बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

२० लाखको शौचालय प्रयोगबिहिन !

२० लाखको शौचालय प्रयोगबिहिन !


  • ढोरपाटन संवाददाता
  • भाद्र ६ २०८१, बिहिबार

पोखरा/पोखरा महानगरपालिकाले २० लाख रुपैयाँ खर्च गरेर निर्माण गरेको सार्वजानिक शौचालय प्रयोगबिहिन भएको छ । नागरिकका लागि शौचालय निर्माण गरेपनि सञ्चालनमा आउन नसक्दा जीर्ण हुने स्थितिमा पुगेको हो ।
स्थानीयले वडा नम्बर ११ लाई बारम्बार यसबारे ताकेता गरेपनि सुनुवाइ नभएको गुनासो गरेका छन् । पहिला लागुऔषधसहित जथाभावी शौचालय गर्ने स्थानलाई सफा गरि सार्वजानिक शौचालय बनाए पनि प्रयोगका लागि वडाले काम थालनी नगर्दा समस्या आएको हो ।
एक स्थानीयका अनुसार, शौचालय खुल्ला छाड्दा त्यहाँ जडान गरिएका महँगा सामान चोरीसँगै फुटाल्ने डर भएकाले एक जना भएपनि व्यक्ति खटाएर वडाले त्यसको उपयोग गर्नुपर्छ । ‘यहाँको समाजले मात्र हेरेर हुँदैन यो सार्वजानिक सम्पत्ति हो । भोलि टुटेफुटेमा कस्ले बनाउने भन्ने कुरा उठ्छ । यो अस्पताल आउने र घाटमा जानेहरुका लागि उपयोगी होस् भनेर बनाइएको तर अहिलेसम्म खुलेको छैन’ एक स्थानीयले भने ।
शौचालय निर्माण अघिल्लो वर्षको साउनमा सम्पन्न भएको थियो । सुरुमा शौचालय हेर्ने व्यक्ति नपाएर खुल्ला गर्न नसकेको बताएपनि पछिल्लो समय वडाले व्यवस्थापन गर्न नसक्दा २० लाखको शौचालय त्यसै बेवारिसे बनेको छ ।
‘अस्पताल नजिकै छ । अहिले देख्दा लाज लागेर आउँछ, वडालाई शौचालय सञ्चालनको लागि समन्वय गर्न पर्यो भन्दा हाम्रो कुरा सुनुवाइ नै भएन, महानगरको २० लाख रुपैयाँ खर्च भएको छ’ सामाजिक अभियन्ता अंशु शेर्पाले भने, ‘२० लाख अहिले झाडीमा परिणत भइरहेको छ, त्यो देख्दा दुःख लाग्छ ।’
त्यतिमात्र होइन, शौचालय आसपास रहेका माटोको ढिस्कोलाई सम्याएर बिरुवा रोप्नका लागि समेत वडालाई तोकता गर्दा कुनै सुनुवाइ नभएको उनी सुनाउँछन् । २०८० जेठमा निर्माण सुरु गरी एक महिनामा सम्पन्न गरिएको थियो ।
उपभोक्ता समितिका अध्यक्ष विनोद गौतमका अनुसार, शौचालय हेर्नका लागि तलबमा व्यक्ति राख्नुपर्ने हुँदा वडाले तलब दिन नसक्ने भएपछि बन्द भएको हो । सुरुको केही समय एक जनालाई राखे पनि पछि बस्न नमानेको गौतम दाबी गर्छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->