पोखरा/ धौलागिरि हिमश्रृंखलाको मानापाथी हिमालमा गएको हिमपहिरोले थुनिएको बोक्सीखोलामा पानी बग्न थालेको छ । शुक्रबार दिउँसो गएको हिमपहिरोले मुस्ताङको थासाङ गाउँपालिका-२ स्थित बोक्सी खोला थुनिएको थियो ।
मुस्ताङका डिएसपी भोजराज पाण्डेयले बोक्सीखोला पूर्ववत् सामान्य अवस्थामा बग्न थालेको बताए । ‘खसेको पहिरो खोंचमा दविएर बसेको छ’ उनले भने, ‘हाललाई खतरा टरेको छ ।’ हिमपहिरो गएपछि जोखिममा रहेका त्यस क्षेत्रका ९ घरपरिवारलाई सुरक्षित स्थानमा सारिएको छ । बोक्सीखोला कालीगण्डकी नदीमा मिसीने हिमाली खोला हो ।





