पोखरा/ बिमा रकम दावी गर्ने लोभमा आफ्नै पसलमा आगो लगाउने दुई जना पूर्पक्षका लागि कास्की कारागार चलान भएका छन । स्याङ्जाको आँधिखोला गाउँपालिका वडा नं. ६ स्थायी घर भई हाल पोखराको ड्यामसाईड बस्ने ३६ वर्षीय सुजन गहतराज र स्याङ्जाको पुतली बजार–७ स्थायी घर भई हाल पोखरा बस्दै आएका ४३ वर्षका पवन नेपाल कारागार चलान भएका हुन ।
गत साउन १६ गते मध्यरातमा पोखरा महानगरपालिका वडा नं. ६ नारेश्वरस्थित डा.थानेश्वर पहारीको घर भाडामा लिई मुक्तिनाथ सपिङ सेन्टर संचालन गर्दै आएका गहतराजले बिमाको रकम दाबी गर्नको लागि आफ्नै पसलमा आगो लगाएका थिए । उक्त घटनामा नेपाल पनि संलग्न रहेका थिए । दुवैजनालाई आपराधिक उपद्रव मुद्दामा मुद्दा दर्ता गरी अनुसन्धान गरिएकोमा कास्की जिल्ला अदालतबाट आज शुक्रबार उनीहरुलाई पूर्पक्षको लागि थुनामा पठाइएको हो ।





