पोखरा/ सेताम्मे कपाल । चाउरी परेका गाला । प्रायः सर्टपाइन्टमा सजिन्छन । घरी पोखराको लेकसाइड त कतिबेला राष्ट्रकैंक चोकको पर्यटक बसपार्क । कहिले बिरौटा चोकमा एकाबिहानै ट्याक्सी लिएर यात्रुका लागि हाजिर भइसकेका हुन्छन । दैनिक ५ हजार भन्दा बढी ट्याक्सी गुड्ने पोखरामा उक्त ट्याक्सीका चालकको भने बेग्लै कहानी छ ।
ट्याक्सीको चापमा एउटाको मात्रै किन चर्चा गर्न लागियो भन्ने प्रश्न उठन् सक्छ । यो स्वभाविक हो । तर फरक यत्ति हो, अरु ट्याक्सी चालक भन्दा लामो समयसम्म उनले पोखराको सडकमा सवारी साधन गुडाइरहेका छन । ५ वर्ष, १० वा २०, ३० वर्ष ? होइन, स्टेरिङ र ब्रेकसंगै उनले ५४ वर्ष गुजारीसकेका छन । अझै कतिवर्ष गुड्ने हुन यकिन छैन । बुढ्यौलीमा पनि जोशजाँगरसाथ ट्याक्सी चलाइरहेका उनको कामको प्रशंसा र चर्चा हुने गरेको हो । संभवत पोखरामा लामो समयसम्म सार्वजनिक सवारी साधन चलाउने उनी एक्ला चालक हुन ।

oplus_2
को हुन त उनी ? ७४ वर्षीय रेशमबहादुर थापा क्षेत्री, जो पोखरा–१७ छोरेपाटन बस्छन । २००७ चैत १२ मा पोखराकै न्यूरोडमा जन्मिएका थिए । परिवारको कुनै पेशा, व्यवसाय थिएन । खेतीकिसानी नै मुख्य काम थियो । स्कुल गएनन् । २०२४ सालतिरको कुरा, पोखरामा ‘९ नम्बर ढ्वाङ’ गाडी चल्थ्यो । उक्त गाडीका चालकसंग भेट भयो । १७ वर्षको उमेरमा उनी सोही गाडीको ‘खलासी’ बने । ३ वर्ष काम गरे । खलासी बनेको केही समयमै उनले गाडी चलाउन सिके । आफुलाई सक्षम बनाए । ढ्वाङ गाडी फाट्टफुट्ट रुपमा चलाउँथे । ढ्वाङ चढेर साँघुको मुखदेखि पोखरा एअरपोर्टसम्म मानिसहरु हवाइजहाज हेर्न आउथे । एक सुका भाडा थियो । चालकले उनलाई खाना खान दिन्थे । दैनिक एक रुपैयाँदेखि ३ रुपैयाँसम्म ज्याला दिन्थे ।
२०२७ सालतिर पोखरामा रसियन जीप भित्रिए । टेकबहादुर गुरुङको एउटा जीप थियो । सोही जीप चलाएर उनले व्यवसायिक चालक बने । सडक थिएन । जीप खोलखोलै कुदाउनु पथ्र्यो । ६ जना अट्ने जीपको भाडा ३ रुपैयाँ तोकिएको थियो । तर यात्रुले मुश्किलले १/२ रुपैयाँ दिन्थे । कतिपय भने हिडेरै गन्तव्यमा पुग्थे । सिक्का (ढ्याक) पैसा बढी चल्थ्यो । एक रुपैयाँको नोट छ्याप्छ्याप्ती चल्तीमा हुन्थे ।
साढे २ वर्ष जीप चलाए उनले । पछि एम्बेस्डर नामको गाडी भित्रियो । ६ वर्ष चलाए र यात्रुलाई सेवा दिए । पछि टोयोटा, मारुती आए । ती पनि चलाए । ‘२० वर्षको उमेरदेखि निरन्तर गाडी चलाइरहेको छु’ उनले भने, ‘सकिन्जेल चलाउँछु ।’ उनले २०२६ सालमा सवारी चालक अनुमतिपत्र लिएका थिए । बीचमा हाते ट्याक्टर पनि चलाए ।
प्रशस्त सम्पत्ति थिएन । खेतीकिसानी, दैनिक ज्यालादारी पनि उनले गरे । गाडी लाइनमा नपस्दै दैनिक ३ मोहोर र २ रुपैयाँसम्मको ज्यालामा काम गर्थे । पढेनन् । भविष्यको लक्ष्यबारे केही सोचेनन् । न्यूरोडमा २ वटा घडेरी थिए । एउटा घडेरी टाठाबाठाले जबरजस्ती हडेपे । २०३६ सालमा एउटा घडेरी डेढ लाखमा बेचेर छोरेपाटन सरे । यही ट्याक्सी चलाएर गुजारा गरे । छोराछोरी हुर्काए, बढाए, पढाए । तर उल्लेख्य प्रगति भने गर्न नसकेको उनको भनाइ छ । ‘ट्याक्सीको कमाइले खानबस्न ठिक्क भयो’ उनले भने, ‘तर पनि एउटै काममा निरन्तर लागिरहे । आत्मविश्वासकासाथ काम गरे । यसैमा सन्तुष्ट छु ।’
