पोखरा/ जलविद्युत कम्पनीको स्टोर गरि राखिएको ३३ के. भी ट्रान्समिसन लाइनमा प्रयोग हुने अन्डरग्राउन्ड पावर केवलको लागि आवस्यक तामाको तारसहित करीव ६ लाख मूल्य बराबरको सामान चोरेको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पोखराको वडा नं. १४ मझेरीपाटन बस्ने वर्ष २९ को सुजन परियार, आर्मी प्लटिङ बस्ने वर्ष ३७ को विकास खवास र खाल्टेमसिना बस्ने वर्ष २६ को निशान दर्जी रहेका छन ।
कास्की प्रहरीका अनुसार उनीहरुले यही भदौ १२ गते राती पोखरा–१४ मझेरीपाटन गोर्खा भिलेजमा रहेको सिभिल हाईड्रोपावर स्टोर्सको कम्पाउण्डमा स्टोर गरी राखेको सामान चोरेका हुन । अन्डरग्राउण्ड पावर केवलको तामाको तार, आल्मोनियम अन्डरग्राउण्ड पावर केवल र जेनेरेटरको पार्टपुर्जा समेत उनीहरुले चोरी गरेको प्रहरीले जनाएको छ ।
वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरी टोलीले खोजतलास तथा अनुसन्धान गर्ने क्रममा उनीहरुले तारको बाहिरी कभर फालेर तामाको तार मात्र बोरामा राख्न लागेको अवस्थामा भेटिएको थियो । अन्दाजी ९६ केजी तामाको तार र ७ केजी तामाको टुक्रा झोलामा हालिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेकालाई कास्की जिल्ला अदालतबाट चोरी तथा डाँका सम्बन्धी मुद्दामा ५ दिन म्याद थप गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।





