बागलुङ/तिज पर्वलाई भड्किलो नभै संस्कृति जोगाउने पर्वको रुपमा मनाउनुपर्ने बागलुङमा आयोजित एक कार्यक्रमका सहभागीले बताएका छन् । उद्योग बाणिज्य संघ अन्तर्गतको महिला उद्यम विकास समितिले आयोजना गरेको शुभकामना आदानप्रदान तथा उद्यमी महिला सम्मान कार्यक्रमका सहभागीले महिलाहरु उद्यममार्फत आत्मनिर्भर बन्नुपर्ने बताए ।
कार्यक्रमको उद्घाटन गर्दै महिला उद्यम विकास समितिका संस्थापक अध्यक्ष इन्द्र कुमारी श्रेष्ठले महिलाहरुले विभिन्न उद्योग संचालन गरेर आयआर्जन बढाउनुपर्ने बताइन् । उनले उद्यमी महिला मात्र उद्यम विकास समितिमा रहनुपर्नेमा जोड दिइन् ।
सो अवसरमा उद्यमी महिला दिपा पाईजालाई सम्मान गरिएको थियो । जिल्लाको बडिगाड गाउँपालिका रणसिङकिटेनी घर भई हाल बागलुङ बजारमा टेलरिङ व्यावसाय संचालन गर्दै आएकी पाईजालाई महिला उद्यम विकास समितिका अध्यक्ष अर्चना पालिखे र संस्थापक अध्यक्ष इन्द्र कुमारी श्रेष्ठले सम्मान पत्रसहित दोसल्ला ओडाएर सम्मान गरेका थिए ।

कार्यक्रममा उद्योग बाणिज्य महासंघका केन्द्रिय सदस्य युवराज राजभण्डारी र महिला उद्यम विकास समितिका निवर्तमान अध्यक्ष भगवती केसीले तिज पर्वको नाममा हुने विकृति विसंगती हटाई साँस्कृतिक पर्वको रुपमा मनाउनुपर्ने बताइन् । सम्मानित पाईजाले उद्यम गर्नेको पहिचान गरेर आफुलाई सम्मान गरेकोमा धन्यवाद व्यक्त गरिने ।
सो अवसरमा पाईजाले संस्थामा अक्षयकोष स्थापना गर्न भन्दै २५ हजार र संस्थापक अध्यक्ष श्रेष्ठले ५ हजार सहयोग गरेका थिए । कार्यक्रम महिला उद्यम विकास समितिका अध्यक्ष अर्चना पालिखेको अध्यक्षता, महासचिव पिंगला खड्का जिसीको संचालन र प्रथम उपाध्यक्ष जुनु श्रेष्ठको समापनमा सम्पन्न भएको थियो ।





