बागलुङ/गुठी युवाक्लबद्वारा आयोजित तेस्रो तीज मेला शुरु भएको छ । बागलुङ नगरपालिकाका प्रमुख बसन्तकुमार श्रेष्ठले बिहिबार मेलाको उद्घाटन गरे ।
तीन वर्षदेखि लगातार गुठी युवा क्लबले मेला आयोजना गर्दै आएको छ । मेला उद्घाटन गर्दै श्रेष्ठले नेपालीको मौलीक कला र संस्कृति जोगाउन युवाहरु जागरुक बन्नुपर्ने बताएका छन् । उनले आजकल युवाबिहिन गाउँहरु बढेकोमा चिन्ता गर्दै कला र संस्कृति जगेर्ना गरेर पर्यटक आर्कषण गर्ने, युवालाई स्वदेशमै रोजगारीका अवसर सिर्जना गर्ने र विकासमा पनि युवाकै हातेमालो चाहिएको बताए ।
विश्वमै युवा बढी भएको देश भएर पनि नेपालमा रोजगारी दिन नसक्दा धेरै जना विदेशिनु परेको उनको भनाई थियो । युवा क्लबहरुले पनि उचित उपाय खोजेर युवालाई अड्याउने उपाय खोजेमा नगरपालिकाले साथ दिने श्रेष्ठ वचन दिए ।
कार्यक्रममा उपप्रमुख राजु खड्का, वडा नं. ३ का अध्यक्ष सनी केसी, वडा नं. २ का अध्यक्ष सुरज बोसेल, सामाजिक अभियान्ता तथा महिला अधिकारकर्मी लीला खड्का र गुठी महिला समूहकी अध्यक्ष गीता थापाले शुभकामना मन्तव्य राखेका थिए । गुठी युवा क्लबका अध्यक्ष उमेशलाल मिजारको अध्यक्षता, उपाध्यक्ष सुवास रुचालको स्वागत र पत्रकार राम थापा अविरलको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
मेलामा अन्तर विद्यालय स्तरीय तीज नृत्य प्रतियोगिता, महिला समूहद्वारा मौलीक तीजगीत, युवाहरुको स्लो बाइक रेश र घैंटो फोर प्रतियोगिता पनि राखिएको छ । त्यस बाहेक राष्ट्रिय कलाकारको प्रस्तुती पनि रहेको आयोजकले बताए ।






