पोखरा/ स्वरुप परिवर्तन गरि समाजमा होहल्ला मच्चाउने, ध्वनी प्रदुषण गर्ने १ सय ४९ मोटरसाइकल नियन्त्रणमा लिइएको कास्की प्रहरीले जनाएको छ । जिल्ला प्रहरी र मातहतका अन्य कार्यालय, जिल्ला ट्राफिक कार्यालयको संयुक्त प्रयासमा साउन ३२ देखि भदौ २ गतेसम्म ती मोटरसाइकल नियन्त्रणमा लिई कारवाही प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।
नियन्त्रणमा लिइएका मोटरसाइकल पहिलो पटकदेखि चौथो पटकेसम्म रहेका छन । यसबाट करीव २२ लाख रुपैयाँ राजस्व उठ्ने अनुमान गरिएको कास्की प्रहरीका डिएसपी एवं सूचना अधिकारी बसन्तकुमार शर्माले बताए । स्वीकृति नलिई सवारी साधनको साइलेन्सर, सिट, रंग, स्वरुप, नम्वर प्लेट, लुकिङ ग्लास, सक, ह्याण्डल, इन्जिन, चेसिसमा परिवर्तन गर्ने वा ध्वनी प्रदुषण हुने खालका पार्टपूर्जा जडान गरेमा सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ बमोजिम १५ हजार रुपैयाँसम्म जरीवाना हुने व्यवस्था रहेको छ । साथै यस कार्यमा संलग्न सवारी धनी र वर्कसप संचालकलाई मुलुकी अपराध संहिता, २०७४ वमोजिम सार्वजनिक शान्ति भंग वा अभद्र व्यवहारको कसूरमा मुद्दा चलाइने कानुनी व्यवस्था पनि छ ।
स्वरुप परिवर्तन गरी सवारी साधन चलाउँदा दुर्घटना हुने, ध्वनी प्रदुषण, विरामी, वृद्दवृद्दा, वालवालिका तथा अस्पताल, स्कुललगायत संवेदनशील क्षेत्रम प्रत्यक्ष असर पर्ने भन्दै कास्की प्रहरीले यसबिरुद्ध अभियानै चलाएको छ । गत असोज २१ मा सुरु अभियानका क्रममा स्वरूप परिवर्तन गरिएका २२ थान मोटरसाइकलहरू नियन्त्रणमा लिई कारवाही गरिएको थियो । त्यसैगरी गत फागुन १७ गते देखि २० गतेसम्म ५९ थान मोटरसाइकलहरू नियन्त्रणमा लिई कारवाही गरिएको प्रहरीले जनाएको छ । । पटके कारबाहीमा परेकाहरूलाई यातायात व्यवस्था कार्यालयमा पठाइन्छ । सोही क्रममा स्वरुप परिवर्तन गर्ने ८ जना वर्कसप संचालकहरूलाई समेत पक्राउ गरी स्वरुप परिवर्तन नगर्ने शर्तमा छाडिएको र सचेतनामुलक कार्यक्रम गरी स्टिकर समेत टाँस गरिएको थियो । अभियानका क्रममा हालसम्म २ हजार ३५ मोटरसाइकललाई कारवाही गरी २९ लाख ८ सय जरीवाना तिराइएको प्रहरीले जनाएको छ ।
कसैले स्वरुप परिवर्तन गरी ध्वनी प्रदुषण गरी मोटरसाइकल चलाएको, स्वरुप परिवर्तन गरेको देखेमा जिल्ला प्रहरी कार्यालयको १०० र जिल्ला ट्राफिक कार्यालयको १०३ मा टेलिफोन गरी सूचना दिनको लागि अनुरोध पनि प्रहरीले गरेको छ ।





