बागलुङ/नेकपा (एकीकृत समाजवादी) बागलुङ नेकपा (एमाले)मा समाहित भएको छ । एकीकृत समाजवादीको केही दिनअघि निर्वाचित केन्द्रिय सदस्य श्रीप्रसाद शर्मा, जिल्ला अध्यक्ष लालबहादुर थापासहित सिंगो जिल्ला कमिटि नै एमालेमा समाहित भएको हो ।
एकिकृत समाजवादी र एमालेकाबीच पाँच बुँदे सहमति गरेर पार्टी समायोजन भएको घोषणा गरेका हुन् । बिहिबार सदरमुकाम बागलुङ बजारमा एक समारोहको आयोजना गरी दुवै पार्टीका केन्द्र, प्रदेश र जिल्लाका शिर्ष नेताहरुले समायोजनको घोषणा गरें ।
माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादी पार्टी एमालेमा बिद्रोह गरेर गठन भएको पार्टी भएपनि बिद्रोहको औचित्य पुष्टि नभएपछि एमालेमा समायोजन भएको केन्द्रिय सदस्य श्रीप्रसाद शर्माले बताए । ‘हिजो एमालेबाट समाजवादी हुँदा जुन प्रकारको उद्देश्य लिइएको थियो । त्यो औचित्य पुष्टि भएन्, नेपालको बामपन्थी आन्दोलनको रक्षाका लागि पनि हामी समायोजन हुन जरुरी थियो’ शर्माले भने, ‘पार्टी समायोजनको अभियान केन्द्रबाट सुरु होस् भन्ने थियो, त्यसो हुन सकेन हामीले तलबाट अभियानको थालनी गरेका छौं ।’
दुई पार्टी बीचमा नेकपा एस एमालेमा समाहित हुने, नेकपा एसमा बिभिन्न तहमा रहेका नेताहरुलाई पूर्ववत जिम्मेवारीमा पुनस्थापित गर्ने, नयाँ जिम्मेवारी दिनुपर्नेलाई पार्टीको बिधान अनुसार जिम्मेवारी दिने र कम्युनिष्ट विचार राख्ने छरिएर रहेका सबैलाई गोलबद्ध हुन आव्हान गर्ने सहमतिमा उल्लेख छ ।
पार्टी नेता कार्यकर्ताको उपयुक्त व्यवस्थापनका लागि एमालेका तर्फबाट नेताहरु मन कुमारी केसी, इन्द्रलाल सापकोटा, डा. सूर्य पाठक, हिराबहादुर केसी, गणेश थापा र एकिकृत समाजवादीको तर्फबाट नेताहरु श्रीप्रसाद शर्मा, लालबहादुर थापा र भरत पुरी रहेको कार्यदल गठन भएको एमाले उपसचिव धनबहादुर परियारले बताए ।
कार्यक्रममा नेकपा एस बागलुङका अध्यक्ष लालबहादुर थापाले निर्णय पुस्तिका एमाले अध्यक्ष हिराबहादुर केसीलाई बुझाएका थिए । समायोजन कार्यक्रमलाई सम्बोधन गर्दै एमाालेका स्थायी कमिटि सदस्य तथा गण्डकी प्रदेश इञ्चार्ज किरण गुरुङले जनताको म्याण्डेडका आधारमा काम गर्नुपर्ने बताए । बलियो एमाले निर्माणका लागि सबै कम्युनिष्ट विचार राख्नेहरु एकै ठाउँमा हुनुपर्नेमा उनको जोड थियो । उनले अहिलेको सत्ता गठबन्धन जनताकै चाहना अनुसार तयार भएको बताए । जनताले एउटै पार्टीलाई बहुमत नदिएकाले ठुला दुई दल मिलेर सरकार चलाउनु स्वभाविक भएको उनको तर्क थियो ।
बागलुङमा एमालेबाट बिद्रोह गरेर तयार भएको एकिकृत समजवादीले स्थानीय तह र संघ तथा प्रदेशको निर्वाचनमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रसँग मिलेर चुनाव लडेको थियो । स्थानीय तहको निर्वाचनबाट जिल्ला समन्वय समितिको उपप्रमुख, तीनवटा वडामा वडा अध्यक्ष, तीन वटा पालिकामा तीन जना कार्यपालिका सदस्य र केही वडा सदस्य जितेको थियो । पार्टीको शिर्ष नेतृत्व र जिल्ला कमिटि नै समाहित भएपछि जिल्लामा एकिकृत समाजवादीको अस्तित्व नै सकिएको थापा वताउछन् ।
समायोजन कार्यक्रममा नेकपा एमालेका जिल्ला इञ्चार्ज मन कुमारी केसी, नेकपा एसका अध्यक्ष लालबहादुर थापा लगायतले बोलेका थिए । एमाले अध्यक्ष हिराबहादुर केसीको अध्यक्षता, सचिव गणेश थापाको सञ्चालन र नेकपा एसका सचिव भरत पुरीको स्वागतमा कार्यक्रम सम्पन्न भएको थियो ।





