बागलुङ/पाठेघर, छाती र कलेजोको क्यान्सरबाट पीडित बागलुङको जैमिनी नगरपालिका ७ जैदीकी सुकमाया परियारको उपचारमा सहयोगको लागि परिवारले अपिल गरेको छ । जैदी काभ्रेकी ५७ वर्षीया सुकमायाको उपचारका लागि आर्थिक अभाव भएको भन्दै श्रीमान विष्णु दर्जीले सहयोगको अपिल गरेका हुन् ।
परियार लामो समयदेखी क्यान्सरबाट पिडित भएर भरतपुर क्यान्सर अस्पताल चितवनमा उपचाररत रहेकामा आर्थिक अभाव भएपछि घरमै फर्किएकी छन् । पैसाको जोहो भएपछि अस्पताल जाने परियारको भनाई छ ।
उनका श्रीमानले उपचारमा धेरै रकम खर्च भइसकेको जानकारी दिंदै थप उपचारका लागि आर्थिक समस्या भएको बताए । अहिलेसम्म घरमा भएका वस्तुभाउ गरगहना बेचेर उपचार गरेको र करिब ८ लाख ऋण समेत लिईसकेको दर्जीले दुखेसो पोखे ।
हालसम्म ६ वटा किमो चढाएको बताउदै उनले अब डाक्टरले अप्रेसन गर्न भनेकाले उपचार रकमको अभावमा मृत्यु पर्खने बाहेक अरु उपाय नभएको गुनासो गरे । सुकमायाका १ छोरा, बुहारी र १ छोरी, नाती र नातिनी रहेका छन् । दर्जीका छोराबुहारीले भारतमा सामान्य नोकरी गर्दै आएका छन् ।





