पोखरा/ एमालेको ‘इन्ट्री’ संगै गण्डकी प्रदेश सरकारमा गरिएको मन्त्रालय बाँडफाँडमा स्वतन्त्र सांसदबाट मन्त्री बनेका राजीव गुरुङ (दीपक मनाङे) असन्तुष्टि देखिएका छन । प्रदेशकै महत्वपूर्ण मानिएको भौतिक पूर्वाधार बिकास तथा यातायात व्यवस्था मन्त्रालय सम्हाल्दै आएका गुरुङलाई टुक्राइएको वन तथा वातावरण मन्त्रालयमा पठाइएपछि उनी असन्तुष्ट बनेका हुन । भौतिक मन्त्रालय भने एमालेका प्रकाशबहादुर केसीलाई दिइएको छ ।
मनाङेले आफू वन मन्त्रालय नजाने बरु राजीनामा दिन सक्ने बताएका छन । उनले आफुभन्दा जुनियरका लागि मन्त्रालय छाड्न सक्ने बताए । कम प्रभाव भएको मन्त्रालय दिएको र वरीयता पनि घटाइएको भन्दै गुरुङले असन्तुष्टि जनाएका हुन । यसअघि तेस्रो बरियतामा रहेका उनलाई अहिले छैठौंमा पुराइएको छ । एमालेका ४ मन्त्रीको सपथ सकिए लगत्तै उनी अलि रिसाउँदै निस्किएका थिए ।
मनाङेले वन मन्त्रालयको पदभार ग्रहण नगरि मन्त्रालयबारे छलफल गर्न स्वकीय सचिव सन्तोष अधिकारीलाई मुख्यमन्त्री कार्यालय पठाएका छन् । वन मन्त्रालयको जिम्मेवारी पाएपछि असन्तुष्ट मनाङे पदभार नै ग्रहण गर्न गएका छैनन् । वन तथा वातावरण मन्त्रालयका सूचना अधिकारी राजेश पौडेलले आफुहरु मन्त्रीको स्वागतमा बसेकाे तर अहिलेसम्म पदभारका लागि नआएको बताए । ‘हामी कार्यालय समयभरी स्वागतका लागि बस्छौ’ उनले भने । गण्डकीमा ४ जना एमालेका मन्त्री नियुक्त गर्दै मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सोमबार मन्त्रिपरिषदलाई पूर्णता दिएका हुन् । दुखमा साथ दिएको भन्दै एमालेको माग विपरीत मुख्यमन्त्री पाण्डेले मनाङेलाई सरकारबाट हटाएका थिएनन ।





