घटना-१ :
एक जोडी अष्ट्रेलिया जाने भन्दै सम्बन्ध विच्छेदको मुद्दा लिएर जिल्ला अदालतमा पुगे । श्रीमती कृषि पेसा र श्रीमान् जागिर गर्थे । नेपालको कमाइले राम्रो नहुने भन्दै कानुनी डिभोर्स गरेर विदेश जान श्रीमान्ले श्रीमतीलाई सहमत गराए । श्रीमतीसँगको सहमतिपछि उनीहरू अदालत गएका हुन् । तर त्यसरी गरिएको कानुनी डिभोर्सले अहिले श्रीमती र दुई छोराछोरीको बिचल्ली भएको छ । श्रीमान्ले विदेश जाने बहाना बनाएर प्रेमीकासँग विवाह गरेको पाइयो । जब श्रीमान्को वास्तविकता खुल्यो श्रीमती छाँगाबाट खसेजस्तै भइन् ।
घटना-२:
एक महिला सम्बन्ध विच्छेदका लागि श्रीमान्लाई लिएर कानुन व्यवसायीसँगै जिल्ला अदालतमा पुगिन् । डिपेन्डेन्टमा विदेश जाने भन्दै सहमतिमै सम्बन्ध विच्छेद गरेकी महिलाले श्रीमान्ले दिएको पैसा नै हिनामिना गरिन् । आर्थिक हिनामिनाको लेखाजोखा छैन । ऋण तिर्ने र श्रीमतीले खर्च गरेको करिब ४० लाखको हिसाब नखोज्ने श्रीमान्को प्रस्तावलाई श्रीमतीले अस्वीकार गरिन् । अन्ततः साँच्चिकै सम्बन्ध विच्छेद भयो । ५ वर्षीया छोरीको हेरचाह गर्न श्रीमान्ले दोस्रो विवाह गरे ।
घटना-३:
एक जोडी सम्बन्ध विच्छेदका लागि कानुन व्यवसायीमार्फत् अदालतमा पुगे । सम्बन्ध विच्छेदको उद्देश्य थियो, विदेश जाने । नेपालको जागिरको सीमित तलबले घरखर्च चलाउन मुस्किल परेपछि सम्बन्ध विच्छेद गरी विदेश जाने र श्रीमतीलाई पनि आफुसंगै लैजाने सहमति भयो । अहिले श्रीमान्ले विदेश जाने चासो गरेका छैनन् । श्रीमानको अर्को यूवतीसँग हिमचिमले उनी तनावमा छिन् । श्रीमानले सम्बन्ध विच्छेदका बारेमा कसैलाई जानकारी नदिन अझै दबाब दिइरहेका छन् ।
घटना-४:
म्याग्दीमा गत बर्ष ७५ वर्षीया एक अपाङ्ग वृद्धाको ६२ वर्षका श्रीमान्सँग सम्बन्ध विच्छेद भयो । ग्रामीण क्षेत्रमा परिवारको सहमतिमै विवाह गरेकी महिलालाई श्रीमान्ले रक्सीले मात्तिएर दैनिक कुटपिट गर्ने, खानासमेत नदिनेजस्ता घटनाबाट आजित भएकी महिलाले नै श्रीमान्सँग अलग भएर बस्ने निधो गरिन् ।
श्रीमान् र श्रीमतीबीच गत आर्थिक वर्ष २०८०/०८१ मा म्याग्दी अदालतमा दर्ता भएका सम्बन्ध विच्छेदका यी ४ घटनाहरू प्रतिनिधिमुलक उदाहरण मात्र हुन् । पछिल्लो समय म्याग्दीमा सम्बन्ध विच्छेद तीव्र गतिमा बढिरहेको छ । म्याग्दी अदालतको वार्षिक प्रतिवेदनअनुसार पछिल्ला केही वर्ष यता सबैभन्दा बढी मुद्दा सम्बन्ध विच्छेदकै छन् । हरेक वर्ष सम्बन्ध विच्छेदका मुद्दाको सङ्ख्या बढिरहेको अदालतको वार्षिक प्रतिवेदनले देखाउँछ । जिल्ला अदालत म्याग्दीको तथ्याङ्कमा आर्थिक वर्ष २०७९/०८० मा कुल ६१८ मुद्दामध्ये सम्बन्ध विच्छेदका ३५२ मुद्दा दर्ता भएकामा ३२९ फछ्र्यौट भएका थिए भने आ.व. २०८०/०८१ मा परेका कुल ५९२ मुुद्दामा सम्बन्ध विच्छेदका ३१७ मुद्दा रहेका देखिन्छन् । सम्बन्ध विच्छेदसहितका ११० वटा मुद्दा विचाराधीन छन् ।

