बागलुङ/बलेवा क्षेत्रका सर्वसाधारणले इष्ट देवताको रुपमा पुजा गर्ने बागलुङको ऐतिहासिक धार्मिक शक्तिपीठ भैरवस्थान मन्दिरमा हरेलो मेला गरिएको छ । बागलुङ नगरपालिका १२ मा रहेको मन्दिर परिसरमा भदौको पहिलो मंगलबार अर्थात भदौ ४ गते तेस्रो हरेलो मेला गरिएको हो ।
‘भैरवस्थान मन्दिरको दर्शन–कला संस्कृतिको प्रदर्शन, स्थानीय उत्पादन, व्यापार र पर्यटन प्रवर्द्धन’का लागि मंगलबार मेलाको आयोजना गरिएको आयोजक भैरवस्थान मन्दिर गुठी व्यवस्थापन समितिका अध्यक्ष ज्ञानेन्द्र ढकालले बताए ।
मेलाको उद्घाटन गर्न नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय अध्यक्ष एवं चन्द्रप्रसाद ढकाल आउने भनिए पनि खराव मौसमका कारण उनको अनुपस्थितीमा गण्डकी प्रदेश सभाका सदस्यहरु कृष्ण पाठक र डिल्लीराम सुवेदीले संयुक्त रुपमा गरे । भैरवस्थान मन्दिरको ऐतिहासिक, धार्मिक एवं सांस्कृतिक गरिमालाई अभिवृद्धि गर्ने गरी यसको व्यापक प्रचारप्रसार गर्ने उद्देश्यले मेलाको आयोजना गरिएको हो ।
बागलुङ नगरपालिका १० भकुन्डे, ११ रायडाँडा, १२, अमलाचौर, १३ पैयुँपाटा, १४ नारायणस्थान र जैमिनी नगरपालिका १ को कोटको रूपमा रहेको मन्दिरमा हरेक वर्ष भदौ महिनाको पहिलो मंगलबार मेला लाग्ने गर्दछ । मेलामा भकुन्डेको झाम्रे, रायडाँडाको भजन, अमलाचौरको गन्धर्व गीत, पैयुँपाटाको नौमती बाजा, नारायणस्थानको लाखे र कुश्मीसेराको सालैजो विशेष प्रस्तुतिको रूपमा गरिएको थियो । मेलामा खुला छेलो प्रतियोगिताका साथै ख्यातिप्राप्त कलाकारहरूको सांगीतिक प्रस्तुती रहेको थियो ।
मेलामा १३ लाख रुपैयाँ आम्दानी र १० लाख ९२ हजार पाँच सय रुपैयाँ खर्च हुने अनुमान छ । मेलाका लागि बागलुङ नगरपालिकाको विशेष सहयोग रहेको छ । मेलामा यहाँको ऐतिहासिक तरबार नाच पनि प्रस्तुत गरिएको थियो । भैरवस्थान मन्दिर जिल्लाकै मुख्य धार्मिक पर्यटकीय क्षेत्रको रूपमा परिचित छ । मेलाको अवसरमा ३५ हजार आन्तरिक पर्यटकले भैरवस्थान मन्दिरको दर्शन गर्ने आंकलन गरिएको भएपनि प्रतिकुल मौसमले साथ दिएन । बाइसे–चौबिसे राज्यको समयमा सन् १७८० मा स्थापना भएको भैरवस्थान मन्दिर नेपाल सरकारको एक सय पर्यटकीय गन्तव्यभित्र पर्दछ ।
मेलामा अमालाौरका पूर्व वडा अध्यक्ष गुरुदत्त पाठक, बानपा १३ का वडा अध्यक्ष नारायण प्रसाद शर्मा, जैमिनी नगरका उपप्रमुख हरिहर शर्मा, बागलुङ नगरका उपप्रमुख राजु खड्का, गुठी संस्थानका अध्यक्ष शिवराज पण्डित, सांसदद्धय कृष्ण पाठक र डिल्लीराम सुवेदी लगायतले बोलेका थिए । अमलाचौरका वडा अध्यक्ष कोपिलामणी शर्माको स्वागतमा सम्पन्न कार्यक्रमको सञ्चालन कृष्ण अखेली र अध्यक्षता गुठी व्यवस्थापन समितिका अध्यक्ष ज्ञानेन्द्र ढकालले गरे ।








