
पोखरा / गण्डकी प्रदेशमा ९ मन्त्रालय बनाउन नेपाली कांग्रेस र एमालेबीच सहमति भएको छ । प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले मन्त्रालयको संख्या ९ भन्दा नबढाउने भनेपछि त्यति नै कायम गर्ने सहमति भएको हो ।
सहमति अनुसार अब एमालेबाट ४ जना मन्त्री बन्ने छन् । कांग्रेस-एमालेबीच १० मन्त्रालय बनाएर बाँडफाँड गर्ने कि ९ बनाउने भन्ने विवाद लामो समय रहँदा एमाले सरकारमा सहभागी भएको थिएन ।
नेकपा एमालेका प्रमुख सचेतक गोविन्द नेपालीका अनुसार मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र एमाले संसदीय दलका नेता तथा पूर्वमुख्यमन्त्री खगराज अधिकारीबीच ९ मन्त्रालय बनाउने सहमति भएको छ ।
‘९ मन्त्रालय बनाउने विषयमा सहमति भएको छ । अब एमालेबाट ४ जना मन्त्री बन्ने छन्’, नेपालीले भने, ‘मन्त्रालयसहित २-४ दिनमा मन्त्रिपरिषदलाई पूर्णता नै दिने तयारी छ ।’
९ मन्त्रालयमा सहमति भएसँगै अब सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयबाट युवा तथा खेलकुद मन्त्रालय बनाउने र भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयबाट मनाङेको जिम्मेवारी हेरफेर गर्ने योजना छ । मुख्यमन्त्रीसँगै रहेको आन्तरिक मामिला, कानुन तथा सञ्चार मन्त्रालय बनाउने तयारी छ ।
अहिले कांग्रेसबाट मुख्यमन्त्री पाण्डेसँगै सामाजिक विकास तथा स्वास्थ्य मन्त्री विन्दुकुमार थापा, आर्थिक मामिला मन्त्री डा. टकराज गुरुङ छन् । फणीन्द्र देवकोटा ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्री र राजीव गुरुङ (दीपक मनाङे) भौतिक मन्त्री छन् । फणीन्द्रको मन्त्रालय यथावत राखेर मनाङेको भौतिक पूर्वाधार मन्त्रालयसहित लिएर एमाले सरकारमा जाने एक नेताले बताए ।
एमालेले ४ मन्त्रालय पाउने भएपछि मन्त्री बन्न एमालेमा लबिङ सुरु भएको छ । एमालेका प्रदेश सांसदहरु मन्त्री बन्नका लागि प्रदेश इन्चार्जदेखि केन्द्र र पार्टी अध्यक्ष तथा प्रधानमन्त्रीसम्म दौडधुप गरेका छन् ।