ट्याक्सीमा यात्रु लिएर उनी बिराटनगर, धरान, धनकुटा, चितवन, काठमाडौं, सुनौलीलगायत स्थानमा पुगिरहन्छन । ‘विश्वासिला यात्रु भएमा जान्छु’, उनले भने, ‘आजसम्म कुनै समस्या आएको छैन । बानी परिसक्यो, अब त डर पनि लाग्न छाड्यो ।’ अहिलेसम्म यात्रुबाट दुव्र्यवहार तथा अन्य समस्या झेल्नु नपरेको बरु राम्रोसंग आरामदायी तरिकाले गन्तव्यसम्म पुराइदिएको भन्दै कुनैकुनै ग्राहकले टिप्स दिने उनले बताए । कतिपयले खुशी हुँदै ढाप मारेर जाँदा आनन्द र सन्तुष्टि मिल्ने उनको भनाइ छ । ‘इमानसाथ ट्याक्सी चलाइरहेको छु, कहिल्यै कसैलाई एकपैसा ठग्न मनले मानेन’ उनले भने, ‘यात्रुको मन जित्ने कामलाई नै सम्पत्तीको रुपमा लिए ।’ एकपटक काठमाडौंबाट फर्किने क्रममा मुग्लिनको पुलमा रातीको समय र पानीको परेको बेला गाडी चिप्लिएर घुम्न पुगेको थियो । त्यसबाहेक ५४ वर्षको अवधिमा एकपटक पनि दुर्घटना वा समस्यामा नपरेको उनले खुशीसाथ सुनाए र भने, ‘लापारवाही नगरी चलाए दुर्घटनामा परिदैननी ।’
पहिला मान्छे कम थिए । हुन त गाडी पनि कम थिए । तर, कमाइ खासै हुन्थेन । अहिले भने कमाइ राम्रै छ । पहिला कच्ची बाटो, गाडी गुड्दागुड्दै थचक्क बस्थे । बनाउने मिस्त्री पनि कम थिए । कम्ता दुख हुन्थेन । अहिले भने सडक राम्रो हुदै गएका छन । सवारी साधन पनि अत्याधुनिक आइरहेका छन । तर यतिबेला मान्छेको व्यवहार र स्वभाव फेरिएको महशुष भने उनले गरेका छन । अहिलेका मान्छेमा इमान्दारिता हराउँदै गएको छ । पहिला रातभरी नै ढुक्कसाथ ट्याक्सी चलाउँदा डरको कुनै भाव हुन्थेन । अहिले भने दिउँसै डराउनु पर्ने अवस्था देख्छन उनी । मादक पदार्थ सेवन गर्ने बढे, मान्छेमा कुबिचार पलाउन थाल्यो, मान्छे पनि बढी भएकाले अहिलेका अवस्था आएको उनको बुझाइ छ ।
ड्राइभिङ नसिकेको भए अहिलेसम्म खेतीपातीमै सिमित हुन्थे होला भन्छन उनी । तर अहिले आएर जे गरे राम्रै गरे भन्ने लागेको छ । सकुन्जेल स्टेरिङ समाइरहने उनले बताए । कामको खोजीमा देशविदेश भौतारिइरहनु भन्दा एउटा सीप सिकेर आफ्नै गाउँठाउँमा पेशा, व्यवसाय गर्न उनी सुझाउँछन ।
घरपरिवारबाट अव ट्याक्सी नचलाइदिए हुन्थ्यो भन्ने कुरा आइरहन्छन । तर गरिरहेको पेशा किन छाड्ने भनेर परिवारको कुरा सुनेका छैनन । ‘आँखा मात्र होइन, ज्यान पनि तगडा छ, गरिराखेको काम किन छाड्नु र’ उनले भने, ‘छाडेर पनि कता जान, के गर्नु, सकिन्जेल चलाउँछु ।’ सुगर र प्रेसरको दवाइ भने नियमित खान्छन । उनले केही युवालाई ड्राइभिङ सिकाए । तर अहिले उनीहरु कहाँ के गर्दैछन उनलाई पत्तो छैन ।
उनले ३ देखि १५ वर्षसम्म साहुको गाडी चलाए । पछिल्लो ९ वर्षदेखि भने आफ्नै ट्याक्सी छ । त्यसको पनि वित्तिय संस्थामा किस्ता तिर्नुपर्छ । यसले पनि चलाउन नछाडेका हुन । ग १ ज ४२२४ नम्बरको ट्याक्सी हो उनको । घरमा श्रीमती छन । तीन छोरामध्ये जेठो र कान्छोले पनि अरुकोमा गाडी चलाउँछन । माइला छोरा बिदेश छन । बुहारी, नातिनातिनी छन । ३ छोरीको बिहे भइसकेको छ ।

पोखरेली ट्याक्सी सेवा प्रालिका अध्यक्ष शोभाकान्त पौडेलले लगातार ५४ वर्षसम्म गाडी चलाइरहने थापा क्षेत्री बाहेक अहिलेसम्म कोही फेला नपरेको बताए । एकजना नेपाली थरका चालक ४५ वर्ष जति चलाएर अहिले रोकिनुभएको जानकारी आए पनि यति लामो समय सवारी चलाउने उहाँनै रहेको उनको भनाइ छ । ‘यो निकै उदाहरणीय काम हो’ पौडेलले भने, ‘एउटै काममा निरन्तर लागिरहे सफल पनि भइन्छ भन्ने उहाँले देखाउनु भएको छ । अरुलाइ पनि शिक्षा मिल्छ ।’ समितिले आफ्नो वार्षीक साधारण सभामा हालैमात्र थापा क्षेत्रीलाई दीर्घ सेवा सम्मान गरेको थियो । ३० वर्ष भन्दा बढी समय ट्याक्सी चलाएकालाई सम्मान गरिएको थियो । त्यसमा थापा क्षेत्री सहित ३ जना थिए ।





