मंगलबार, कार्तिक ३ २०८३

मंगलबार, कार्तिक ३ २०८३
  • ३ कार्तिक २०८३ , मंगलबार
  • October 20 2026

पहिरो छल्दै यात्रा, किसानका उत्पादन बारीमै कुहें

पहिरो छल्दै यात्रा, किसानका उत्पादन बारीमै कुहें


  • ढोरपाटन संवाददाता
  • भाद्र ९ २०८१, आइतबार

बागलुङ/जिल्ला समन्वय समितिको समीक्षाका लागि बागलुङ बजार जैमिनी नगरका प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत छिमेकी पर्वत पुगेर आए । पालिकाको गाडी भएर पनि उनीहरुले सदरमुकाम आउँदा भाडाको गाडी खोज्न बाध्य भए । समीक्षाकै लागि बरेङ गाउँपालिकाका जनप्रतिनिधिले त सास्ती नै खेपेको बताए ।
रोचक कुरा त के भने समीक्षाका लागि कालीगण्डकी करिडोर आयोजनाका इन्जिनियरले पाल्पादेखि स्याङ्जा, पोखरा, पर्वतहुँदै २ सय किमी यात्रा गरे । करिडोरकै बाटो आएको भए ९० किमीमा बागलुङ आइपुग्थे । समीक्षा कार्यक्रममा पनि इन्जिनियर सुरेन्द्र बस्नेतले करिडोरको काम ५३ प्रतिशत प्रगती देखाए । तर, असारको १४ गतेपछि करिडोरमा अहिलेसम्म सवारी चल्न सकेका छैनन् । बीच बीचका खण्डमा गाडी चलेपनि वारपार हुनेगरी पहिरो खुलाइएको छैन ।
मलढुंगादेखि बलेवा एयरपोर्ट सम्मको खण्डमा ५४ करोडको ठेक्का लगाइएको छ । यहाँको दब्ल्याङ पहिरोले सडक ठप्पै छ । बलेवादेखि गुल्मीको हर्मीचौर सम्मको ठेक्कामा नियमित काम भएको छ, तर दर्जनबढी पहिरोले यो खण्ड पनि अबरुद्ध छ । पटक पटक खुलाउने प्रयास भएपनि पहिरो नरोकिएको बस्नेतले बताए । ‘जैमिनी र गुल्मीतर्फ काम गर्दै बाटो सफाइ भेरहेको छ, तर अत्याधिक वर्षातले नियमित सवारी चल्न सकेका छैनन् ।’ यो खण्डमा कालीका कन्स्ट्रक्सनले ३ अर्ब ३३ करोड रुपैयाँमा ३० किमी सडक कालोपत्रेको ठेक्का लिएको हो । यो खण्डमा ५३ प्रतिशत प्रगती भएकोमा ५० करोड बढी भुक्तानी दिनुपर्ने छ । चालु वर्षका लागि ९९ करोड ९९ लाख मात्रै बजेट छ । उक्त बजेटले भुक्तानी दिने या काम गर्ने अन्यौल भएको बस्नेत बताउँछन् । २०८२ को मंसिरभित्र कालोपत्रे सक्नुपर्ने ठेक्का अबधिमा भुक्तानी दिन नसकेरै काम ढीला हुने अनुमान उनले गरे ।
त्यसो त मनसुन सुरु भएदेखिनै बागलुङका चारवटा महत्वपूर्ण सडकहरु पहिरोले ठप्पै छन् । सडक अबरुद्ध भएर यातायातका साधन नचल्दा सयौं नागरिकले सास्ती खेपेका छन् । कालीगण्डकी करिडोर, मालढुंगा कुश्मीसेरा सडक, जैमिनीदेखि बरेङ सडक र काठेखोलादेखि लेखानीहुँदै गलकोट जाने सडक दुई महिनादेखि ठप्पै छन् । रोकिएका सडक खुलाउने प्रयास नगरिंदा किसानले तरकारी र दूध बेच्न पाएका छैनन् भने दैनिक उपभोग्य वस्तु ढुवानीमा समस्या छ । बजार नपाएर तरकारी बारीमै कुहिएर गएको लेखानीकी किसान लालमाया पुनले गुनासो गरिन् ।


करिडोर अबरुद्ध हुँदा बागलुङदेखि बलेवा, जैमिनी, बरेङहुदै गुल्मी तर्फको यात्रा ठप्पै छ । मालढुंगा कुश्मीसेरा सडक पनि बन्द छ । यो सडकको एक्लेसालमा खसेको पहिरो दुइ महिनादेखि पन्छाइएको छैन । पानी पर्नासाथ हरेक दिन पहिरो खस्ने भएकोले बनाएर पनि कामै नभएको बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्काले बताए । यो पहिरो पन्छाउन गतवर्ष नगरपालिकाले ५० लाख खर्चेको थियो । यो वर्ष त्यतिनै खर्च हुने तर पहिरो नियन्त्रण नहुने देखेपछि खर्च गर्ने प्रयास नगरेको हो ।
जैमिनीको कुश्मीसेरा–बरेङ सडकको ठेउले खोलामा निर्माणाधिन पुल नबन्दा असार देखिनै सडक अबरुद्ध छ । ठेकेदारले डाइभर्सन नबनाएको, पुल पुरा नगरेको र सामाग्री जथाभावी थुपार्दा यो सडक रोकिएको हो । यो सडक नखुल्दा जैमिनीका मुकामदेखि वडा नं. ९ र १० का गाउँ जाने नागरिकले दुःख पाएका छन् । बरेङ गाउँपालिका प्रवेश गर्ने नाकानै बन्द भएको हो । ‘आफ्नै घर जान पनि सकेको छैन, नागरिकलेत सास्ती पाएका छन्’ जैमिनी नगरका प्रमुख नरबहादुर पुनले भने, ‘सदरमुकामको कार्यक्रममा भाग लिन चारवटा पहिरो छलेर पैदल हिंडेर आइपुगें ।’
लेखानीका बासिन्दाले त ३० मीनेटको बाटो हिंड्न नपाएर दुइ घण्टा घुमाउरो बाटो हिंडेर पालिकाको काम लिन बाध्य भएको बताउँछन् । ‘दैनिक पालिकामा जानुपर्छ, हिंड्नु पर्दा हैरान भएको छु’ वडा नंं ८ का अध्यक्ष प्रमानन्द कंडेलले भने, ‘पहिरोले जनताले सास्ती भोगेको कसैले देखेनन् ।’ लेखानीकै भुँदीखोला पहिरोले त सिरिमपाटा भन्ने बस्तीका २५ घर जोखिममा परेका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->