‘म्याग्दीमा वैदेशिक रोजगारीका कारण सम्बन्ध विच्छेद गर्नेको सङ्ख्या अत्यधिक छ । अंशको दावी नगरी सम्बन्ध विच्छेद गर्ने कलिलो उमेरका जोडी धेरै छन् । उमेरले ७० वर्ष नाघेकाहरू सम्बन्ध विच्छेद गर्न बाध्य भएको देख्दा दुःख लाग्छ’– जिल्ला अदालत म्याग्दीका स्रेस्तेदार रेग्मीले भने । कलिला सन्तान भएका दम्पत्तीले कानुनी बाटो प्रयोग गरी अलग हुँदा आमाबाबु दुवैबाट पाउनुपर्ने माया, साथ र सहयोगबाट सन्तान बञ्चित हुन्छन् । जसको कारण भविष्यमा बालबालिकाको जीवन कष्टकर बन्ने गरेको भनाइ स्रेस्तेदार रेग्मीको छ । कम उमेरमा बिहे हुँदा उत्पन्न पारिवारिक विवाद, वैदेशिक रोजगारमा गएका पतिपत्नीबीच बढ्दो असहमति, यौनजन्य गतिविधि, अन्तर्जातीय विवाहका साथै परिवारमा विश्वासको सङ्कट भएर अदालतसम्म मुद्दा पुगेको कुरा अधिवक्ता ठाकुरप्रसाद आचार्यले बताए । ‘दैनिकजसो सम्बन्ध विच्छेदको निवेदन बोकेर विवाहित दम्पत्ती अदालत धाइरहेछन्, मुख्य कारण अन्तर्राष्ट्रिय श्रम बजार हो’ अधिवक्ता आचार्यले भने । पछिल्लो समय अंशसहित भन्दा अंश नलिई सम्बन्ध विच्छेद गर्ने प्रवृत्ति बढेको छ । सम्बन्ध विच्छेदका उजुरीकर्तामा पुरुष र महिला बराबर जस्तै रहेको आचार्यको भनाइ छ । कुनै श्रीमान् वा श्रीमतीले त विदेश जाने बहाना मात्रै भएको भन्दै केही महिनामै सम्बन्ध विच्छेदलाई रद्द गरिदिनसमेत अनुरोध गर्ने गरेको जिल्लाका कानुन व्यवसायी बताउँछन् । सक्कली विवाह भए पनि सम्बन्ध विच्छेद नक्कली हो भन्दै आउने महिला र पुरुषको सङ्ख्या करिब १५ भन्दा बढी रहेको बताइन्छ ।
वैदेशिक रोजगारीका लागि भन्दै श्रीमान् र श्रीमतीबीच हुने सम्बन्ध विच्छेदले केही शिक्षित परिवारको घरबार बिग्रिएको छ । अदालतको सम्बन्ध विच्छेदले प्रेमी र प्रेमिकालाई अर्को श्रीमान् वा श्रीमती बनाउन कानुनी बाधा नपुग्ने भएको हुँदा जालझेल र षडयन्त्रबाट केही शिक्षित परिवारका व्यक्तिले सम्बन्ध विच्छेद गर्ने गराउने गरेका छन् । जसले गर्दा यथार्थमा उनीहरूको घरबार बिग्रिएको हो । म्याग्दीमा श्रीमतीसँग अलग हुन वैदेशिक रोजगारीमा जाने गज्जबको बहाना बनेको छ । यसरी बहाना बनाएर प्रेमिकालाई अर्को श्रीमती बनाएका घटनाहरू समेत छताछुल्ल भएर घरबार भत्किएको देखेपछि सम्बन्ध विच्छेदका मुद्दामा हेलचेक््रयाइँ नगर्न र सोच विचार गरेर मात्रै निर्णय लिन कानुन व्यवसायीले सम्बन्धित दम्पतीलाई अनुरोध गरेका छन् । मुलुकी संहिता ऐनको दफा ९३ ले पतिपत्नी दुवैले चाहेमा जहिलेसुकै पनि पतिपत्नीको सम्बन्ध विच्छेद गर्न सक्ने व्यवस्था राखेको छ ।
