बागलुङ/राष्ट्रिय गौरवको आयोजना कालिगण्डकी करिडोर कालोपत्रेको काम सुरु भएको झण्डै दुई वर्षमा आधा काममात्रै सकिएको छ । बागलुङको मालढुंगादेखि गुल्मीको हर्मिचौरसम्म दुई खण्डमा काम भैरहेको आयोजनाको ५४ किलोमिटर सडक कालोपत्रेको काम चलिरहे पनि समयमा काम सकिनेमा भने सरोकारवाला चिन्तित छन् ।
अघिल्लो आर्थिक वर्षमा बजेट अभावको कारण देखाउँदै काम रोकेका निर्माण व्यवसायीले चालु आ.व. मा पनि समयमा भुक्तानी पाउने सम्भावना कम छ । सरकारले चालु आ.व.मा आयोजनाका लागि ९९ करोड मात्रै विनियोजन गरेको छ । चालु आ.व.को बजेटमा अघिल्लो आ.व.को स्वीकृत दायित्व ५३ करोड भुक्तानी गर्न बाँकी रहेको आयोजना कार्यालय पाल्पाले जनाएको छ । दायित्व भुक्तानी गर्दा चालु आवका लागि बाँकी रहने ४६ करोड रुपैयाँ समेत कोरिडोरको (गैंडाकोट–राम्दी–मालढुंगा) सडक योजनाका विभिन्न खण्डका लागि हो ।
‘दायित्व भुक्तानी गर्दा निकै कम बजेट रहन्छ, बजेटको अन्यौलले निर्माण व्यवसायीले यो वर्षको काम थाल्न सकेका छैनन्,’ आयोजनाका इञ्जिनियर सुरेन्द्र गौतमले भने, ‘अघिल्लो वर्ष नै कामको भुक्तानी गर्न नसक्दा लक्ष हाँसिल गर्न सकिएन् ।’ यो वर्ष कालोपत्रेको काम सक्नेगरी निर्माण व्यवसायीले तयारी गरे पनि भुक्तानीमा समस्या हुने देखिएको छ ।
२०७९ मंसिर २९ गते दुई वर्षमा काम सक्नेगरी खड्क कृष्ण बि.एन. जेभीले मालढुंगा–बलेवा बिमानस्थल खण्ड कालोपत्रेको जिम्मेवारी पाएको थियो । दश किलोमिटर खण्डको काम भने बिडारी निर्माण सेवाले गरिरहेको छ । गत वर्ष समयमा भुक्तानी नपाउँदा काम गरिरहेका मजदुर र मेसिन सार्नुपरेको बिडारी निर्माणका सञ्चालक ध्रुव बिडारीले बताए ।

बलेवा विमानस्थलदेखि गुल्मीको हर्मिचारसम्म ४४ किलोमिटर खण्डमा काम गरिरहेको कालिका कन्ट्रक्सनले पनि गतवर्ष काम रोकेको थियो । २०७९ मंसिर २६ गते सम्झौता गरेर तीन वर्षमा काम सक्नेगरी कम्पनीले काम थालेको थियो । ‘हामीले थोरै काम निरन्तर गर्यौ तर बीचमै मजदुर घटाउने र मेसिन बन्द गर्नुपर्ने अवस्था आयो,’ कालिकाका साइड इञ्जिनियर छकबहादुर गुरुङले भने, ‘भुक्तानी सुनिश्चितता भए कालोपत्रेको काम सकिन्छ ।’
मालढुंगा बलेवा खण्डमा हालसम्म ४२ प्रतिशत भौतिक प्रगति भएको छ भने बलेवा हर्मिचौर खण्डमा ५४ प्रतिशत प्रगती छ । उक्त खण्डमध्ये हालसम्म गुल्मीमा २० किलोमिटर मात्रै सडक कालोपत्रे भएको छ । १७ किलोमिटर ग्राभेल सडक बागलुङतर्फ तयार भएको र ४ वटा पक्कि पुल निर्माण भएको इञ्जिनियर गौतमले बताए । ‘गत आ.व. मा ३० किलोमिटर कालोपत्रे र २० किलोमिटर ग्राभेल गरिसक्नुपर्ने थियो,’ गौतमले भने, ‘निर्माण व्यवसायीलाई समयमा भुक्तानी दिन नसक्दा लक्षमा पुग्न सकिएन् ।’
आयोजनाको बागलुङ खण्डमा भने एक किलोमिटर पनि सडक कालोपत्रे भएको छैन् । ग्राभेल भएको सबै सडक बागलुङमा पर्छ । निर्माण सम्पन्न पुलमध्ये एक पुल बागलुङमा बनेको हो । ५४ किलोमिटर खण्डमध्ये ३७ किलोमिटर सडक बागलुङमा पर्छ ।
कोरिडोरअन्तर्गत बागलुङमा आवश्यक ३ वटा पुलको समयमै डिपिआर स्वीकृति हुन नसकेकोले सडक बन्ने पुल निर्माण बाँकी रहने अवस्था रहेको आयोजना कार्यालयले जनाएको छ । ठेउलेखोला, पालुंखोला र लौवा खोलामा पुलको डीपीआर स्वीकृत गर्नै बाँकी रहेको छ । सिंचाइ कुलो, खानेपानी, विद्युत, शाखा सडकसम्बन्धी समस्यासमेत आयोजनाले झेलीरहेको उनले बताए । अन्य विकासे कामका समस्या समयमा समाधान नहुँदा आयोजनाले निर्माणमा समस्या झेल्नुपरेको उनको भनाई थियो ।





