
पोखरा/ एमाले उपमहासचिव एवं संचार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुव्वा गुरुङले गण्डकी प्रदेश सरकार मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको निजी शासन नरहेको बताएका छन । केन्द्रमा दुई ठूला दलबीच समीकरण बनेको लामो समयसम्म गण्डकीमा एमालेलाई सरकारमा सहभागी नगराएको विषयमा गुरुङले यस्तो अभिव्यक्ति दिएका हुन ।
माथि (केन्द्रमा) समीकरण फेरिदाँ प्रदेशमा पनि प्रभाव पर्ने भन्दै गुरुङले गण्डकीमा भने राजनीतिक इमान्दारिता नभएको बताए । दुखको बेला साथ दिएको भन्दै राजिव गुरुङ र फणिन्द्र देवकोटालाई मुख्यमन्त्रीले नहटाएकोप्रति उनको गुनासो थियो । ‘समीकरण बदलिएपछि दुखको बेला साथ दिएको भनेर हुदैन’, प्रेस चौतारी गण्डकीको पत्रकार भेटघाटमा आज गुरुङले भने, ‘यो मुख्यमन्त्रीका निजी शासन होइन, निजी प्रणाली पनि होइन । कहीँ नभएको जात्रा हाँडीगाउँमा जस्तो भएको छ गण्डकीमा ।’ पहिला कांग्रेस र एमालेबीच मन्त्रीको सिट बाँडफाँड हुनुपर्ने र गुरुङ र देवकोटालाई नहटाउने भए कांग्रेसले पाउने सिटमा मिलाउनुपर्ने उनले बताए ।
गुरुङले कांग्रेस एमालेको समीकरण २०८४ को निर्वाचनसम्मै रहने दावी गरे । म्याजिक नम्बर ३२ ले दुई ठूला पार्टीलाई ठगेको दुवै दलले बुझेपछि समीकरण गरिएको भन्दै उनले सरकार चलाउन अव तेस्रो दलको आवस्यकता नरहेकाले पनि समीकरण रहिरहने बताए । हालै पारित टिआरसी बिधेयक सरकारको एउटा महत्वपूर्ण उपलब्धी रहेको र यसलाई अन्तराष्ट्रिय जगतले पनि समर्थन गरेकाले सरकार टिक्ने एउटा मुख्य आधार यो पनि रहेको उनको भनाइ थियो ।
काठमाडौंमा बस्नेहरुको मानसिकता नबदलिएकाले प्रदेशका लागि आवस्यक कानुन बनाउन नसकिएको र संघीयता कार्यान्वयन प्रभावकारी हुन नसकेको उनले बताए । संघीय प्रहरी र संघीय निजामति ऐन एक वर्षभित्र ल्याउने तयारीमा सरकार लागेको उनले जनाए । प्रहरी र कर्मचारी आफ्नो नभएको सरकार सरकारै नहुने उनले बताए । ‘यी ऐन ल्याउन धेरै नै अवरोध भइरहेको छ’ उनले भने, ‘प्रहरीको आइजीपलेसमेत ऐन नल्याउने भन्ने सुनेको छु । यदि त्यस्तो भनेको भए नेपाल प्रहरीको आइजीपीको जिब्रो थुत्नु पर्छ ।’
मन्त्री गुरुङले राजा महेन्द्रका पालाका संचार नीतिलाई अव संसोधन गर्न बताए । सामाजिक संजाल संचालन, साइवर क्राइम ऐन ल्याउने तयारी भएको, एआइको नीति बनाउन लागिएको उनले जनाए । साथै डिजीटल नेपाल बनाउने अभियान, नेपालको आफ्नै स्याटेलाइट, पैसा र पासपोर्ट नेपालमै छाप्न सेक्युरिटी प्रिन्टिङ प्रेस खरीद जस्ता काममा सरकार लागेको उनले बताए ।





