पोखरा / लामो समयको छलफलपछि गण्डकी प्रदेश सरकारमा एमाले सहभागी हुने भएको छ । गण्डकी मन्त्री परिषदले आईतवार हाल कामय ७ मन्त्रालय फुटाएर ९ मन्त्रालय बनाउने निर्णय गरेसंगै आज एमाले प्रदेश सरकारमा सहभागी हुने भएको हो ।
एमाले ४ मन्त्रालय लिएर सरकारमा आजै सहभागी हुने मुख्यमन्त्री सचिवालय श्रोतले जानकारी दिएको छ । कुन पार्टीलाई कुन कुन मन्त्रालय दिने भन्ने विषयमा अन्तिम सहमतीका लागि मुख्यमन्त्री सुरेन्द्र पाण्डे र एमाले संसदीय दलका नेता खगराज अधिकारीले सोमवार विहान छलफल गरेका छन् ।
उनीहरु विच सहमती भएकोले मुख्यमन्त्री पाण्डेले आजै मन्त्रिपरिषद विस्तार गर्ने तयारी गरेका छन् । सहमती अनुसार एमालेको भागमा ४ मन्त्रालय परेको छ । काँग्रेसले मुख्यमन्त्रीसहित ३ मन्त्रालय पाउने भएको छ । स्वतन्त्र सांसद राजिव गुरुङ (दिपक मनाङे) र नेपाल समाजवादी पार्टीका फणिन्द्र देवकोटाले एक एक वटा मन्त्रालय पाउने भएका । मुख्यमन्त्री पाण्डे र एमाले नेता अधिकारीको विचमा भएको सहमती अनुसार मन्त्रालय र मन्त्रीको कार्यविभाजन हुनेछ ।
काग्रेसबाट आर्थिक मामिला मन्त्री टेक वहादुर गुरुङ र सामाजिक विकास मन्त्री विन्दु थापा कायम रहनेछन् । एमाले भौतिक मन्त्रालयसहित सरकारमा सहभागी हुनेछ भने देवकोटा र मनाङेको मन्त्रालयको कार्यविभाजन परिवर्तन गर्ने तयारी रहेको श्रोतले जनाएको छ । एमाले संसदीय दलले मन्त्री छान्ने जिम्मा संसदीय दलका नेता अधिकारीलाई दिएको छ ।एमालेले भूगोल, जातिय क्लष्टर र लैंगिक हिसावले सन्तुलनका आधारमा मन्त्री बनाउने अवस्था छ । स्रोतहरुका अनुसार बागलुङका कृष्णप्रसाद पाठक, नवलपुरकी पद्मा जिसी श्रेष्ठ, पर्वतका मित्रलाल बस्याल र कास्कीका प्रकाशबहादुर केसी मन्त्री बन्ने लगभग पक्काजस्तै छ ।





