बागलुङ/बागलुङ नगरपालिका वडा नं. ९ मा रहेको आशापूर्णेश्वर महादेव मन्दिर व्यवस्थापन समितिको २२ औं साधारणसभा शनिबार सम्पन्न भएको छ ।
दिवशमा सरोकारवालाले मन्दिर व्यवस्थापनले अबका दिनमा धार्मिक पर्यटन प्रवद्र्धनसहित ऐतिहासिक स्थलको संरक्षण, आम युवाको आर्कषणको केन्द्र बनाउने अभियान चलाउनुपर्ने बताए ।
सदरमुकाम नजिकै भएरपनि यहाँका पूर्वाधार निर्माण तथा पर्यटन प्रवद्र्धनका कार्यक्रम नभएको भन्दै स्थानीयले नगरपालिका र प्रदेश सरकारको बजेटको माग पनि गरेका थिए । कार्यक्रममा सहभागिले पर्यटकीय गन्तव्य बनाउने दिर्घकालिन योजना ल्याउन पनि माग गरे ।
कार्यक्रममा गण्डकी प्रदेशसभाका सदस्य डिल्लीराम सुवेदीले धार्मिक स्थलहरु धर्मकर्मको स्थान मात्र नभइ साँस्कृतिक अध्ययन केन्द्र, पुरातात्विक क्षेत्र र पूर्विय साहित्यको क्षेत्रको रुपमा विकास गर्नुपर्ने धारणा राखे । उनले ती अभियानमा स्थानीय र प्रदेश सरकारको चासो बढ्नुपर्ने समेत बताएका थिए । संस्कृति जोगाउन नसके पहिचान पनि मेटिने भन्दै उनले सामाजिक क्षेत्रमा सक्रियहरुले पहिचानको संरक्षणमा पनि साथ दिनुपर्ने बताए । राज्यले पनि ती पहिचानको संरक्षणमा लगानी गर्नुपर्ने र त्यसका लािग पहल गर्ने बताए ।
कार्यक्रममा वडा अध्यक्ष राजु थापाले नगरपालिकाको लगानीमा तित्याङको शिवालय मन्दिरदेखि डोयसम्म पदमार्ग र पर्यटन क्षेत्र बनाउन २ करोड ५० लाख विनियोजन भएको जानकारी गराए । कार्यक्रम अध्यक्ष चण्डीप्रसाद शर्माको अध्यक्षतामा सम्पन्न भएको थियो । साधारणसभाले वार्षिक आयव्यय र कार्यक्रमहरु पारित गरेको थियो ।






