बागलुङ/काम थालेको २३ वर्षपछि बागलुङ बसपार्क संचालनमा आउने भएको छ । आगामी मंगलबार गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बागलुङ नगरपालिका ४ दावगरामा निर्मित बसपार्कको उद्घाटन गर्ने कार्यक्रम गर्ने कार्यक्रम तय भएको छ । बसपार्क संचालनको लागि व्यवस्थापकीय काम सकिएको बागलुङ नगरपालिकाका नगरप्रमुख बसन्तकुमार श्रेष्ठले जानकारी दिए ।
कहिले जग्गावालाको चित्त बुझाउन नसकेर नगरपालिका पछाडि सर्नुप¥यो भने कहिले पहुँच मार्ग अभावमा बसपार्क संचालनमा आउन सकेको थिए । नगर विकास कोषको ऋणमा बनाएको बसपार्क चलाउने तयारीमै चार वर्ष बित्यो । यो समयमा ऋण भने साबाव्याज नियमित भुक्तानी गरिरहनुपर्छ । ऋण ल्याएर किस्ता तिर्न थालेको पनि ९ वर्ष भैसक्यो । त्यहीं ऋणले बनेको बसपार्क संचालनमा नआउँदा जनप्रतिनिधिको आलोचना हुने गरेको थियो भने जग्गादाताहरु निराश थिए ।
बसपार्कका लागि सहज सडक नबनेपछि बागलुङ नगरपालिकाले बसपार्क संचालनको तयारी थालेको हो । बसपार्क उद्घाटनको दिन जग्गादाता र अन्टार्टिकामा पुग्ने पहिलो नेपाली भवनसिंह विश्वकर्मालाई सम्मान गर्ने नगरपालिकाकाले योजना बनाएको छ । बागलुङ नारायणस्थानका भुवनसिंह भारतीय सेनामा कार्यरत रहँदा अन्टार्टिका महादेश पुगेका थिए । त्यहाँ पुग्ने पहिलो नेपाली विश्वकर्मा हुन् ।
बागलुङ नगरपालिका ४ दावगरामा बनाइएको नयाँ बसपार्क संचालनसंगै हालको चिप्लेटीलाई अर्को प्रयोजनमा लगाउन सकिने नगरको आस छ । नयाँ बसपार्क नजिकैबाट बागलुङ बेनी सडक गुडेको छ । बसपार्क छिर्ने सडक साँघुरो हुँदा बस लैजान नसकिएको हो । तर मुख्यसडकबाटै पहुँच मार्ग बनाउने नगरको तयारी छ । त्यो अवस्था आएमा साँघुरा सडकको सास्ती हट्ने नगरको विश्वास छ ।
बसपार्कका सरोकारवाला, बसपार्क व्यवस्थापन समिति र बागलुङ नगरपालिकाबीच पनि मतभेद रहँदा कामले गति लिन सकेको थिएन । २०५८ मा यहाँका बासिन्दाले साँढे १७ रोपनी जमिन दिएपछि बसपार्क निर्माणको काम शुरु भएको थियो । ठेक्कापट्टाको कामले ढीला हुँदा २०७७ जेठमा बसपार्क निर्माण सकिएको थियो । ‘बसपार्कभन्दा छोटो पहुँच मार्ग बनाउन बढी खर्च लाग्ने अवस्था भएर ढीला भएको थियो’ नगरप्रमुख बसन्तकुमार श्रेष्ठले भने, ‘अहिले भएकै सडकलाई स्तरीय बनाएर संचालन गर्ने र पछि छोटो सडकको काम गर्नेगरी बसपार्क संचालन गर्दैछौं ।’
हाल बागलुङ नगरपालिका ३ मा चिप्लेटी बसपार्क संचालनमा छ । त्यसले बढ्दो चाप धानेको छैन । बसपार्क संचालनमा आएसंगै लामो र छोटो दुरीका बस चलाउन सकिने तर्कमा व्यवसायी, नगर पदाधिकारीको छलफल चलेको छ । नगरपालिकाले जग्गाधनीलाई प्लटिङ गरेर जग्गा फिर्ता गर्नुपर्ने शर्त समेत छ । बसपार्क चलेसंगै जग्गा प्लटिङ गरी जग्गाधनीलाई फिर्ताको काम हुने नगरप्रमुख श्रेष्ठको भनाई छ ।





