पोखरा/ माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पार्टीको अबको प्राथमिकता पार्टी संगठन निर्माण र विचारको विकास भएको बताएका छन् । सरकारको कुरा भने गौण रहेको उनको भनाइ थियो ।
पोखरामा हिजोदेखि सुरु पार्टीको गण्डकी प्रदेशस्तरीय परामर्श बैठकको आज समापन गर्दै दाहालले जनतामा जान र नयाँ विचारको विकासमा लाग्न पार्टीका नेता कार्यकर्तालाई निर्देशन दिए ।
‘हामी सरकारको जोड घटाउमा लाग्ने होइन, अरुले हामीलाई खोज्दै आउने स्थिति हुनसक्छ । अवको कार्यभार पार्टी र विचारको विकास गर्ने गरी लाग्ने हो’ उनले भने । माओवादी केन्द्र अहिले पनि देशको महत्वपूर्ण शक्ति रहेको उल्लेख गर्दै राष्ट्रिय स्वाधिनताको रक्षा र अहिलेका उपलब्धिको रक्षा अन्यबाट सम्भव नरहेको उनले दावी गरे ।
प्रचण्डले कांग्रेस–एमालेको सत्ता गठबन्धन छिट्टै टुट्ने दाबी गरेका छन् । त्यो बेला दलहरु सरकार बनाइदिनुपर्यो भन्दै माओवादी खोज्दै आउने समेत बताए । पार्टीको गण्डकी प्रदेशस्तरीय परामर्श बैठकमा प्रचण्डले कांग्रेस एमालेको गठबन्धन विचार वा एजेण्डाले नबनेको बताए । ‘स्वार्थ र कुण्ठाले मिलेको समीकरण धेरै दिन त टिक्दै टिक्दैन’, उनले भने, ‘भन्थ्यो भन्नुहोला, धेरै समय लाग्दैन, यो समीकरण भत्किन्छ ।’
परिवर्तनका उपलब्धीलाई उल्टाउने षड्यन्त्र भइरहेकाले सबै सजग हुनुपर्ने भन्दै उनले आवश्यक परेको खण्डमा पुनःसङ्घर्षमा उत्रिएर भए पनि परिवर्तनलाई जोगाउनु पर्ने बताए । बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्यनिरुपण तथा मेलमिलाप आयोगसम्बन्धी विधेयक पारित भएसँगै १२ बुँदे सहमति करिब अन्त्य हुन लागेको र देश नयाँ ठाउँमा जान लागेको उनले जनाए ।
अहिले समाजवादी क्रान्तिका लागि बस्तुगत आधार तयार भएको र त्यसका लागि पहिलो सर्त पार्टीभित्रको एकता रहेको उल्लेख गरे । बैठकमा पार्टीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपाध्यक्षद्वय अग्नीप्रसाद सापकोटा र पम्फा भुसाल, महासचिव देव गुरुङ, उपमहासचिव जनार्दन शर्मा, वर्षमान पुन, गिरीराजमणि पोखरेल, हरिबोल गजुरेललगायतले आ–आफ्नो धारणा राखेका थिए ।





