पोखरा/ पाेखरा अन्तराष्ट्रिय विमानस्थलमा उडान गर्ने अन्तराष्ट्रिय वायुसेवा कम्पनीलाई विशेष सहुलियत दिने र बिमानस्थलमा बिक्री गरिने हवाई इन्धनको मूल्यमा समेत पुनर्बिचार गर्ने निर्णयको पोखराका पर्यटन व्यवसायीले स्वागत गरेका छन ।
पोखरेली पर्यटन व्यवसायीको छाता संगठन पोखरा पर्यटन परिषद्ले आज आइतबार पत्रकार सम्मेलन गर्दै सरकारको उक्त निर्णयको स्वागत गर्नुका साथै निर्णयको छिटो कार्यान्वयन हुनुपर्ने माग पनि गरेको हो । परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले उद्घाटन भएको लामो समयसम्म अन्तराष्ट्रिय उडान नियमित रुपमा सञ्चालन हुन नसक्दा नैराश्यता उत्पन्न भइरहेको बेला संघीय सरकारले पोखरा अन्तराष्ट्रिय विमानस्थल सञ्चालन सम्वन्धमा आफुहरुको माग सम्बोधन गरेको भन्दै खुशी व्यक्त गरे । ‘सरकारको यो निर्णयले विमानस्थलमा अन्तराष्ट्रिय उडान हुनेमा विश्वस्त छौ’ उनले भने, ‘साथै निर्णय छिटो भन्दा छिटो कार्यान्वयनको लागि माग गर्दछौँ ।’ पोखराबाट उडान भर्ने हवाई कम्पनीहरुले पाउने उक्त सुविधावाट यात्रुहरुहरुलाई सुलभ दरमा यात्रा गर्ने मौका मिल्ने र यसले पोखरा बिमानस्थलको आकर्षण बढाउने उनले दावी गरे । साथै आन्तरिक उडानमा पोखरावाट नेपालका अन्य शहरहरु सम्मको सिधा हवाई सम्पर्कलाई आशाको सञ्चार भएको र पोखराको उत्पादन समेत अन्तराष्ट्रिय बजारमा जाने ढोका खुलेको उनले बताए ।
पोखरा अन्तराष्ट्रिय विमानस्थल सन् २०२३ जनवरी १ तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गरेका थिए । त्यसयता केही चार्टरबाहेक अन्तराष्ट्रिय उडान भने हुन सकेको छैन । प्रधानमन्त्री तथा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव राजकुमार श्रेष्ठको संयोजकत्वमा गठित कार्यदलले तयार पारेको कार्ययोजनालाई मन्त्रिपरिषद्को बैठकले अनुमोदन गरेको हो । पोखरामा उडान प्रोत्साहित गर्न टिकट शुल्कमा लाग्ने भ्याट र अन्य कतिपय सेवा शुल्कहरु तत्काल नलिने निर्णय गरिएको हो । साथै पर्यटन बोर्ड र नागरिक उड्डयन प्राधिकरणले लिने गरेका शुल्क नलगाउने र हवाई इन्धनको मूल्य पनि कम गर्नेजस्ता सहुलियत दिइएको छ । पोखरासंगै भैरहवा बिमानस्थलमा पनि यस्तो सुविधा दिने भनिएको छ । परिषद्ले प्रधानमन्त्री केपी शर्मा ओली, पर्यटनमन्त्री, बद्रीप्रसाद पाण्डे, गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र नागरिक उड्ययन प्राधिकरणका महानिर्देशक प्रदिप अधिकारीलाई धन्यवाद पनि दिएको छ ।
पोखरा अन्तराष्ट्रिय विमानस्थल सञ्चालन र प्रवद्र्धनका लागि पोखरा पर्यटन परिषद्ले पटक पटक प्रधानमन्त्री, अर्थमन्त्री, संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री, गृहमन्त्रीसंग छलफल तथा ज्ञापनपत्र समेत पेश गरि सुझाव दिएको थियो । साथै विभिन्न देशका राजदुतसंग पोखराबाट अन्तराष्ट्रिय उडान, यस क्षेत्रको पर्यटन प्रवद्र्धन र विकासका लागि छलफल पनि परिषद्ले गरेको अध्यक्ष श्रेष्ठले बताए । यसैगरी अन्तरिाष्ट्रय उडान गर्न अन्तराष्ट्रिय हवाई कम्पनीसंग अनुरोध पनि गरेको थियो । निजि क्षेत्रले गर्ने सहयोगको विषयमा चर्चागरी प्राप्त सुझावलाई सम्वन्धित निकायसंग समाधानका लागि अनुरोध गरिएको र यसको सहजिकरण गर्ने तत्कालिन गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली र पर्यटनमन्त्री माननीय मणी भद्र शर्मालाई पनि परिषद्ले स्मरण गरेको छ । अव छिटैनै गण्डकी प्रदेश सरकारको अगुवाईमा अन्तराष्ट्रिय वायुसेवा कम्पनीहरुलाई पोखरामै बोलाएर छलफल गर्ने तयारी भइरहेको श्रेष्ठले बताए । साथै पोखराका होटल, रेष्टुरेन्टलगायत पर्यटकीय संघसंस्थाले छिटै पर्यटकका लागि प्याकेज ल्याउने तयारी पनि भइरहेको उनको भनाई थियो ।
परिषद्ले भारतिय टुर अपरेटर, फिल्म स्टारहरु, राजनितिज्ञ र पत्रकारहरुलाई पोखरा र समग्र गण्डकी प्रदेशको पर्यटनको प्रवद्र्धन साथै पोखरा अन्तराष्ट्रिय विमानस्थलको चर्चा र प्रचारप्रसार गरेको पत्रकार सम्मेलनमा जनाइयो । कोरोला नाका खोल्नको लागि छलफल तथा अन्तरक्रिया, पर्यटन ऐनलाई व्यवसायी मैत्री वनाउने र यातायात क्षेत्रमा सेवा प्रदायकहरुको सुविधाका लागि सरकारले दिनु पने सुविधाका विषयमा ऐनमै सुधार गर्नको लागि पहल पनि गरेको थियो ।





