियो । २०१६ सालमा बनेको घर जीर्ण थियो । अहिले मुखिया प्रथा नभएपनि ऐतिहासिक विषयको संरक्षणका लागि यो मुखिया घर पुननिर्माण गरिएको छ । २०४६ को परिवर्तनपछि अलपत्र रहेको घर पुननिर्माण गरेर त्यहाँ साँस्कृतिक सामाग्रीको संग्रह गरिने तयारी भएको छ । हाल यहाँ पुस्तकालय र कार्यालय बनाइएको छ ।
उक्त घरमा बसेर यहाँको ६ गाउँका मुखियाले मुद्दाको छिनोफानो गर्ने र मालपोत कर उठाउने गरिन्थ्यो । स्थानीय मनबहादुर बुढाथोकीका अनुसार त्यतिबेला मुखियाले उठाएको करबाटै गाउँको विकास निर्माण गरिएको थियो । तमानखोला गाउँपालिका वडा नं. ३ को तमान गाउँमा रहने मुखियाले पश्चिम बागलुङको तमान, लामेला, खुंगा, खुंखानी, नर्जाखानी र लुकुरबन गाउँको कर उठाउने गरेका थिए ।
पञ्चायत अघिनै बनेकोले यो घरलाई मुखिया घर भनिन्थ्यो । पञ्चायती शासन आएपछि यो घरलाई पञ्चायत भन्न थालियो । बुढाथोकीका अनुसार, खुंगाका थमबहादुर शेरचन यहाँको ६ गाउँको पहिलो मुखिया थिए । उनी पछिका दिर्घनारायण भट्टचनले केन्द्रीय सरकारमा पहुँच पु¥याएर बीपी कोइरालाको पालामा २०१६ सालमा यो भवन बनाएका थिए । उनी बेलाबेला काठमाण्डौं गएर नेता भेट्थे । त्यसका लािग सरकारको केही बजेटमा स्थानीयले श्रमदान गरेको बुढापाकाको कथन छ ।
लामो समय जीर्ण भएर ढल्नै लागेको यो घर अहिले पुननिर्माण गरेर रंगरोगनसहित चिटिक्क बनाइएको हो । तमानखोला गाउँपालिकाले १० लाख रुपैयाँ लगानी गरेको हो । स्थानीयले यहाँ श्रमदान गरेको स्थानीय बसन्त घर्तीले बताए । मुखिया प्रथाकै रुपमा नचलेपनि ऐतिहासिक घरको जीर्णोद्दार गरेर इतिहास संरक्षण गरिएको गाउँपालिका अध्यक्ष जोकलाल बुढाले बताए । परम्परागत र साँस्कृतिक महत्वका सामाग्रीहरु यहाँ संग्रह गर्ने लक्ष्य छ । इतिहासको महत्व जोगाउन यो घर पुननिर्माण गरिएकोमा स्थानीय पनि खुसी छन् । तमान गाउँमा अहिले पनि मुखियाले सांस्कृतिक काम भने गर्दै आएका छन् । यो वर्ष तमान गाउँकै गोबिन्दबहादुर बुढा मुखियाको रुपमा चुनिएको घर्तीले बताए ।
पञ्चायतमा पाखोबारी, खेत र घरधुरी कर उठाउने अधिकार मुखिया प्रथामा रहेको धवलागिरि बहुमुखी क्याम्पसका प्रमुख प्रा. डा. रामप्रसाद उपाध्याय बताउँछन् । विभिन्न क्षेत्र तोकेर मुखिया राख्ने, कर संकलन गर्ने तत्कालिन सरकारको नीति अनुसारकै मुखिया घरहरु अझै कतैकतै जिवित रहेको उपाध्यायको भनाइ छ । सोही अनुसार गलकोटस्थित हरिचौर, म्याग्दीको दरवाङ जस्ता स्थानमा पनि मुखिया राखेर कर संकलन गरिएको उनले बताए ।
भट्टचनपछि भक्तबहादुर बुढाथोकी, बारनरसिंह भट्टचनलगायत मुखिया बन्दै आएको इतिहास छ । मुखियाहरुले राम्रो काम गरेकोले सरकारले २०२० सालमा ‘तमान आदर्श गाउँ पञ्चायत’ घोषणा गरेको थियो । आदर्श पंचायतकै अगुवाइमा तमानमा धेरै उत्पादनका काम पनि शुरु भएका थिए । नेपाली हाते कागज उत्पादनमा तमान पहिलो र अब्बल थियो । मुखिया र पञ्चायतका काममा लेख्ने तमसुक, मुद्दा तथा अन्य सरकारी लिखत र कर संकलनको लागतमा नेपाली कागज प्रयोग हुने गरेको थियो । तमान लघु विद्युत उत्पादनमा पनि जिल्लाकै पहिलो गाउँ हो ।
तमानमा अझै साँस्कृतिक रुपमा मुखिया र कटुवाल प्रथा कायमै छ । शासन नगरेपनि मुखियाकै सल्लाहका गाउँको पूजा संचालन, गोठ सार्ने, मेला महोत्सवका तिथि मिति तोक्ने सिद्धपूजा, बराहपूजा, भूमिपूजा, देवीपूजा जस्ता साँस्कृतिक क्रियाकलाप गरिन्छन् । मुखियाकै सल्लाहमा गाउँमा सार्वजनिक कामका लागि सूचना दिने कटुवाल पनि छन् । आम भेलाले छानिने कटुवालले वर्षभरी हुने पूजा, मेलापात, गोठ सार्ने, लगायतको सूचना दिने गरेका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->