पेखरा/गण्डकी प्रदेशमा साउन महिनामा सवारी दुर्घटनामा १६ जनाले ज्यान गुमाएका छन् । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय गगनगांैडाका, अनुसार, साउन १ गतेदेखी ३२ गतेसम्म कुल २७ दुर्घटना हुँदा १६ जनाले ज्यान गुमाएका हुन । यस्तै विभिन्न सवारी साधन कारवाहीमा पर्दा डेढ करोभन्दा बढी राजश्व संकलन भएको छ ।
ट्राफिक प्रहरीले सार्वजानिक गरेको उक्त तथ्यांक अनुसार कुल ३६ सवारी दुर्घटनामा परेका हुन । दुर्घटनामा मृत्यु हुने सबैभन्दा बढी कास्की जिल्लाका रहेका छन् । कास्कीमा ८, नवलपरासीमा ५, तनहुँमा २ र स्याङजामा १ जनाको मृत्यु भएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय गगनगौंडाका सूचना अधिकारी डीएसपी श्रवणकुमार बिकले जानकारी दिए । दुर्घटनामध्ये अधिकांश साँझको समयमा हुने गरेको प्रहरीको भनाइ छ ।
यस्तै १९ हजार एक सय १३ सवारी कारवाहीमा पर्दा एक करोड ५० लाख ५२ हजार पाँच सय रुपैयाँ राजश्व उठेको छ । प्रदेशमा सबैभन्दा बढी कास्कीमा सवारी कारवाहीसँगै राजश्व संकलन भएको छ । सात हजार तीन सय १३ सवारी कारवाहीमा पर्दा ५४ लाख ९८ हजार पाँच सय रुपैयाँ राजश्व उठेको सूचना अधिकारी प्रहरी नायव उपरीक्षक बिकको भनाइ छ । उनका अनुसार बागलुङमा नौ सय ७० सवारी कारवाहीमा पर्दा ८ लाख ४१ हजार रुपैयाँ राजश्व उठेको छ । सबैभन्दा कम मनाङमा २४ सवारी कारवाहिमा पर्दा २२ हजार राजश्व संकलन भएको छ । दुर्घटना न्यूनीकरण गर्नका लागि ट्राफिक प्रहरीले तीन हजार दुई सय ५७ कार्यक्रमको आयोजना गरेको र त्यस कार्यक्रमबाट ५६ हजार दुई सय ५३ महिला र ९८ हजार आठ सय ८१ पुरुष लाभान्वित भएको डीएसपी बिकले जानकारी दिए ।





