बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

सूर्यदर्शन सहकारी ठगी प्रकरण : थप २५ जनाविरुद्ध अदालतबाट पक्राउ पुर्जी जारी

सूर्यदर्शन सहकारी ठगी प्रकरण : थप २५ जनाविरुद्ध अदालतबाट पक्राउ पुर्जी जारी

संसदीय छानविन समितिको प्रतिवेदन आएको केही समयमै अदालतमा मुद्दा लैजाने प्रहरीको तयारी छ ।


  • ढोरपाटन संवाददाता
  • भाद्र १९ २०८१, बुधबार

पोखरा/सूर्यदर्शन सहकारी ठगीको मुद्दामा थप २५ जनाविरुद्ध अदालतबाट पक्राउ पुर्जी जारी भएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीको अनुरोधमा जिल्ला अदालत कास्कीले २५ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरिदिएको हो ।
प्रहरी उच्च स्रोतका अनुसार, पक्राउ अनुमति लिइएकामा जिबी भन्ने गीतेन्द्रबाबु राइका आफन्त र सूर्यदर्शन सहकारीकै पूर्वसञ्चालक तथा कर्मचारीहरू रहेका छन् । पुरक जाहेरीमा पूर्वगृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहितलाई विपक्षी बनाइएको छ । लामिछाने गृहमन्त्रीबाट हटेसँगै प्रहरीले यो मुद्दाको अनुसन्धानलाई अगाडी बढाएको छ । तर अहिलेसम्म रविविरुद्ध भने पक्राउ पूर्जी जारी भइनसकेको प्रहरीको भनाइ छ ।
कास्की प्रहरीले काठमाडौँमै गएर लामिछानेलाई एक सरकारी कार्यालयमा लगेर प्रारम्भिक सोधपुछ गरिसकेको छ । सहकारी ठगीमा जोडिएका उनी संलग्न कम्पनीमा पनि प्रहरीले छापा मारेर कागजात नियन्त्रणमा लिएको छ ।
कास्की प्रहरीले गोर्खा मिडिया नेटवर्क, नेचर हब्स र नेचर नेस्ट कम्पनीमा छापा मारेर कागजात नियन्त्रणमा लिएको छ । ती कागजातमा अनुसन्धान गरिरहेको प्रहरीले जानकारी दिएको छ । साउनको पहिलो साता नै यी कम्पनीमा छापा मारेर कागजात नियन्त्रणमा लिने प्रहरीको तयारी भएपनि काठमाडौँ प्रहरी प्रमुखले असहयोग गर्दा कास्कीकै टोली काठमाडौँ जान परेको थियो । काठमाडौंको प्रहरी प्रमुखमा वसन्त रजौरेलाई लामिछानेले नै सरुवा गरेका हुन् ।
प्रहरीले पुरक जाहेरीपछि नै रास्वपाकै सहमहामन्त्री विपिन आचार्य, पूर्व डीआईजी छविलाल जोशी र पूर्व उपराष्ट्रपति नन्दकिशोर पुनका छोरा दिपेश पुनसँग पनि कागज गराइसकेको छ । बरामद भएका कागजात कास्की लगेर प्रहरीले अनुसन्धान गरिरहेको प्रहरी प्रधान कार्यालय स्रोतले जानकारी दिएको छ । गत माघ १६ गते नै पूरक जाहेरी परेर अनुसन्धान अगाडी बढेको थियो । पुरक जाहेरी परेको एकसातापछि कास्की प्रहरीले काठमाडौँ प्रहरीको सहयोगमा नेचर हबमा छापा मारेको थियो ।
पूर्वडीआईजी छविराज जोशीको घरमा रहेको उक्त कार्यालयमा छापा मारेर प्रहरीले जीबी राईका विभिन्न ६ वटा सहकारीका सफ्टवेयर बरामद गरेको थियो । ती सफ्टवेयरबाटै रवि लामिछानेसँगका पनि कारोबार खुलेका थिए ।
बुटवलको सुप्रिम सहकारीको सफ्टवेयर कास्की प्रहरीले पठाइदिएको थियो । सोहीबाट विवरण खुलाएर प्रहरीले अनुसन्धान प्रतिवेदन तयार गरेको थियो । रविविरुद्ध संसदीय छानविन समितिले पनि बयान लिइसकेको छ । समितिको म्याद १५ दिन थप भएर प्रतिवेदन लेखिरहँदा प्रहरीले पनि मुद्दा लैजाने गरी नै अनुसन्धानलाई अगाडी बढाएको हो । समितिको प्रतिवेदन आएको केही समयमै अदालतमा मुद्दा लैजाने प्रहरीको तयारी छ ।
सूर्यदर्शन सहकारीका बचतकर्ताको १ अर्ब ११ करोड ३४ लाख ४३ हजार ४५ रुपैयाँ हिनामिना गरेको आरोप छ । सहकारी ऐन अनुसार उनीहरुलाई बिगो बराबरको जरिवाना र ८ देखि १० वर्ष कैद सजायको माग गरिएको छ । सूर्यदर्शनसहित यी कम्पनीका प्रमुख जीबी भन्ने गितेन्द्रबाबु राई भने मलेसिया भागेका छन् । अरु पक्राउ परेका प्रतिवादीहरू पुर्पक्षका लागि थुनामा छन् । फरार प्रतिवादीहरूको प्रहरीले खोजी गरिरहेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->