बागलुङ/जिल्लामा अघिल्लो आर्थिक वर्षमा मात्रै ११६ घरेलु तथा साना उद्योग बन्द भएका छन् । पर्यटन तथा उद्योग कार्यालयमा दर्ता भएका साना उद्योग र बाणिज्य धमाधम बन्द हुन थालेका हुन् । अघिल्लो आर्थिक वर्षमा मात्रै २१ उद्योग र ९५ बाणिज्य फार्म बन्द भएको कार्यालयसँग तथ्यांंक छ । बन्द हुनेमा उद्योगभन्दा वाणिज्य फार्म बढी छन् । उद्योग व्यवसाय बन्द गराउँदा उद्योगी/व्यवसायीले आफ्नो घरायसी कारण देखाउने गरेका छन् ।
जिल्लामा आर्थिक वर्ष २०७९/८० मा एक सय १४ घरेलु तथा साना उद्योग बन्द भएका थिए । अघिल्लो वर्ष ०७९/८० को तुलनामा धेरै उद्योग व्यवसाय बन्द भएका छन् । कोभिड–१९ को असर, बैंकको ब्याज वृद्धि हुनु, आर्थिक तरलता लगायतका कारणले उद्योग तथा वाणिज्य फार्म बन्द हुनेक्रम बढेको व्यबसायी बताउँछन् ।
अघिल्लो आर्थिक वर्षमा ४६ वटा उद्योग र १ सय ४ वटा बाणिज्य दर्ता भएको कार्यालय प्रमुख पारसिंह थापाले बताए । कार्यालयमा दर्ता कायम रहेका २ हजार ५ सय ६८ उद्योगमध्ये ३ सय १८ उद्योग मात्रै नविकरण भएका छन् भने ३ हजार २ सय ४८ बाणिज्य फार्ममध्ये ४ सय ७२ बाणिज्य फार्म नविकरण भएका छन् ।
‘बैदेशीक रोजगारी साना उद्योग तथा वाणिज्य फार्म बन्द हुनुको प्रमुख कारण हो, बन्द गर्न आउनेले स्पष्ट कारण त खुलाउँदैनन्, तर यहाँ भएन् भन्छन्’ थापाले भने, ‘दर्ता हुने क्रम पनि रोकिएको छैन्, तर केही वर्ष पहिलेको तुलनामा निकै कम फार्म दर्ता भैरहेका छन् ।’
जिल्लाभर साना उद्योग तथा बाणिज्य फार्ममा २५ करोड ७० लाखभन्दा धेरै पुँजी परिचालित छ । ७ हजार ८ सय ८२ जना युवा पुस्ता रोजगारीमा जोडिएको क्षेत्रमा धमाधम उद्योग बन्द हुँदा रोजगारी घट्ने थापा बताउँछन् । ‘बजार, बिउ मल र कच्चा पदार्थ पनि व्यवसायीका ससाना समस्यामा पर्छन्, अधिकांश उद्योग छोटो समयमा धेरै कमाउने सपनाले बन्द भएको देखिन्छ’ उपभोक्ता मञ्च बागलुङका अध्यक्ष शैलेन्द्र कुमार श्रेष्ठले भने, ‘स्वरोजगारमुलक उद्योग बन्द हुनु उत्पादक र उपभोक्ता सबैका लागि दुःखद हो ।’
युवा पलायन रोक्ने, साना पुँजीको परिचालन गर्नेमा ध्यान दिनुपर्ने सरोकारवालाको सुझाव छ । जनशक्तिको अभावले यहाँको उद्योग बन्द हुने तर योग्य जनशक्ति रोजगारीको खोजीमा विदेशीने प्रबृत्तिले साना उद्योग क्षेत्रमा प्रभाव पारेको हो ।





