पोखरा/ पार्टीलाई आवस्यक राय, सल्लाह तथा सुझाव दिनका लागि कास्की कांग्रेसले विशेषज्ञ बृत्त निर्माण गरेको छ । यही भदौ ५ गते वसेको जिल्ला कार्य समिति वैठकको निर्णय अनुसार निर्माण गरिएको विशेषज्ञ वृत्तमा समाजको विभिन्न क्षेत्रमा विज्ञता हासिल गरेका व्यक्तित्वहरुलाई समेटिएको नेपाली कांग्रेस कास्कीले जानकारी दिएको छ ।
बृत्तमा अग्रज राजनीतिज्ञहरु अशोक पालिखे, भोला थापा, तीर्थ श्रेष्ठ, विश्व सिग्देल, शंकर देवकोटा र सकुन्तला गुरुड मनोनित भएका छन । जीवनको महत्वपूर्ण समय, ज्ञान, सिप र अनुभवले खारिएका व्यक्तित्वहरुको उपस्थिती र सक्रियताले कास्की कांग्रेस थप उर्जाशिल वन्ने अपेक्षा लिएको नेपाली कांग्रेस कास्कीका सभापति किशोरदत्त वरालले वताए । विगतमा पार्टीको विभिन्न तहमा रही समाजमा सम्मानीत जीवन वनाएकाहरुको अनुभवले पार्टीमा नयाँ रक्तसंचार गर्ने अपेक्षा सभापति वरालको छ ।
कांग्रेसले राजनीति, शिक्षा, स्वास्थ्य, पर्यटन, कृषि, वातावरण, योजना, उद्योग वाणिज्य, सुशासन तथा प्रशासन, साहित्य, कला तथा संगीत क्षेत्रलाई समेटेर विशेषज्ञ वृत्त निर्माण गरेको हो । ‘समाजको विविध क्षेत्रमा रहेर उहाँहरुले आर्जन गर्नु भएको ज्ञान, अनुभव र विज्ञताको खाँचो र आवश्यकता पार्टीलाई सदैव छ, त्यसैले उहाँहरुको मूल्यावान समय र साथलाई फेरि पनि पार्टीले लिन चाहेको हो,’ सभापति बरालले भने । कास्कीको राजनीतिमा अमूल्य समय र जीवन दिनुभएकाहरुको उपस्थितीले पार्टीमा नयाँ उत्साह संचार गर्ने नेपाली कांग्रेस कास्कीका सहसचिव नविन सिग्देलले दावी गरे । अन्य वृत्तका विशेषज्ञहरु पनि छिटटै निर्माण गर्ने तयारीमा रहेको कास्की काँग्रेसले जानकारी दिएको छ ।





