पोखरा/भारतबाट ल्याएका उन्नत जातका मुर्रा राँगाबाट जमेको विर्य उत्पादन सुरुसंगै नेपालले अब कृत्रिम गर्भाधानमा आत्मनिर्भर हुने देखिएको छ । भारत सरकारले नेपाललाई १५ वटा मुर्रा भैसीँ उपहार स्वरुप प्रदान गरेको थियो ।
सो मुर्राबाट भैसीँमा नश्ल सुधारका लागि विर्य संकलन गरि वितरण सुरु गरेको छ । भैसीमा नश्ल सुधार गरेको नेपाल अब जमेको विर्य निर्यात गर्न सक्ने स्थितिमा पुगेको राष्ट्रिय पशु प्रजनन् कार्यालय पोखराका प्रमुख पशु विकास अधिकृत डाक्टर जगदिश पाण्डेले बताए । उनका अनुसार नेपालमा ११ देखी १२ लाखसम्म विर्य संकलन गरि कृत्रिम गर्भाधानका लागि वितरण गर्दै आइरहेको छ ।
गत वर्षको तथ्यांक हेर्दा देशभर झण्डै सात लाख ४० हजार पशुमा कृत्रिम गर्भाधानका लागि विर्य वितरण गरिएको छ । जसमध्ये ६ हजार बाख्रा र बाकीँ गाई भैसीँ हुन् । पोखरामा मात्रै ६ लाख ७५ हजार डोज छ । लाहानमा साढे तीन लाख बढी डोज र नेपालगंजमा एक लाख डोज छ । नेपालमा तीन स्थानमा पशु प्रजनन् केन्द्र रहेका छन् । कृतिम गर्भाधानमा नेपाललाई पुग्ने र निर्यात सोच अगाडी बढिरहेको डा. पाण्डेले बताए । उता मुर्रा राँगाको विर्य वितरणसँगै अबको करिब ८ महिनामा मुर्रा राँगाका सन्तानलाई देख्न पाइने र यसले भैसीमा नश्ल सुधार हुने उनको भनाइ छ ।
‘मुर्रा राँगा ल्याउँदा भन्नेले जे पनि भने तर, सबैभन्दा खुसी भएको हामी हौं । शुद्ध नश्लको ३ हजारदेखी झण्डै ४७ सय केजीसम्म दुध उत्पादन गरेका आमाका छोराहरु जुन मुर्रा भारतले इतिहासमा हामीलाई कानुनी रुपमा हस्तान्तरण गर्ने अवस्था थिएन र दिएन’ उनले भने, ‘नेपाल सरकारको अथक प्रयासपश्चात १५ वटा राँगा उपहार स्वरुप शुद्ध नश्ल प्राप्त भएको हो ।’
उनका अनुसार एउटा शुद्ध राँगाबाट वार्षिक १५ देखी २० हजार जमेको विर्य उत्पादन गर्न सकिन्छ । जसबाट सोहीमात्रामा भैसीँलाई कृतिम गर्भाधान गराउन पुग्छ । यो राज्यका लागि ठूलो बरदान भएको डा. पाण्डेको भनाई छ ।
‘हामीले हामीसँग भएका मध्ये पाँच वटा रागाँहरुबाट जमेको विर्य तयार भ इगत साउनबाट नश्ल सुधारका लागि वितरण सुरु गरिसकेका छौं । ल्याएका राँगाहरु अहिलेसम्म सबै स्वस्थ छन् । धेरै जसो संकलनमा आइसके । अब यहाँको वातावरणमा उनीहरुलाई हुक्र्याउन र खानपानमा कुनै समस्या आएको छैन’ उनले भने, ‘ कीर्तिम तरिकाले संकलन गरेर त्यसलाई प्रयोगशालामा प्रशोधन गरि ०.२५ एमएमको स्ट्रमा प्याकेजिङ गरेर मात्रै वितरणमा पठाउने हो ।’
जसलाई माइनस १९६ डिग्री सेल्सियस तापक्रमको तरल नाइट्रोजनमा भण्डारण गरेर राख्नुपर्ने हुन्छ । उक्त चिसो समेत सहन सक्ने गरि जतिबेला कृर्तिम गर्भाधान गर्छ त्यतिबेला मनतातो पानीमा (थम गर्ने प्रक्रिया) राखेपछि त्यहाँ भएका कम्तिमा पनि ४५ प्रतिशत शुक्रकिटहरुको गतिविधि राम्रो भएमा मात्रै वितरण गर्ने उनको भनाइ छ ।
जसका कारण सबै एकै पटक संकलन भएपनि वितरण गर्न भने समय लाग्ने भएको हो । यी सबै परीक्षण पास भएपश्चात ऋतुकालमा आएका भैसीहरुमा प्रयोग गर्दा भैसीमा गर्भ बस्छ भन्ने सुनिश्चितता भएमात्र वितरणमा पठाउने गरेको उनले बताए ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री हुँदा भारत भ्रमण बाट फर्कदा १५ मुर्रा राँगा ल्याएका थिए । जसमध्ये ७ वटा पोखरामा, ५ वटा लाहान र ३ वटा नेपालगंजमा रहेका छन् । पोखरामा अहिले जमेको विर्य उत्पादका लागि अमेरिकन, कोरियन, भारतीयलगायत वंशावलीमा आधारित दुधालु गाई भैसीँ नश्ल सुधार कार्यक्रम मार्फत ६३ वटा रागाँ साढे छन् । यस्तै ३२ लाहान र १८ वटा नेपालगंजमा छन् । यी विर्यलाई तरल नाइट्रोजनमा डुबाएर राखेमा लाखौं वर्षसम्म केही नहुने पाण्डेले बताए ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड प्रधानमन्त्री हुँदा गत वर्ष मंसिर मुर्रा राँग नेपाल ल्याइएको थियो ।
(समाचारको शिर्षक सम्पादन गरिएको)





