बागलुङ/बिसं २०२० को मुलकी ऐन बिस्थापित भएर आएका नयाँ कानून संचालनमा सहजता सँगै जटिलता पनि थपिएको सरोकारवालाले बताएका छन् ।
मुलुकी ऐनले विधागत विवरण नखुलाएकोमा नयाँ संहिताले विषयगत क्षेत्र छुट्टाएपछि कार्यान्वयन र सजाय निर्धारणमा भने अस्पष्टता थपेको कानून व्यवसायीले बताए । अभ्यासको क्रममा ती समस्याहरु देखिएको समेत उनीहरुले बताए ।
नेपाल डेमोक्रेटिक लयर्स एसोसिएसन (डिएलए) बागलुङले आयोजना गरेको संहिता स्थापना दिवश तथा शुभकामना कार्यक्रममा वक्ताहरुले जटिलताहरु सुधार गर्दै जानुपर्नेमा सुझाव पनि दिए । २०७४ साल भदौ १ गतेदेखि लागू हुने गरी मुलकी देवानी संहिता २०७४, मुलुकी देवानी कार्यविधि संहिता, मुलुकी अपराध संहिता, मुलुकी फौजदारी कार्यविधि संहिता, फौजदारी कसुर र सजाए निर्धारण कार्यान्वयन ऐन २०७४ स्थापना दिवशको अवसरमा डिएलएले उक्त समीक्षा राखेको थियो ।
कार्यक्रममा डिएलएका केन्द्रीय उपाध्यक्ष भूमिश्वर गौतमले विधागत रुपमा संहिता आएको सकारात्मक भएपनि भाषामा अप्ठ्यारो र सजाय निर्धारणमा पनि अन्यौल देखिएको बताए । उनले देवानी र फौजदारी मुद्दाका फिरादमा फरक हुनु, संहितामा लेखिएर पनि अदालतले कतिपय मुद्दा नलिनु, नाता कायम गर्ने विषयमा इजलासले बेवास्ता गर्ने समस्या थपिएको उनले बताए ।
कानून व्यवसायीले नयाँ संहिता अनुसार जाँदा चोरी मुद्दाको सजाय निर्धारण पनि जटिल बनेको बताए । ‘चोरी मुद्दालाई मुलुकी ऐनले बालबालिका र बयस्क भनेर छुट्टाएकोमा संहितामा अन्यौल छ’ अधिवक्ता गीता श्रीषले भनिन्, ‘बालबालिकालाई पनि बयस्क सरह कारवाही गर्दा नराम्रो देखिन्छ ।’
डिएलए बागलुङका उपाध्यक्ष हरिप्रसाद गौतमको अध्यक्षता, कोषाध्यक्ष जिष्णुप्रसाद सापकोटाको संचालनमा सम्पन्न कार्यक्रममा डिएलएका पूर्व केन्द्रीय उपाध्यक्ष तथा बरिष्ठ अधिवक्ता पद्मनाथ शर्र्मा, डिएलएका पूर्व प्रवक्ता सर्वज्ञराज नाय, सदस्य अमरबहादुर कार्की, बद्रीप्रसाद उपाध्यायले शुभकामना दिएका थिए । हरेक १० वर्षमा कानूनहरु संशोधन हुनुपर्ने मान्यता भएपनि संहितका कतिपय बुँदा छिट्टै संशोधनमा जानुपर्ने उनीहरुको सुझाव थियो । पंचायत कालमा आएकोले मुलुकी ऐन खारेज भएपनि कतिपय त्यसका विषय महत्वपूर्ण भएको पनि उनीहरुको मत थियो ।
नयाँ संविधान आएपछि २०७४ सालमा संहिता आएका हो । त्यसपछि अदालतमा अभ्यास गर्दा बरिष्ठ कानून व्यवसायीदेखि न्यायाधिस केही समय अलमलमा थिए । अहिले पनि कतिपय विषयमा संशोधन चाहिएको उनीहरुको मत छ ।





