मंगलबार, कार्तिक ३ २०८३

मंगलबार, कार्तिक ३ २०८३
  • ३ कार्तिक २०८३ , मंगलबार
  • October 20 2026

खडेरीले घट्यो ताराखोले आलुको उत्पादन

खडेरीले घट्यो ताराखोले आलुको उत्पादन

जिल्लामा उत्पादित आलुले वर्षको ९ महिनासम्म थेग्ने गरेपनि तीन महिनाका लागि आयात गर्नुपर्छ ।


  • ढोरपाटन संवाददाता
  • भाद्र ३ २०८१, सोमबार

तस्बिर : महेन्द्र घर्ति संगम/ढोरपाटन

बागलुङ/लामो समयसम्म खडेरीले बागलुङको आलु उत्पादनमा असर परेको छ । यतिबेला बजारमा ताराखोले आलु प्रसस्त देखिएपनि उत्पादनमा भने अघिल्लो वर्षको तुलनामा ५ प्रतिशत घटेको हो ।
गतवर्षको कात्तिकदेखि बैसाख सम्मको खडेरीले वर्षे आलु उत्पादन ५ प्रतिशत घटेको कृषि ज्ञान केन्द्र बागलुङका बागवानी विकास अधिकृत कुमार पुनले बताए । विशेषगरी ताराखोला र ढोरपाटनमा लगाइएको आलुमा यो कमी आएको हो । बागलुङको ताराखोला र ढोरपाटनमा हिउँदमा लगाएर वर्षातमा आलु खन्ने गरिन्छ । कात्तिकमा लगाएर फागुन चैतमा खन्ने आलुमा भने खासै असर नपरेको हो ।
ताराखोले आलुको स्वाद र तत्कालै नबिग्रने हुँदा धेरैको रोजाइमा पर्ने गरेको पुन बताउँछन् । गाउँपालिकाका कृषि शाखा प्रमुख संजीव थापाका अनुसार, आर्थिक वर्ष २०८०÷८१ मा ताराखोलाभित्र ३ हजार २ सय ९७ मेट्रिकटन आलु फलेको छ । कुल १ सय ८४ हेक्टरमा किसानले आलु लगाएको शाखाको तथ्यांक छ । रसायनिक मल प्रयोग नगरेकोले उपभोक्ताले पनि ताराखोलाको आलु भनेपछि खोजी खोजी खाने गरेका हुन् । खडेरीकै कारण उत्पादन भने कमी भएको थापाले बताए ।
ताराखोला २ अर्गलका किसान अमृत घर्तीले आलुलाई उपयुक्त वातावरण भएकोले मिठो भएपनि यो वर्ष उत्पादनमा समस्या आएको बताए । विकासे आलु प्रयोग नगर्ने, रसायनिक मल नहाल्ने र जैबिक मल मात्रै प्रयोग गर्दा आलुको स्वाद मिठो भएको घर्तीको अनुभव छ । जसका कारण किसानले आलुको बजार खोज्नै नपरेको हो । तर खडेरी लगायतका समस्यामा राज्यले साथ दिनुपर्ने उनले बताए ।
घर्तीका छिमेकीले पनि आलु फलाएर जिप र ट्रयाक्टरमा बजार पठाउने गरेका छन् । बागलुङ बजारका ठूला र होलसेल व्यापारीले ताराखोलाको आलु भनेपछि गाडी पठाएर ल्याउने गर्छन् । कृषि ज्ञान केन्द्रले पनि ताराखोला, काठेखोला र ढोरपाटन क्षेत्र आलुका लागि विशेष क्षेत्र मानेर उत्पादनमा सहयोग गर्दै आएको छ । तर खडेरी, अतिवृष्टी र असिनाको क्षतिमा न्युनिकरण गर्न नसकेको हो । ‘असिनाले क्षति भएमा केही राहत दिने कार्यक्रम भएपनि रोक्ने वा उत्पादन जस्ताको त्यस्तै बनाउने काम भने गर्न सकिएको छैन’ पुन भन्छन्, ‘व्यवस्थापन गर्न सके हालको उत्पादनबाट २० प्रतिशतसम्म आलु बढाउन सकिन्छ ।’ केन्द्रकै तथ्यांकमा पनि हरेक वर्ष बागलुङमा ४० हजार मेट्रिकटनसम्म आलु उत्पादन हुने गरेको हो ।
बागलुङमा हिउँदमा २३ हजार ९ सय मेट्रिकटन र वर्षातमा ११ हजार ६ सय ९४ मेट्रिकटन गरी ३५ हजार मेट्रिकटन आलु बजारमा आउने गरेको हो । त्यस बाहेक घर घरमा खाने र गाउँमै बिक्री हुने आलुको तथ्यांक छैन । यो वर्ष खडेरी धेरै परेको र बैसाखमा असिना पर्दा आलुमा समस्या आउँदा उत्पादन घटेकोले आयात बढ्ने निश्चित छ । जिल्लामा उत्पादित आलुले वर्षको ९ महिनासम्म थेग्ने गरेपनि तीन महिनाका लागि आयात गर्नुपर्छ । त्यसका लागि भण्डारन क्षमता बढाउनुपर्ने प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका प्रमुख नारायण पौडेलले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->