पोखरा/सूर्यदर्शन सहकारीका पूर्वसचिव अनुज नकर्मी पुर्पक्षका लागि कारागार चलान भएका छन् । जिल्ला अदालत कास्कीका न्यायाधीश हरिप्रसाद कोइरालाको एकल इजलासले उनलाई पुर्पक्षका लागि जेल पठाउने आदेश दिएको हो ।
नकर्मीलाई प्रहरीले भदौ २ गते काठमाडौंको दक्षिणकालीबाट पक्राउ गरी पोखरा ल्याएको थियो । कास्की प्रहरीले नकर्मीलाई आइतबार नै अदालतमा उपस्थित गराएको थियो ।
सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पक्राउ परेका उनी १९ औं व्यक्ति हुन् । सहकारीका उपाध्यक्ष कैलाश दर्लामी, कोषाध्यक्ष कुमार रम्तेल, पूर्वसञ्चालक शिवबहादुर गुरुङ (महेन्द्र भोटे), पूर्व सञ्चालक प्रमोद भट्टराई र सहकारीका आइटी शाखासमेत हेर्ने भविश्वर अर्याल अहिले कास्की कारागारमै छन् ।
सहकारी ठगीमा ४४ जनालाई पक्राउ पूर्जी जारी गरिए पनि अध्यक्ष गितेन्द्रबाबु राई (जीबी राई)सहितका व्यक्तिहरु अझै फरार छन् । यो सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष तथा पूर्व उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने पनि मुछिएका छन् । सहकारी पीडितहरुले रवि लामिछानेमाथि पनि छानबिन हुनुपर्ने माग गरिरहे पनि उनी गृहमन्त्री भएको बेला छानबिन नै अवरुद्ध बनेको सहकारी पीडित संघर्ष समितिका अध्यक्ष किरण श्रेष्ठको भनाइ छ ।
सहकारी ठगी प्रकरणमा मुछिएका सबै व्यक्तिको अनुसन्धान हुनुपर्ने पीडितहरुको माग र पूरक निवदेनपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) ले सबै फाइल र सहकारीको सफ्टवेयरको पनि जाँच गरेको थियो । जाँच गरिए पनि त्यसको प्रतिवेदन भने सार्वजनिक भएको थिएन । तर, पीडितहरुको दबाबपछि गएको वैशाख १६ गते ३ हजार ४ सय १९ पृष्ठ लामो प्रतिवेदन पोखरा महानगरका मेयर धनराज आचार्यलाई बुझाइएको थियो । मेयरले त्यसको भोलिपल्टै सो प्रतिवेदन कास्की प्रहरीलाई बुझाएका थिए ।
संघर्ष समितिका संयोजक किरणका अनुसार यो सहकारीमा १ हजार ३७ पीडितहरुको १ अर्ब ३५ करोड रुपैयाँ ठगी भएको छ । जिल्ला सरकारी सरकारी वकिलको कार्यालयबाट दायर भएको मुद्दामा १ अर्ब ११ करोड ३४ लाख ४३ हजार ४५ रुपैयाँ बिगो रकम जाहेरीवालालाई दिलाउन माग गरिएको छ । पीडितहरुले पछिल्लो प्रतिवेदनमा संलग्न भएका सबैमाथि छानबिन हुनुपर्ने माग गर्दै आएको किरणको भनाइ छ ।





