आइतबार, कार्तिक २ २०८३

आइतबार, कार्तिक २ २०८३
  • २ कार्तिक २०८३ , आइतबार
  • October 18 2026

बालेनको गीत गाउँदा कर्मचारी सरुवाको विषयलाई लिएर महानगर र गायिकाबीच जुहारी

बालेनको गीत गाउँदा कर्मचारी सरुवाको विषयलाई लिएर महानगर र गायिकाबीच जुहारी


  • ढोरपाटन संवाददाता
  • भाद्र ४ २०८१, मंगलबार

पोखरा/कर्मचारीको सरुवा–बढुवामा आम मान्छेको खासै चासो रहँदैन । कर्मचारी स्वयं पनि यसलाई नियमित प्रक्रिया नै मान्छन् । तर, पोखरा महानगरपालिकाकी एक कर्मचारीको सरुवा अहिले चर्चामा छ । सरुवा त ४२ जनाको भएको थियो तर महानगरको सामाजिक शाखामा कार्यरत सातौं तहकी अधिकृत चन्द्रावती वाग्ले चाहिँ ‘भाइरल’ बनिन् । कारण– काठमाडौंका मेयर बालेन साहका प्रशंसामा गाइएको तीजेगीत ।
चन्द्रावतीले हरेक वर्र्ष तीजेगीत निकाल्छिन् । यो पटक भने उनले काठमाडौंका मेयर बालेन साहको प्रशंसा गर्दै तीजेगीत सार्वजनिक गरिन् । साउनको पहिलो सातातिर सार्वजनिक भएको गीतमा ८ वटा टुक्का रहेका छन् ।
‘सवै नेता उतै भुले, जता चाटे गुलियो
चारैतिर बालेनको चर्चा चुलियो ।’ स्थायीबाट सुरु हुने गीतको अन्तराहरुमा भनिएको छ–
‘कति नेता आए गए, सवको काम हेरियो
बालेन आए काठमाडौंको रुप फेरियो ।

लुटिएका कैयौं जमिन सरकारमा सार्दैछन्
साँघुरा ती सडक पेटी चाक्ला पार्दैछन् ।
सवैजासे टुक्काहरु बालेनको प्रशंंसामा खर्चिएकी चन्द्रावतीले बालेनसँग अरु नेताले सिक्नुपर्ने जिकिर पनि गरेकी छन् ।
बालेनको प्रशंसा गर्न पाउनु उनको अधिकार हो । तर, गीत निक्लेको करिब ३ सातापछि महानगरले निकालेको सरुवाको सूचीमा उनको पनि नाम समावेश भयो । पोखराको सवैभन्दा सुगम वडा नम्बर ३ को सचिवबाट ३ महिनाअघि सामाजिक विकास शाखामा सरुवा भएकी उनलाई पोखरा २३ मा पठाइयो । पोखरा २३ यहाँको ग्रामीणवडा हो ।
चन्द्रावती स्वयंले आफूले बालेनको प्रशंसामा गीत गाएपछि महानगरका मेयर धनराज आचार्यको सोझो आदेशमा सरुवा गरिएको जिकिर गरेकी छन् । उनले प्रतिशोधपूर्ण तरिकाले सरुवा गरिएको आरोपमात्र लगाएकी छैनन्, युट्युवमार्फत् सार्वजनिक भएको गीत हटाउन दबाब दिइएको जिकिर पनि गरेकी छन् ।
महानगरमा झण्डै ३० वर्ष काम गरिसकेकी उनले गीत चाहिँ नहटाउने बरु जागिर छाड्ने सार्वजनिक अभिव्यक्ति दिएपछि यो विषय झन् चर्चामा आयो । सामाजिक सञ्जालमा मेयर आचार्यविरुद्ध अभिव्यक्ति आउन थालेपछि महानगरले आइतबार राति विज्ञप्ति नै जारी ग¥यो ।
महानगरका प्रवक्ता मोतीराज तिम्सिनाबाट जारी विज्ञप्तिमा आर्थिक वर्ष २०८१।०८२ को प्रारम्भसँगै पोखरा महानगरपालिकाले ४२ जना कर्मचारीहरूको पहिलो चरणको आन्तरिक सरुवा गरेको तथा कर्मचारी सरुवा कुनै व्यक्ति वा गीतसंगीतप्रति लक्षित नभएको बताइएको छ । विज्ञप्तिमा सरुवा नियमित प्रक्रिया भएको उल्लेख गर्दै वाग्लेले आफ्नो गीतको दर्शक बढाउन यो प्रपञ्च रहेको आरोप पनि लगाइको छ ।
‘इन्टरनेटमा अपलोड गरिएका सामाग्रीहरूको भ्युज बढाउने मनसायले गरिएका यस प्रकारका भ्रामक प्रचार तथा टीकाटिप्पणीहरूको पछाडि नलाग्नुहुन पोखरा महानगरपालिका सवैमा अनुरोध गर्दछ,’ विज्ञप्तिमा भनिएको छ ।


यता, वाग्लले चाहिँ आफूलाई तीन महिना अघिमात्र सरुवा गरिएएको र अहिले गीतकै कारण फेरि सरुवामा पारिएको आरोप लगाएकी छन् ।
‘सामान्यताः तीन महिनामै सरुवा हुँदैन । कि मैले गलत गर्नुप¥यो,’ उनले भनिन्, ‘मेयर आफैले अनुशासनमा नबस्ने, आफ्नो मेयरको गीत नगाउने तर अर्काको गाउने ? भन्ने प्रश्न गर्दै सरुवाको कागजमा रातो कलमको टुप्पोले लेख्नुभएछ । मैले बालेनको गीत गाएको हो, पोखराका मेयरविद्ध केही त गरेको छैन नि ।’
वाग्ले नेपाली कांग्रेस निकट कर्मचारी हुन् । २०७२ सालतिर उनीमाथि अनियमितताको आरोप लागेको थियो । तर, नायव सुब्बाबाट बढुवा हुनबाट रोक्न तत्कालीन समयमा आफूमाथि प्रतिशोधपूर्ण तरिकाले आरोप लगाइएको र सफाइ पाइसकेको उनको भनाइ छ । सो पुरानो समाचारलाई शेयर गर्न मेयरले नै उर्दी जारी गरेको पनि उनले जिकिर गरेकी छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेकी छन्,‘एउटा निरीह कर्मचारीलाई दुख दिएर आफूलाई महान शासक सम्झनेहरु हो ! सामान्य कर्मचारीलाई यो वा त्यो बहानामा लुटिरहेका कुरा बाहिर ल्याउन नपरोस् । अझ सबै कर्मचरीलाई न्यूज शेयर गर्नु भनेर उर्दि जारी गर्ने ?’
वाग्लले हरेक तीजमा गीत सार्वजनिक गर्छिन् । अघिल्लो वर्ष उनले कृषि प्रधान देश, फेरि पनि आयो तीज मन दुखाउन शीर्षकका गीत ल्याएकी थिइन् । २०७४ मा ‘आइन छोरी’ गीत सार्वजनिक गरेकी गीतकार वाग्लेका यस बीचमा नरोए आमा, जागिरे नारीको पीडा–भाग एक, गरिन गुनासो, जागिरे नारी–भाग दुई, सहरको सुविधा र म, दर्जा बेरोजगारको, आऊ संगी रमाइलो गरौँ बरिलै, रमाइलो माइतैमा, जँड्याहा पोइ, शून्य छ जन्मेको घर बरिलैलगायत गीत बजारमा आएका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->