बागलुङ/विद्यामन्दिर पुस्तकालयले पुस्तकालय दिवशलाई शैक्षिक विकासको रुपमा ५ दिन मनाउने भएको छ ।
बागलुङकै जेठो विद्यामन्दिर पुस्तकालयले बालबालिकाको सिर्जनात्मक लेखन कार्यशाला, विद्यालय स्तरीय निबन्ध लेखन, बाल कक्षाका बालबालिकाको स्वास्थ्य परीक्षण, शैक्षिक सामाग्री बितरण लगायतका कार्यक्रम गरेर दिवश मनाउन लागिएको हो । दिवश भदौ ११ देखि १५ गतेसम्म मनाइने कार्यक्रम तय भएको अध्यक्ष राम थापा अविरलले बताए ।
बिसं २००३ सालमा स्थापना भएको बागलुङको विद्यामन्दिर पुस्तकालयले दिवशको अवसरमा शैक्षिक उनन्यनका क्रियाकलाप गर्ने तयारी गरेको थापाले जानकारी दिए । ‘पठन संस्कृति र लेखन क्षमता बढाउन दिवशका क्रियाकलाप लक्षित छन्’ थापाले भने, ‘पछिल्लो समय हराउँदै गएको पठन संस्कृतिलाई उजागर गर्न सकिने उपायको खोजीमा छौं ।’ झण्डै ८ हजार पुस्तक डिजिटल रुपमा समेत राखिएको यो पुस्तकालयमा सत्र हजार पुस्तक छन् ।
यहाँ अध्ययन गर्नेको संख्या घट्दो छ । त्यसैले उपस्थिति बाक्लो बनाउन पठन संस्कृति बढाउने खालका कार्यक्रम आयोजना गरिएको हो । पुस्तकालयले बागलुङ हिरासतमा रहेका बन्दीलाई पनि पुस्तक उपहार दिने योजना बनाएको थापाले जानकारी दिए । पुस्तकालयमा ४० वर्ष सेवा गरेका हरिहर श्रेष्ठलाई दिर्घसेवा प्रदान गरिने योजना पनि पुस्तकालयको छ । राणा शासनको बेला मुस्ताङबाट झरेका ओमप्रसाद गौचन र मेघकुमार बैद्यले पुस्तकालय खोलेका थिए । समाजमा जागरण ल्याउन उनले पुस्तकालय खोलेका थिए ।





