पोखरा/ सरकारले मुख्यसचिवमा हाल गृहसचिव रहेका एकनारायण अर्याललाई नियुक्त गरेको छ । हालका मुख्यसचिव लीलादेवी गड्तौलाले ५८ वर्षे उमेर हदका कारण शुक्रबार अवकास पाउने भएपछि बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सचिव अर्याललाई मुख्य सचिव बनाउने निर्णय गरेको हो । गड्तौला १० साउनमा मुख्यसचिव नियुक्त भएकी थिइन् ।
अर्याल २ वर्षभन्दा बढी मुख्यसचिव रहनेछन् । अर्याल सचिवहरुको वरियतामा चौथो नम्बरमा थिए । राष्ट्रिय योजना आयोगका सचिव तोयानारायण ज्ञवाली पहिलो, सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिव रामकृष्ण सुवेदी दोस्रो र महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सचिव दिनेश भट्टराई तेस्रो वरियतामा रहे पनि सरकारले चौथो नम्बरका अर्याललाई मुख्यसचिव बनाएका हुन ।
निजामती सेवा ऐन २०४९ को दफा १९ मा राजपत्रांकित विशिष्ट श्रेणीको मुख्यसचिव पदमा बढुवा गर्दा बहालवाला सचिवहरुमध्येबाट नेपाल सरकारले ज्येष्ठता र कार्यकुशलताको आधारमा छनोट गरी बढुवा गर्ने उल्लेख छ । २०४६ सालमा प्रशासन सेवातर्फ नायबसुब्बा पदबाट निजामति सेवामा प्रवेश गरेका अर्याल २०५१ सालमा अधिकृत, २०५८ सालमा उपसचिव, २०६७ सालमा सहसचिव हुँदै २०७६ सालमा सचिव पदमा बढुवा भएका थिए ।





