मंगलबार, कार्तिक ३ २०८३

मंगलबार, कार्तिक ३ २०८३
  • ३ कार्तिक २०८३ , मंगलबार
  • October 20 2026

राष्ट्रिय गौरवका आयोजनाकै चिन्ता

राष्ट्रिय गौरवका आयोजनाकै चिन्ता


  • ढोरपाटन संवाददाता
  • भाद्र ७ २०८१, शुक्रबार

बागलुङ/राष्ट्रिय गौरवका आयोजना समयमा नबन्दा सर्वसाधारणले सास्ती खेप्नुपरेकोमा सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् । जिल्ला समन्वय समिति बागलुङले आयोजना गरेको आ.व. २०८०/८१ को बजेट तथा कार्यक्रम कार्यान्वयन समिक्षामा सहभागि सरोकारवालाले राष्ट्रिय गौरवका आयोजना कालिगण्डकी करिडोर र मध्यपहाडी लोकमार्गको स्तरोन्नतीको विषयमा चासो व्यक्त गरे ।
जिल्लाका सरकारी कार्यालयको कामको समीक्षा गर्दै सरोकारवालाले ठुला आयोजनाकै काम समयमा नसकिँदा जनप्रतिनिधि र कर्मचारीले सर्वसाधारणको हप्की खानुपरेको गुनासो गरे । मध्यपहाडी लोकमार्गको बागलुङ–घोडाबाँधे खण्ड कालोपत्रे हुन दशक लागेको, करिडोरको बागलुङ–बलेवा खण्डमा पहिरोले सवारी रोकिएको विषयमा उनीहरुको चिन्ता थियो ।
स्थानीय तहका प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत र गण्डकी प्रदेशसभा सदस्यहरुले अन्य कार्यालयका कामभन्दा सडक, खोपानी, कृषि र पशुसेवाको कामबारे चासो राखेका थिए । ‘करिडोरको मालढुंगा–बलेवा खण्डमा काम सुस्त छ, आउने वर्ष कालोपत्रे सक्नेगरी निर्माण कम्पनीलाई काम लगाउनु पर्छ’ गण्डकी प्रदेशसभा सदस्य कृष्ण पाठकले भने, ‘कार्यालय, निर्माण कम्पनी र सर्वसाधारण सबैका समस्यालाई बुझेर काम गर्नुपर्छ ।’
अर्का प्रदेशसभा सदस्य लिलबहादुर थापाले मध्यपहाडीको काम कारवाहीको बिषयमा चासो राखे । लोकमार्गले बागलुङको रुप बदलेको भएपनि स्तरोन्नतीको काममा भैरहेको ढिलाई अन्त्य हुनुपर्नेमा उनको जोड थियो । जैमिनीका उपप्रमुख हरिहर शर्माले दव्ल्याङ खण्डको पहिरोको समस्या समाधान र फुर्से खोलामा पक्कि पुलको स्टमेट गर्नुपर्ने बताए । बागलुङ नगरका उपप्रमुख राजु खड्काले दव्ल्याङको पहिरोमा आईरहेको पानी व्यवस्थापनमा आयोजनाले चासो दिए आधा समस्या समाधान हुने बताए ।
जैमिनीका प्रमुख प्रशासकीय अधिकृत हरि बहादुर भुजेलले भु तथा जलाधार व्यवस्थापन कार्यालयले स्थानीय तहका कार्यक्रमसँग मेल खानेगरी कार्यक्रम सञ्चालन गर्नुपर्ने बताए । जमिन जोगाउन कार्यालयले उत्पादन गर्ने बिरुवाले बाँदर नियन्त्रण सम्मको काम गर्न सक्ने भन्दै बहुउपयोगमा उनको जोड थियो । समिक्षा कार्यक्रमको तेस्रो दिन शुक्रबार गैह्र सरकारी संस्थाहरुको समिक्षा पछि समापन हुने छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->