मंगलबार, कार्तिक ३ २०८३

मंगलबार, कार्तिक ३ २०८३
  • ३ कार्तिक २०८३ , मंगलबार
  • October 20 2026

जन्मभुमिप्रतिको कर्तव्य इजरायलबाट सिकौं : मन्त्री गुरुङ

जन्मभुमिप्रतिको कर्तव्य इजरायलबाट सिकौं : मन्त्री गुरुङ


  • ढोरपाटन संवाददाता
  • भाद्र १४ २०८१, शुक्रबार

बागलुङ/गण्डकी प्रदेशका आर्थिक मामिला मन्त्री डा. टकराज गुरुङले संसारको जुनसुकै भूगोलमा रहेपनि आफ्नो जन्मभुमिप्रतिको कर्तव्य बिर्सन नहुने बताएका छन् । उनले जन्मभुमिप्रति कर्तव्य के हो इजरायली जनतासंग सिक्नुपर्ने बताए ।
प्यालेष्टाइनसंग युद्व लडिरहेका इजरायलीहरुले देशको स्वाधिनताका लागि सरकारलाई आधा सम्पत्ति दिन तयार रहेको मन्त्री गुरुङले सुनाए । शुक्रबारदेखि बागलुङ बजारमा शुरु भएको जिल्ला स्तरीय जुनियर तथा युवा रेडक्रस सर्कलको गोष्ठीलाई सम्बोधनलाई गर्दै मन्त्री गुरुङले भने, ‘अहिलेको सक्षम युवा पुस्ताले देशको सेवा गर्ने अठोट लिनुपर्छ ।’
देश युद्वमा फसिरहँदा संसारभर रहेका इजरायलीहरु स्वदेश फर्किएर आफ्नो पहिचान र जन्मभुमि बचाउन कर्तव्य निर्वाह गरिरहेको गुरुङले दृश्टान्त दिए । जन्मभुमिप्रतिको कर्तव्य बिर्सिएर शिक्षाको बहानामा युवापुस्ता विदेश पलायन हुने क्रम बढेकोप्रति गुरुङले चिन्ता व्यक्त गर्दे भने, ‘देश विकासमा गति दिने युवाले देशमै संभावनाको खोजी गर्नुपर्छ ।
‘जन्मभुमिप्रतिको माया, सेवा र कर्तव्यलाई त्यहाँका नागरिकले नभुल्दा थोरै जनसंख्या भएको सानो देश इजरायल आज इजरायलको रुपमा स्थापित भएको छ’ मन्त्री गुरुङले भने, ‘हामीसंग प्रशस्त संभावना, योग्यता र क्षमता छ, अहिलेको जेनेरेसनले मातृभुमिप्रति कर्तव्य कता कता बिर्सेको जस्तो छ ।’ बिहानीले दिनको संकेत गर्छ भनेझैं किशोर–किशोरीहरुको कर्तव्य, जिम्मेवारी र सेवाभावले समृद्व नेपाल, सुखी नागरिक बन्ने उनले बताए । मुलुकको सेवा गर्ने अठोट पहिलो प्राथमिकता भएमात्र देश बस्न लायक हुने गुरुङको भनाई थियो । सो अवसरमा मन्त्री गुरुङले बागलुङ नगरपालिका वडा नं. ४ उपल्लाचौरस्थित रेडक्रस सोसाइटीको कार्यालय परिसरमा निर्मित सभाहलको समेत उद्घाटन गरेका थिए ।
कार्यक्रममा बोल्दै बागलुङ नगरपालिकाका नगरप्रमुख बसन्त कुमार श्रेष्ठले मानवीय सेवामा रेडक्रसले खेलेको भूमिकाको उच्च प्रशंसा गर्दै मानवीय सेवा जीवनको सर्वाेत्तम कार्य भएको बताए । प्राकृतिक बिपत्ले ठूलो मानवीय क्षतिसंग सडक क्षतविक्षत हुँदा नागरिकले हैरानी खेप्न बाध्य भएको बताउँदै बिपत्ले विच्छेद भएका सम्बन्ध जोड्न प्रदेश सरकारले प्रभावकारी भूमिका खेल्नुपर्ने नगरप्रमुख श्रेष्ठको भनाई थियो ।
रेडक्रसद्वारा सञ्चालित रक्तसञ्चार केन्द्रलाई आधुनिक उपकरण र दक्ष जनशक्ति सम्पन्न बनाई नागरिकहरुलाई स्थानीय स्तरमा सर्वसुलभ स्वास्थ्य सेवाको प्रत्याभूति दिलाउन नगरपालिकाले ठोस कदम चाल्ने समेत नगरप्रमुख श्रेष्ठले बताए । बालमैत्री नगरपालिका बनाउने अभियानअन्तर्गत नगरपालिकाले रेडक्रससंग स्वास्थ्यका क्षेत्रमा सहकार्य गरेको छ ।
नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा बागलुङका सभापति जगन्नाथ आचार्यको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा सिवाईसी नेपालका उपाध्यक्ष लक्ष्मण खड्का, रेडक्रस सर्कल भीमसेन मावि बिहुँका शिक्षक नायक कमल प्रसाद न्यौपानेले बोलेका थिए । रेडक्रसका उपसभापति सिता शर्माले स्वागत, मन्त्री भवानी कँडेलले संचालन गरेको कार्यक्रममा कोषाध्यक्ष जीवनाथ रेग्मीले संस्थाका गतिविधि र गोष्ठीको उदेश्यमाथि प्रकाश पारेका थिए । दुई दिनसम्म चल्ने गोष्ठीमा जिल्लाका ५० विद्यालयका १ सय ५० जनाभन्दा बढी जुनियर तथा युवा रेडक्रस सर्कलमा आवद्व किशोरकिशोरी सम्मेलनमा सहभागी छन् । गोष्ठीमा नेपाल रेडक्रस सोसाइटी गण्डकी प्रदेशका महासचिव रामदत्त पौडेल र रेडक्रस बागलुङका उपसभापति राजेन्द्र आचार्यले बिपत् व्यवस्थापनमा युवा, नेतृत्व विकास, जेष्ठ नागरिक हाम्रो दायित्व र सकारात्मक सोंचको विषयमा प्रस्तुतीकरण गर्ने छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->