पोखरा/मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सरकार सफल हुन कर्मचारीको ठुलो भूमिका रहने स्वीकारेका छन् ।
‘संघ, प्रदेश, स्थानीय जुनसुकै तहका कर्मचारी जसले जहाँ बसेर काम गरेपनि इमान्दारीताका साथ गर्नुपर्छ, जनतालाई सरल र सहज सेवा दिनुपर्छ’ उनले भने, ‘सरकारलाई सफल बनाउनु जनप्रतिनिधि र कर्मचारी सबैको ड्युटी हो, आफ्नो ड्युटीप्रति सबै प्रतिवद्ध हुनुपर्छ ।’
उनी निजामती कर्मचारी दिवसको सन्दर्भ पारेर मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले बुधबार आयोजना गरेको प्रदेश निजामती सेवा, स्थानीय सेवासम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै थिए ।
सरकार असफल हुँदा त्यसको मुख्य जिम्मेवारी सरकार प्रमुख र राजनीतिक व्यक्तिलाई दिने गरिएपनि सरकारको अंगको रुपमा रहेका कर्मचारीको कार्यशैली र क्षमतामा पनि असफलता झल्किने उनले बताए ।
कर्मचारीहरुले चाहिँ मुख्यमन्त्रीसँग वृत्तिविकास, न्यायोचित र व्यवस्थित सरुवालगायतका विषयमा चासो राखेका थिए । संघीय निजामती ऐन नबन्दा प्रदेश निजामती ऐन कार्यन्वयनमा समस्या भएको गुनासो उनीहरुको थियो । जवाफमा मुख्यमन्त्री पाण्डेले प्रदेश निजामती सेवा ऐनमा देखिएका तत्काल संवोधन गर्नुपर्ने विषय प्रदेश सभाबाट तत्काल संशोधनको तयारी गरिएको बताए । साथै उहाँले संघीय निजामती ऐन निर्माण भएपछि पनि छुटेका विषय औचित्य हेरी संशोधनसहित संवोधन गरिने आश्वासन पनि बाँडे ।
प्रदेश कर्मचारी कल्याणकारी कोष स्थापनाका लागि चालु वर्ष प्रदेश सरकारले १ करोड विनियोजन गरेको बताउँदै उनले प्रदेशभित्रका स्थानीय तहलाईपनि कोषमा सहभागी गराउने जानकारी गराए ।
प्रमुख सचिव लक्ष्मीकुमारी बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा कर्मचारी ट्रेड युनियनका प्रमुखहरु, जनप्रतिनिधिहरु, मन्त्रालयका सचिवहरु लगायतको उपस्थिति थियो ।





