बिहिबार, भाद्र २५ २०८३

बिहिबार, भाद्र २५ २०८३
  • २५ भाद्र २०८३ , बिहिबार
  • September 10 2026

पोखराको छोरेपाटनका ७४ वर्षीय रेशमबहादुर थापा क्षेत्री, जसले ५४ वर्षदेखि पोखरामा ट्याक्सी चलाइरहेका छन्

पोखराको छोरेपाटनका ७४ वर्षीय रेशमबहादुर थापा क्षेत्री, जसले ५४ वर्षदेखि पोखरामा ट्याक्सी चलाइरहेका छन्

खलासीबाट चालक बनेर ५४ वर्षदेखि ड्राइभिङ गरिरहेका थापा क्षेत्रीले अहिलेसम्म कुनै दुर्घटना बेहोर्नुपरेको छैन


  • लालप्रसाद शर्मा
  • भाद्र ११ २०८१, मंगलबार

पोखरा/  सेताम्मे कपाल । चाउरी परेका गाला । प्रायः सर्टपाइन्टमा सजिन्छन । घरी पोखराको लेकसाइड त कतिबेला राष्ट्रकैंक चोकको पर्यटक बसपार्क । कहिले बिरौटा चोकमा एकाबिहानै ट्याक्सी लिएर यात्रुका लागि हाजिर भइसकेका हुन्छन । दैनिक ५ हजार भन्दा बढी ट्याक्सी गुड्ने पोखरामा उक्त ट्याक्सीका चालकको भने बेग्लै कहानी छ ।

ट्याक्सीको चापमा एउटाको मात्रै किन चर्चा गर्न लागियो भन्ने प्रश्न उठन् सक्छ । यो स्वभाविक हो । तर फरक यत्ति हो, अरु ट्याक्सी चालक भन्दा लामो समयसम्म उनले पोखराको सडकमा सवारी साधन गुडाइरहेका छन । ५ वर्ष, १० वा २०, ३० वर्ष ? होइन, स्टेरिङ र ब्रेकसंगै उनले ५४ वर्ष गुजारीसकेका छन । अझै कतिवर्ष गुड्ने हुन यकिन छैन । बुढ्यौलीमा पनि जोशजाँगरसाथ ट्याक्सी चलाइरहेका उनको कामको प्रशंसा र चर्चा हुने गरेको हो । संभवत पोखरामा लामो समयसम्म सार्वजनिक सवारी साधन चलाउने उनी एक्ला चालक हुन ।

oplus_2

को हुन त उनी ? ७४ वर्षीय रेशमबहादुर थापा क्षेत्री, जो पोखरा–१७ छोरेपाटन बस्छन । २००७ चैत १२ मा पोखराकै न्यूरोडमा जन्मिएका थिए । परिवारको कुनै पेशा, व्यवसाय थिएन । खेतीकिसानी नै मुख्य काम थियो । स्कुल गएनन् । २०२४ सालतिरको कुरा, पोखरामा ‘९ नम्बर ढ्वाङ’ गाडी चल्थ्यो । उक्त गाडीका चालकसंग भेट भयो । १७ वर्षको उमेरमा उनी सोही गाडीको ‘खलासी’ बने । ३ वर्ष काम गरे । खलासी बनेको केही समयमै उनले गाडी चलाउन सिके । आफुलाई सक्षम बनाए । ढ्वाङ गाडी फाट्टफुट्ट रुपमा चलाउँथे । ढ्वाङ चढेर साँघुको मुखदेखि पोखरा एअरपोर्टसम्म मानिसहरु हवाइजहाज हेर्न आउथे । एक सुका भाडा थियो । चालकले उनलाई खाना खान दिन्थे । दैनिक एक रुपैयाँदेखि ३ रुपैयाँसम्म ज्याला दिन्थे ।

