पोखरा/ पोखरा उद्योग वाणिज्य संघको अध्यक्ष पदमा वरिष्ठ उपाध्यक्ष गोकर्ण कार्कीले उम्मेदवारी मनोनयन दर्ता गराएका छन् । यहि भदौ २८ र २९ गते हुन लागेको पोखरा उद्योग वाणिज्य संघको ३५ औं महाधिवशनमा उनले अस्वस्थताका बिच पोखरा ४ गैह्रापाटनस्थित संघको कार्यालयमा पुगि मनोनयन दर्ता गरेका हुन् ।
डेंगुका कारण फिस्टेल अस्पतालमा उपचारत कार्कीले मनोनयन दर्तासँगै व्यवसायीसंग माफी मागेका छन् । व्यवसायीबीच पुग्नुपर्ने समयमा अस्पताल बस्नुपरेको भन्दै उनले माफी मागेका हुन । निको भएलगत्तै सकेसम्म सबैको घरदैलोमा पुग्ने कार्कीले बताए । संघमा हाल वरिष्ठ उपाध्यक्ष रहेका कार्कीले प्राकृतिक न्यायको सिद्धान्तले आफुलाई अध्यक्षको दाबेदार बनाएकाले पनि मनोनयन दिएको सुनाए । ‘विरामी हुँदाहुँदै पनि म निरन्तर संघमा क्रियाशिल रहेकाले नेतृत्वमा पुग्नुपर्छ, अहिले म वरिष्ठ उपाध्यक्ष भएकाले प्राकृतिक न्यायको सिद्धान्त पालनको हिसाबले पनि अध्यक्ष पदमा मैले उम्मेदवारी मनोनयन दर्ता गराएको हुँ’ उनले भने, ‘व्यवसायी साथीहरुको समस्या बुझेको छु । नेतृत्वमा हुँदा धेरै समस्या समाधान गर्न सकिन्छ त्यसैले पनि आम व्यवसायिको मर्का बुझेर नै मैले अध्यक्ष पदमा उम्मेदवारी मनोनयन दर्ता गराएको छु ।’ केही दिन उपचारमा रहने र निको भएपश्चात सकेसम्म हेरक व्यवसायिको घरदैलोमा पुग्ने र स्वास्थ्यले साथ नदिउन्जेल भौतिक रुपमा नभइ सामाजिक सञ्जाल वा फोनमार्फत हरेक व्यवसायिकमाझ पुग्ने सुनाए ।
२०५५ सालमा संघको साधारण सदस्य रहेका उनी विभिन्न उपसमितिहरुमा रहँदै २०७३ सालयता उद्योग उपाध्यक्षमा दुई कार्यकाल बिताइसकेका छन । यस्तै एक कार्याकाल वरिष्ठ उपाध्यक्ष भए । सोही अनुभव र अन्य संघसंस्थाको अनुभवलाई समेत अब नेतृत्व तहमा बसेर पोखराको गर्विलो इतिहास बोकेको जेठो संस्था पोउवा संघलाई व्यावसायीकाे सुख दुखमा साथ दिने, आइपरेका समस्या बारेमा दरिलो भएर काम गर्ने चाहाना भएको उनी सुनाउँछन । कार्की भाषण र बोलेर मात्रै काम हुन्छ भन्ने पक्षमा छैनन् ।





