बागलुङ/वडा स्तरीय विशेष संगठनात्मक अभियानका क्रममा राष्ट्रिय जनमोर्चा गलकोट नगर समिति बागलुङले सुशासन र जनजीविकासंग जोडिएका विषयलाई सम्बोधन गर्न माग गर्दै गलकोट नगरपालिका र सरकारको ध्यानाकर्षण गराएको छ ।
बिहिबार राष्ट्रिय जनमोर्चाका केन्द्रिय सदस्य राजेन्द्र ढुङ्गाना नेतृत्वको टोलीले नगरप्रमुख भरत शर्मा गैरेसमक्ष २० बुँदे ज्ञापनपत्र बुझाएको हो । स्थानीय तहले समाधान गर्न सक्ने विषय तथा पालिकामार्फत केन्द्रीय सरकारलाई स्थानीय जनताको आवाज सम्बोधन गर्न दबाब सिर्जना गर्ने उदेश्यले ज्ञापनपत्र बुझाईएको केन्द्रिय सदस्य ढुंगानाले जानकारी दिए ।
ज्ञापनपत्रमा पालिकामा बढिरहेको बेरुजु तथा विभिन्न अनुत्पादकमूलक क्षेत्रमा भइरहेको खर्चलाई नियन्त्रण, स्थानीय तहले गरिरहेका दलिय विभेदको अन्त्य गरिनु, सहकारीबाट ठगिएका वचतकर्ताहरुको वचत फिर्ता गरिनु, सार्वजनिक सवारी यातायातमा मनपरी भाडा असुली अन्त्य गरी भाडा दर कायम कायम गर्नुपर्ने, शैक्षिक गुणस्तरमा बृद्धि गर्न पालिकाले योजना बनाई कामको थालनी गर्नुपर्ने माग उल्लेख गरिएको छ ।
यस्तै, किसानले कृषि उपजको वास्तविक मूल्य प्राप्त गर्ने व्यवस्थापन पालिकाले मिलाई कृषि उपज खरिद बिक्रीको लागि न्यूनतम दर निर्धारण गर्नुपर्ने, स्वास्थ्य संस्था पर्याप्य स्वास्थ्यकर्मी र साधन स्रोत बनाउनुपर्ने, बालबालिका, बृद्ध र गर्भवती महिलाका लागि पौष्टिक आहारयुक्त पोषणको व्यवस्था मिलाउनु पर्ने, कालोबजारीको अन्त्य गरी उपभोक्ता हितका लागि नियमित बजार अनुगमन गर्नुपर्ने प्राकृतिक विपदबाट भएको क्षति र नगरबाट गरिएको सहयोग विवरण सार्वजनिक गर्न जनमोर्चाले माग गरेको छ ।
मध्यपहाडी लोकमार्गको बागलुङ–घोडाबाँधे खण्डमा भएको ढिलासुस्तीको छानविन गर्नुपर्ने, उत्तरगंगा, कालीगण्डकी जलविद्युत आयोजनाको कामलाई अगाडि बढाई लघु जलविद्युत आयोजनालाई व्यवस्थापन गर्नुपर्ने, कृषि र पशु अनुदानलाई व्यवहारिक बनाउनुपर्ने र भैसे पुलदेखि पेट्रोलपम्प सम्मको मोटरबाटो चार लाइनमा विस्तार गर्न समेत राष्ट्रिय जनमोर्चाले नगरपालिकामार्फत सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ ।
यस्तै, राष्ट्रिय तथा स्थानीय समस्याको विषयमा स्थानीय सरकारको ध्यानाकर्षण गराउन ढोरपाटन नगरपालिकाका कार्यबहाक नगरप्रमुख धनबहादुर कायतलाई ज्ञापन पत्र बुझाएको छ । राष्ट्रिय जनमोर्चाका सचिव भिमलाल पोखरेल, राष्ट्रिय जनमोर्चा बागलुङका कोषाध्यक्ष दिपक थापा, जिल्ला सदस्य तम बहादुर घर्ती, धनबहादुर अदै, कमला पान्डेसहितको टोलीले नगरप्रमुख कायतलाई ज्ञापन पत्र बुझाएको हो । विशेष संगठनात्मक अभियानअन्तर्गत हुग्दीसिर, दमेक, पैयुपाटा, हटिया, दगा, टारीखेत र हर्पेमा कार्यक्रम सम्पन्न भएको राष्ट्रिय जनमोर्चा बागलुङले जनाएको छ ।