२०२७ सालतिर पोखरामा रसियन जीप भित्रिए । टेकबहादुर गुरुङको एउटा जीप थियो । सोही जीप चलाएर उनले व्यवसायिक चालक बने । सडक थिएन । जीप खोलखोलै कुदाउनु पथ्र्यो । ६ जना अट्ने जीपको भाडा ३ रुपैयाँ तोकिएको थियो । तर यात्रुले मुश्किलले १/२ रुपैयाँ दिन्थे । कतिपय भने हिडेरै गन्तव्यमा पुग्थे । सिक्का (ढ्याक) पैसा बढी चल्थ्यो । एक रुपैयाँको नोट छ्याप्छ्याप्ती चल्तीमा हुन्थे ।

साढे २ वर्ष जीप चलाए उनले । पछि एम्बेस्डर नामको गाडी भित्रियो । ६ वर्ष चलाए र यात्रुलाई सेवा दिए । पछि टोयोटा, मारुती आए । ती पनि चलाए । ‘२० वर्षको उमेरदेखि निरन्तर गाडी चलाइरहेको छु’ उनले भने, ‘सकिन्जेल चलाउँछु ।’ उनले २०२६ सालमा सवारी चालक अनुमतिपत्र लिएका थिए । बीचमा हाते ट्याक्टर पनि चलाए ।

प्रशस्त सम्पत्ति थिएन । खेतीकिसानी, दैनिक ज्यालादारी पनि उनले गरे । गाडी लाइनमा नपस्दै दैनिक ३ मोहोर र २ रुपैयाँसम्मको ज्यालामा काम गर्थे । पढेनन् । भविष्यको लक्ष्यबारे केही सोचेनन् । न्यूरोडमा २ वटा घडेरी थिए । एउटा घडेरी टाठाबाठाले जबरजस्ती हडेपे । २०३६ सालमा एउटा घडेरी डेढ लाखमा बेचेर छोरेपाटन सरे । यही ट्याक्सी चलाएर गुजारा गरे । छोराछोरी हुर्काए, बढाए, पढाए । तर उल्लेख्य प्रगति भने गर्न नसकेको उनको भनाइ छ । ‘ट्याक्सीको कमाइले खानबस्न ठिक्क भयो’ उनले भने, ‘तर पनि एउटै काममा निरन्तर लागिरहे । आत्मविश्वासकासाथ काम गरे । यसैमा सन्तुष्ट छु ।’

ट्याक्सीमा यात्रु लिएर उनी बिराटनगर, धरान, धनकुटा, चितवन, काठमाडौं, सुनौलीलगायत स्थानमा पुगिरहन्छन । ‘विश्वासिला यात्रु भएमा जान्छु’, उनले भने, ‘आजसम्म कुनै समस्या आएको छैन । बानी परिसक्यो, अब त डर पनि लाग्न छाड्यो ।’ अहिलेसम्म यात्रुबाट दुव्र्यवहार तथा अन्य समस्या झेल्नु नपरेको बरु राम्रोसंग आरामदायी तरिकाले गन्तव्यसम्म पुराइदिएको भन्दै कुनैकुनै ग्राहकले टिप्स दिने उनले बताए । कतिपयले खुशी हुँदै ढाप मारेर जाँदा आनन्द र सन्तुष्टि मिल्ने उनको भनाइ छ । ‘इमानसाथ ट्याक्सी चलाइरहेको छु, कहिल्यै कसैलाई एकपैसा ठग्न मनले मानेन’ उनले भने, ‘यात्रुको मन जित्ने कामलाई नै सम्पत्तीको रुपमा लिए ।’ एकपटक काठमाडौंबाट फर्किने क्रममा मुग्लिनको पुलमा रातीको समय र पानीको परेको बेला गाडी चिप्लिएर घुम्न पुगेको थियो । त्यसबाहेक ५४ वर्षको अवधिमा एकपटक पनि दुर्घटना वा समस्यामा नपरेको उनले खुशीसाथ सुनाए र भने, ‘लापारवाही नगरी चलाए दुर्घटनामा परिदैननी ।’

