बागलुङ/तीन सय वर्ष पुरानो मानिने हनुमान नाँच बागलुङमा देखाइने भएको छ । नौ वर्षपछि यो नाँच देखाउनका लागि हनुमान नाँच संरक्षण समितिले अन्तिम तयारी गरेको छ । भदौ ११ गते मंगलबारदेखि औपचारिक रुपमा हनुमान नाँच देखाइने समितिका अध्यक्ष तीर्थप्रसाद श्रेष्ठले जानकारी दिए । आइतबार पत्रकार सम्मेलन गरेर उक्त जानकारी दिइएको हो ।
तीन सय वर्षअघि भक्तपुरबाट नेवारहरु बसाइ सरेर बागलुङ आएको अनुमान छ । उनीहरु आएपछि आप्mनो संस्कृति पनि सँगै लिएर आएको किंवदन्ती छ । समितिले तीन वा ५ वर्षमा हनुमान नाँच देखाउने गरेकोमा गत कोरोना संक्रमणको समयमा रोकिएपछि संचालनमा आउन सकेको थिएन । अहिले भने नौं वर्षपछि नाँच देखाउन लागिएको हो ।
नृत्यका लािग साउन माहिनाभर तालिम संचालन गरिएको थियो । तालिमपछि छानिएका १७ जोडी युवाहरुलाई नाँचका लागि सपथग्रहण गराएपछि नृत्यमा १३ जोडी युवालाई हनुमान बनाइने छ । बाँकी अतिरिक्त रुपमा राखिने बताइएको छ ।
बागलुङ नगरपालिका वडा नं. ३ को छहरापधेँरामा रहेको हनुमानथानमा मुल पुजारीले पुजा गरेपछि उल्टो हिंडेर नारायण चोकसम्म हनुमानको मुर्ति बोकेर ल्याउनुपर्ने प्रावधान छ । त्यसका लागि मंगलबार उपयुक्त साइत भएकोले सोही दिन मुर्ति ल्याएर पुजा शुरु गरिने बताइएको छ । उक्त पुजा पछि औपचारिक रुपमा हनुमान नाँच शुरु हुनेछ । त्यसपछि उपल्लाचौरमा रहेको राममन्दिरमा पुगेर पुजा गरेपछि मात्र बजारमा देखाइने व्यवस्था छ ।
हनुमान नाँच व्यवस्थापनका लागि बद्रीप्रसाद श्रेष्ठ मुल पुजारी छन् । त्यस्तै इश्वरप्रसाद मलेपति मुल कजी र बाँकी थप केही कजीको व्यवस्था भएको छ । त्यस्तै झण्डै दुइदर्जन स्वयंसेवक पनि खटिनेछन् । कुनै बिघ्नबाधा आएमा उनीहरुले साथ दिने मुल कजी इश्वरप्रसाद मलेपतिले बताए ।
आगामी चैत मसान्तसम्म यो नाँचलाई विभिन्न स्थानमा लगेर देखाइने छ । परम्परा अनुसार हरेक बिजोर वर्षमा मात्र हनुमान नाँच औपचारिक रुपमा देखाउन पाइन्छ । मेला महोत्सवमा देखाउने नाँच भने संस्कृतिको रुपमा मात्रै देखाइएको हो । त्यसका लागि आवस्यक पुजाआजा गरिदैन ।
हनुमान नाँच्ने युवाले ब्रम्हचार्यमा बस्नुपर्ने व्यवस्था छ । ‘युवाहरुलाई सतचरित्रमा बस्न प्रेरणा दिने भएकोले यो व्यवस्थापन गर्न धेरै गाह्रो छ’ मलेपतिले भने, ‘खर्चपनि धेरै लाग्छ ।’ समितिले गण्डकी प्रदेश सरकार, गण्डकी प्रज्ञा प्रतिष्ठान, स्थानीय व्यवसायी लगायतका संघसंस्थाबाट पनि सहयोगको आब्हान गरेको छ । कम्तिमा १० लाखबढी खर्च हुने अनुमानले खर्चको जोहो गर्न लागिएको हो ।
हनुमान नाँच संरक्षण समितिले आवस्यक कोष स्थापना गरेर हनुमानका लागि चाहिने सामाग्री जुटाउन लागेको बताइएको छ । पत्रकार सम्मेलनमा पनि उक्त जानकारी गराइएको हो । यो नाँच भक्तपुरबाट आएको सम्झना समेत हुने भएकोले बागलुङका नेवार समुदायले महत्वका साथ लिने गरेका छन् ।
पत्रकार सम्मेलन हनुमान नाँच संरक्षण समितिका अध्यक्ष तीर्थप्रसाद श्रेष्ठको अध्यक्षता, सचिव जयराज भण्डारीको संचालनमा सम्पन्न भएको थियो । हनुमान नाँच बाहेक नेवारहरुले हरेक वर्ष देखाउने अन्य मेलाहरुलाई भने छुट्टै समितिमार्फत काम गरिएको छ । नेपाल भाषा मंकाखलका अध्यक्ष मुकेश राजभण्डारीले अन्य मेलालाई सानो समिति बनाएर काम गरिएको बताए ।
लाखो जात्रा, गाइजात्रा, रोपाइजात्रा लगायतका दर्जनौं जात्राहरु बगलुङमा देखाइने गरिएको छ । ती जात्रामा पनि पछिल्लो समय कलाकारको अभाव हुन थालेको छ । शाक्य लगायतको जातीले लाखे र जोगी नाँच पनि देखाउने गरेका छन् भने अन्य जात्रा नेवारहरुको साझा जात्राको रुपमा मनाइने गरिएको छ ।





