बागलुङ/काठेखोला गाउँपालिकाले स्वास्थ्य क्षेत्र सुधारको काम थालेको छ । चालु आर्थिक वर्षमा गाउँपालिकाबाट स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट विनियोजन भएकाले यो क्षेत्रमा परिवर्तनको सुरुवात थालिएको हो ।
विपन्न नागरिकलाई स्वास्थ्य विमा गरेको पालिकाले आठवटा वडामा २५ जना बिपन्न परिवार लाभान्वित भएका छन् । आधारभुत तहको स्वास्थ्य उपचार नपाएका नागरिकले यो कार्यक्रमबाट लाभ लिएको स्वास्थ्य शाखा प्रमुख सोमराज पाण्डेले बताए ।
आमा र बच्चाको सुरक्षामा गाउँपालिकाले विशेष ध्यान दिएको छ । गर्भवतीहरुलाई अण्डा, आयोनुन र क्याल्सियम वितरण गरेर पोषणबारे जानकारी र कुपोषण हुन नदिन प्रयास थालिएको हो । निःशुल्क विशेषज्ञ स्वास्थ्य सेवासहित नसर्ने तथा महिलाहरुको पाठेघरको मुखको जाँच स्क्रिनिङ शिविर, रत्तचाप मधुमेह जस्ता रोगको परीक्षण र निदानमा समेत गाउँपालिका जिम्मेवार ढंगले लागेको अध्यक्ष राजु थापाले बताए । ‘मौजुदा जनशक्तिले काम गर्न भ्याउनेगरी बजेटको व्यवस्था गरेका छौं’ अध्यक्ष थापा भन्छन्, ‘नागरिक स्वस्थ रहे, हाम्रो गाउँ आँफै विकास हुन्छ, शिक्षा र स्वास्थ्य पहिलो सर्त हो ।’
जेष्ठ नागरिकको स्वास्थ्य परीक्षण तथा नसर्ने रोगको स्क्रिनिङ कार्यक्रममार्फत २ हजार ४ सय ७१ जनाको घरमा गाउँपालिका पुगेको अध्यक्ष थापाले बताए । गाउँपालिकाले ५३ जना दिर्घरोगीलाई मासिक ५ हजारका दरले औषधि उपचार खर्च उपलब्ध गराउँदै आएको छ ।
‘म स्वस्थ, मेरो गाउँ स्वस्थ’ नारा बनाएको गाउँपालिकाले आमा सुरक्षा कार्यक्रमअन्तर्गत संस्थागत सुत्केरीलाई प्रोत्साहन गर्ने र शुन्य होम डेलीभेरी गराउन कार्यक्रम गर्ने योजना बनाएको छ । स्वास्थ्य आमा समुह पुर्नगठन, अभिमुखिकरण र महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकामार्फत स्वास्थ्यबारे छलफल कार्यक्रम संचालन गर्ने योजना पालिकाको छ ।
महामारी नियन्त्रण सम्बन्धी जनचेतनामुलक कार्यक्रम संचालन गर्ने, विद्यालय स्वास्थ्य कार्यक्रम सबै वडामा संचालन गर्ने, खोप तथा सरसफाइ कार्यक्रमलाई प्रभावकारी रुपमा संचालन गर्ने, मानसिक तथा नसर्ने रोगको स्क्रिनिङ तथा जनचेतना अभिवृद्धिका कार्यक्रम गर्ने, आवश्यकतानुसार स्वास्थ्य शिविर संचालन गर्ने र दिर्घरोगीका लागि औषधी उपचार बापत खर्च रकम उपलब्ध गराउने योजना रहेको अध्यक्ष थापाले बताए ।