पहिला मान्छे कम थिए । हुन त गाडी पनि कम थिए । तर, कमाइ खासै हुन्थेन । अहिले भने कमाइ राम्रै छ । पहिला कच्ची बाटो, गाडी गुड्दागुड्दै थचक्क बस्थे । बनाउने मिस्त्री पनि कम थिए । कम्ता दुख हुन्थेन । अहिले भने सडक राम्रो हुदै गएका छन । सवारी साधन पनि अत्याधुनिक आइरहेका छन । तर यतिबेला मान्छेको व्यवहार र स्वभाव फेरिएको महशुष भने उनले गरेका छन । अहिलेका मान्छेमा इमान्दारिता हराउँदै गएको छ । पहिला रातभरी नै ढुक्कसाथ ट्याक्सी चलाउँदा डरको कुनै भाव हुन्थेन । अहिले भने दिउँसै डराउनु पर्ने अवस्था देख्छन उनी । मादक पदार्थ सेवन गर्ने बढे, मान्छेमा कुबिचार पलाउन थाल्यो, मान्छे पनि बढी भएकाले अहिलेका अवस्था आएको उनको बुझाइ छ ।

ड्राइभिङ नसिकेको भए अहिलेसम्म खेतीपातीमै सिमित हुन्थे होला भन्छन उनी । तर अहिले आएर जे गरे राम्रै गरे भन्ने लागेको छ । सकुन्जेल स्टेरिङ समाइरहने उनले बताए । कामको खोजीमा देशविदेश भौतारिइरहनु भन्दा एउटा सीप सिकेर आफ्नै गाउँठाउँमा पेशा, व्यवसाय गर्न उनी सुझाउँछन ।

घरपरिवारबाट अव ट्याक्सी नचलाइदिए हुन्थ्यो भन्ने कुरा आइरहन्छन । तर गरिरहेको पेशा किन छाड्ने भनेर परिवारको कुरा सुनेका छैनन । ‘आँखा मात्र होइन, ज्यान पनि तगडा छ, गरिराखेको काम किन छाड्नु र’ उनले भने, ‘छाडेर पनि कता जान, के गर्नु, सकिन्जेल चलाउँछु ।’ सुगर र प्रेसरको दवाइ भने नियमित खान्छन । उनले केही युवालाई ड्राइभिङ सिकाए । तर अहिले उनीहरु कहाँ के गर्दैछन उनलाई पत्तो छैन ।
उनले ३ देखि १५ वर्षसम्म साहुको गाडी चलाए । पछिल्लो ९ वर्षदेखि भने आफ्नै ट्याक्सी छ । त्यसको पनि वित्तिय संस्थामा किस्ता तिर्नुपर्छ । यसले पनि चलाउन नछाडेका हुन । ग १ ज ४२२४ नम्बरको ट्याक्सी हो उनको । घरमा श्रीमती छन । तीन छोरामध्ये जेठो र कान्छोले पनि अरुकोमा गाडी चलाउँछन । माइला छोरा बिदेश छन । बुहारी, नातिनातिनी छन । ३ छोरीको बिहे भइसकेको छ ।

 

पोखरेली ट्याक्सी सेवा प्रालिका अध्यक्ष शोभाकान्त पौडेलले लगातार ५४ वर्षसम्म गाडी चलाइरहने थापा क्षेत्री बाहेक अहिलेसम्म कोही फेला नपरेको बताए । एकजना नेपाली थरका चालक ४५ वर्ष जति चलाएर अहिले रोकिनुभएको जानकारी आए पनि यति लामो समय सवारी चलाउने उहाँनै रहेको उनको भनाइ छ । ‘यो निकै उदाहरणीय काम हो’ पौडेलले भने, ‘एउटै काममा निरन्तर लागिरहे सफल पनि भइन्छ भन्ने उहाँले देखाउनु भएको छ । अरुलाइ पनि शिक्षा मिल्छ ।’ समितिले आफ्नो वार्षीक साधारण सभामा हालैमात्र थापा क्षेत्रीलाई दीर्घ सेवा सम्मान गरेको थियो । ३० वर्ष भन्दा बढी समय ट्याक्सी चलाएकालाई सम्मान गरिएको थियो । त्यसमा थापा क्षेत्री सहित ३ जना थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->