पतीपत्नी नै दोषी : भोलाराज रेग्मी
स्रेस्तेदार, जिल्ला अदालत, म्याग्दी
दम्पति निःसन्तान भएमा, श्रीमान वा श्रीमती बिदेशमा बसेको अवस्थामा, श्रीमानले अर्की स्त्रीसँग बिबाह गरेको वा गर्न खोजेको जस्तो अवस्थाहरुमा श्रीमतीहरुलाई जबरजस्ती सम्बन्ध बिच्छेदको लागि दबाब दिइएको पनि पाइन्छ । कहिलेकाहिँ श्रीमतीहरुलाई झुक्काएर वा ललाइफकाइ पनि सम्बन्ध बिच्छेद गरिदिएका घटनाहरु समेत देखिएको छ । हामीले सम्बन्ध बिच्छेदका मुद्धा कम गराउन अनेक प्रयासहरु गरेका छौं । समाजमा सुन्दर परिवारबाटै सुन्दरता छरिन्छ । श्रीमान र श्रीमतीको सम्बन्ध अगल हुने निर्णयको असर दिर्घकालिन देखिन्छ । सन्तानको बिचल्ली, सन्तानको अभिभावकको मायाँमा कमी हुने भएकाले पनि धन कमाउने नाममा सम्बन्ध बिच्छेद गरेर विदेश जानुपनि राम्रो होइन ।

जुनसुकै कारणले सम्बन्ध बिच्छेद भएको भए पनि, सम्बन्ध बिच्छेद गरेका ब्यक्तिहरुलाई समाजले अनेक लान्छनाहरु लगाउने गर्दछन्, जस्तो उदाहरणको लागि श्रीमतीलाई खुशी राख्न सकेन भन्ने, घर गरेर खान सकेन भन्ने, श्रीमान रिझाउन सकेन भन्ने, नामर्द भयो भन्ने, स्वतन्त्रता खोज्यो भन्ने, परस्त्रीसँग लसपस भयो भन्ने आरोप आउँछ । यस्ता लान्छनाहरुबाट पुरुषहरु पनि अछुतो त हुँदैन, महिलाहरु पुरुषहरुभन्दा बढी पीडित हुन्छन् । महिलाहरुले भोग्ने बिभिन्न लान्छनाहरु मध्ये प्रमुख लान्छना पैसाको लागि सम्बन्ध बिच्छेद ग¥यो भनिनु हो । यस्ता लान्छनाका बाबजुद सम्बन्ध बिच्छेद गरेका महिलाहरुको यथार्थ भने भिन्न हुन्छ । धेरैजसो महिलाहरुले कुनै पनि किसिमको सम्पति दाबी गरेकै हुँदैनन् । यस कारण म्याग्दीमा बैदेशिक रोजगारका लागि मात्रै सम्बन्ध बिच्छेदका घटना हुने गरेको छ ।
सम्बन्ध बिच्छेदपछि श्रीमान र श्रीमति कानुनी रुपमा अलग हुने भएकाले पनि विकृति मौलाएको छ । बिशेषगरी घरेलु हिंसा पीडित महिलाहरुका हकमा कुरा गर्दा उनीहरुले सम्पति दाबी गरेर लामो प्रकृया गर्नुभन्दा कसरी त्यो हिंसाबाट सकेसम्म छिटो मुक्ति मिलोस् भन्ने महत्वपूर्ण हुन्छ । गत आवमा ७५ वर्षिया बृद्धाले जिल्ला अदालत म्याग्दीमा श्रीमानसँग अलग भएको घटना मुख्य गरी हिंसासँग जोडिएको छ । बुढेसकालमा सम्बन्ध विच्छेद नगर्न अनुरोध गरे र सोचेर निर्णय गर्न पाँच दिनको समय दिदाँ समेत वृद्ध दम्पत्ती कानुनी रूपमा नै सम्बन्ध विच्छेद गरेर अलग अलग भएका घटनाहरु धेरै छन् । महिलाहरुले सामाजिक लान्छनाको डरले पनि सम्पति लिन खोजेका देखिदैन् । अर्कोतर्फ श्रीमानले दोस्रो बिबाह गरेपछि बहुविवाहको डरले बरजस्ती सम्बन्ध बिच्छेद समेत गराउने गरिन्छ ।





