पोखरा / गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले संकटका बेला साथ दिएका दुई मन्त्रीलाई नहटाउने अडान लिएका छन् । बरु मन्त्रालय संख्या बढाएर १० पुर्याएर नेकपा एमालेलाई सरकारमा समेट्ने उनको प्रस्ताव छ ।
कार्यदल स्तरमा सहमति जुट्न नसकेपछि मुख्यमन्त्री एवं कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे र एमाले संसदीय दलका नेता खगराज अधिकारीबीच छलफल भएको छ । छलफलमा एमालेले मन्त्रालय संख्या ७ बाट नबढाउने बताएपछि मुख्यमन्त्री पाण्डेले २ मन्त्रालय लिएर सरकारमा आउन आग्रह गरे ।
मुख्यमन्त्री पाण्डेले मन्त्रालय संख्या थप्न सकिने, तर कुनै पनि मन्त्री नहट्ने जवाफ दिएको कांग्रेसका एक नेताले बताए । ती नेताका अनुसार समर्थन गर्ने बेलामा नै जुनसुकै परिस्थितिमा नहटाउने प्रतिवद्धता गरिएकाले पाण्डेले उनीहरुलाई हटाउने छैन । साथै भविष्यमा गठबन्धन तलमाथि हुँदा फेरि मनाङे र फणीन्द्र जुनसुकै बेला चाहिनसक्ने पाण्डेको बुझाइ छ ।
बुधबार कांग्रेस संसदीय दलको बैठकमा मुख्यमन्त्री पाण्डेले एमालेलाई सरकारमा ल्याउने विकल्पबारे छलफल गरेका छन् । बैठकमा सांसदहरुले मनाङे र फणीन्द्रलाई नहटाउने मुख्यमन्त्रीको अडानमा समर्थन जनाएका छन् भने एमालेलाई सरकारमा ल्याउने सन्दर्भमा केही विकल्पसहित सुझाव दिएका छन् ।
उनीहरुका अनुसार ७ मन्त्रालय नै कायम राख्दा एमालेले दुईवटा मन्त्रालय पाउनेछ । मन्त्रालय फुटाएर १० वटा पुर्याउने हो भने एमालेलाई ४ मन्त्रालय दिएर कांग्रेसबाट एक मन्त्री थप्नुपर्ने सांसदहरुको सुझाव छ ।
बैठकमा जीतबहादुर शेरचन सहितका सांसदले संविधानले दिएको अधिकार प्रयोग गरेर मन्त्रालय संख्या बढाउन सकिने बताएका छन् । कुल सांसदको २० प्रतिशत मन्त्रालय बनाउन सकिने संवैधानिक व्यवस्था छ, जसअनुसार ६० सदस्यीय गण्डकी प्रदेश सभामा १२ जनासम्म मन्त्री बनाउन सकिन्छ ।
कृष्णचन्द्र नेपाली पोखरेल मुख्यमन्त्री हुँदा भागवण्डा मिलाउन मन्त्रालय संख्या १२ पुर्याइएको थियो । तर एमालेका खगराज अधिकारी मुख्यमन्त्री भएपछि ७ मा झारियो । मुख्यमन्त्री पाण्डेले पनि त्यसलाई नै निरन्तरता दिए ।
अहिले मुख्यमन्त्री पाण्डे मन्त्रालय संख्या १० बनाउने प्रस्ताव गरेका छन्, एमालेले भने कार्यक्षेत्रअनुसार ९ सम्म बनाउन सकिने बताएको एक सांसदले बताए ।





