मंगलबार, कार्तिक ३ २०८३

मंगलबार, कार्तिक ३ २०८३
  • ३ कार्तिक २०८३ , मंगलबार
  • October 20 2026

पञ्चकोटमा अन्नदान क्षेत्र बनाइने

पञ्चकोटमा अन्नदान क्षेत्र बनाइने

मुक्तिनाथ जाने भक्तजनलाई यहाँ आएर बस्ने र निशुल्क भोजन गर्ने व्यवस्था हुनेछ


  • ढोरपाटन संवाददाता
  • भाद्र ९ २०८१, आइतबार

बागलुङ/पञ्चकोटमा निर्माणाधीन संसारकै अग्लो कसल निर्माणसँगै अन्नदान क्षेत्र पनि संचालन गरिने भएको छ । शनिबार बसेको विश्वशान्ति गण्डकी महासभाले अन्नदान क्षेत्र बनाउने निर्णय गरेको हो । महासभा बैठकले अन्नदान क्षेत्र बनाउने तयारी गरेको पञ्चकोटधाम व्यवस्थापन समितिका महासचिव माधव उपाध्यायले जानकारी दिए ।
इन्द्रनाथ आचार्य संयोजक रहेको समितिमार्फत यो कामलाई थालनी गरेर संचालनमा ल्याइने छ । ‘मुक्तिनाथ जाने भक्तजनलाई यहाँ आएर बस्ने र निशुल्क भोजन गर्ने व्यवस्था हुनेछ’ पञ्चकोटधाम व्यवस्थापन समितिका अध्यक्ष जगन्नाथ आचार्यले भने, ‘पूर्वाधारलाई व्यवस्थित बनाउने, आम नागरिकको भरोसाको केन्द्र पनि बनाइने छ ।’
पञ्चकोटमा १ सय ३५ फिट अग्लो विश्वशान्ति कलस निर्माणको काम शुरु भएको छ । दशवर्ष अघिदेखि कारिकोट, रायरायकोट, माझकोट, ताराजालकोट र संसारकोट मिलाएर पञ्चकोट नामाकरण गरी पर्यटकीय र धार्मिक पूर्वाधार निर्माण भैरहेको छ । पञ्चकोटमा गत माघमा धान्यान्चलमार्फत ११ करोड बढी रकम संकलन गरिएको छ । यो रकमले पूर्वाधार निर्माणको काम शुरु हुने वडा अध्यक्ष रुद्रबहादुर केसीले जानकारी दिए ।
त्यस बाहेक महासभाले पवित्र कालीगण्डकी नदी र नदीको सभ्यता जोगाउने अभियानलाई पनि देशव्यापी चलाउने निर्णय गरेको छ । मासिक रुपमा संचालन भएको ३० औं संस्करणमा विश्वशान्ति गण्डकी महासभाले नदी सभ्यताको अभियानलाई नागरिक तहमा लैजाने तयारी गरेको हो । कालीगण्डकी नदीमा पाइने शालीग्राम संरक्षणसहित नदीलाई सरसफाइ गर्ने र दोहनबाट जोगाउन अभियान केन्द्रित हुने छ ।
दामोदरकुण्डदेखि त्रिवेणी सम्मका जिल्ला, प्रदेश, पालिकासम्म अभियान चलाएर नदी सभ्यता र जलाधार क्षेत्र संरक्षणको कार्यक्रम गरिने भएको हो । यसअघिका ३० वटा महासभा भने बागलुङ, तनहुँ र पोखरामा मात्र भएका थिए ।
कानूनी रुपमा बन्देज गरिएको असार, साउन र भदौमापनि नदी दोहन भएको छ । पटक पटक दोहन भएकोमा सभाले चिन्ता व्यक्त गरेको छ । ‘पहिलाका बुढापाकाहरुले जानेरै नदीको सामाग्री दोहन गरेनन्, बरु नदीको पूजा गरेर सभ्यता जोगाएका थिए’ महासभाका सदस्य तारानाथ शर्माले भने, ‘नदी सभ्यता, जलक्षेत्र जोगाउन सकिएन भने मानव जीवन पनि संकटमा पर्छ ।’ गण्डकीका दर्जर्नौ क्षेत्रको पर्यटकीय विकास गरेर करोडौं कमाउन सकिनेमा नदी दोहन रोक्नुपर्ने शर्माले बताए ।
पञ्चकोटधामका अध्यक्ष जगन्नाथ आचार्यको अध्यक्षता, सचिव नारायणप्रसाद आचार्यको संचालन र महासचिव माधव उपाध्यायको स्वागतमा सम्पन्न कार्यक्रममा विश्व हिन्दु महासंघका केन्द्रीय वरिष्ठ उपाध्यक्ष शंकर खराल, जिल्ला अध्यक्ष जब्बरबहादुर लामिछाने, तारा शर्मा र संस्कृत कन्या गुरुकुलकी संचालिका गोदा रंग नायकीले बोलेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->