बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

गण्डकी प्रदेशमा डेंगीका ४९६० संक्रमित, ३ को मृत्यु, २ आइसीयूमा

गण्डकी प्रदेशमा डेंगीका ४९६० संक्रमित, ३ को मृत्यु, २ आइसीयूमा

वडा कार्यालयहरुले सचेतना कार्यक्रम संचालन गरे पनि प्रभावकारी हुन सकेको छैन ।


  • ढोरपाटन संवाददाता
  • भाद्र २१ २०८१, शुक्रबार

पोखरा/गण्डकी प्रदेशमा डेंगीको संक्रमण दिनानुदिन बढ्न थालेको छ । गण्डकीमा पछिल्ला ९ महिनामा तीन जनाको मृत्यु हुँदा दुईजना आइसीयुमा रहेका छन । आइसीयूमा रहेका एक जनाको मृत्यु भए पनि डेंगीकै कारण या अन्य कारण पुष्टि हुन बाँकी रहेको छ । गण्डकीमा बुधबारसम्म चार हजार नौ सय ६० जनामा डेंगी संक्रमण पुष्टि भएको छ ।
चालु अंग्रेजी वर्ष २०२४ को जनवरी अर्थात पुस १७ यता यता सबैभन्दा बढी अगस्ट (साउन–भदौ) मा डेंगीका बिरामी भेटिएका छन् । अगस्टमा मात्रै तीन हजार ६ सय ९३ जनामा डेंगी संक्रमण भएको छ । स्वास्थ्य मन्त्रालय गण्डकी प्रदेशले दिएको तथ्यांक अनुसार संक्रमणका दृष्टिले सबैभन्दा अगाडी कास्की छ ।
बुधबारसम्मको तथ्यांक अनुसार कास्कीमा दुई हजार एक सय ७९ संक्रमित छन् । यस्तै तनहुँमा एक हजार पाँच सय ४३, पर्वतमा चार सय ३४, गोर्खामा दुई सय ३८, स्याङजामा एक सय ७७, बागलुङमा एक सय ४६, लमजुङमा ७७, म्याग्दीमा ६७, नवलपुरमा ५२ र मनाङमा दुई जनामा डेंगी संक्रमण पुष्टि भएको हो । डेंगीबाट मृत्यु हुनेमा २ जना कास्कीको र एक जना तनहुँका रहेका छन् ।
तर, कास्कीमा बिहीबार विहान १० बजेसम्म संक्रमितको संख्या बढेर दुई हजार दुई सय ३३ पुगेको छ । जसमध्ये हालसम्म २ जनाको मृत्यु भएको छ । यस्तै दुईजना संक्रमित आइसीयूमा रहेका छन् । ती मध्ये एकको मृत्यु भइसकेको छ तर उनको मृत्यु डेंगी हो वा अन्य कारण त्यसको पुष्टि गर्न भने बाँकी रहेको स्वास्थ्य कार्यालय कास्कीका जनस्वास्थ्य प्रशासक रामबहादुर नेपालीले बताए । ‘डेंगी संक्रमण भएका दुईजना आइसीयूमा छन् । तीमध्ये एकको मृत्यु भए पनि अहिले नै डेंगीको कारण भनेर पुष्टि गरेका छैनौं, भोलि( शुक्रबार) बिहानसम्म कारण के हो भन्ने पुष्टि हुन्छ,’ उनले भने ।
उनका अनुसार कास्कीमा सबैभन्दा बढी पोखरा महानगरपालिकामा संक्रमित छन् । पोखरामा एक हजार आठ सय २७ संक्रमित छन् । जसमध्ये वडा नम्बर ८ मामात्रै तीन सय १६ संक्रमित छन् । त्यसपछि वडा नम्बर ५ मा दुई सय ५३ संक्रमित छन् । यो बाहेक ५० भन्दा बढी संक्रमित भएका अन्य सात वटा वडाहरु छन् । अन्नपुर्ण गाउँपालिकामा १५, माछापुच्छे्र गाउँपालिकामा १३, रुपा गाउँपालिकामा ८ र मादी गाउँपालिकामा ४ जना संक्रमित छन् । पालिका नखुलेका १९२ र कास्की बाहिरका १७४ जना संक्रमित छन् । कास्कीमा डेंगी परीक्षणका लागि आवश्यक किट रहेको उनी सुनाउँछन् । डेंगी नियन्त्रणका लागि खोज र नष्ट अभियान चलाए पनि प्रभावकारी नहुँदा संक्रमण दर बढ्दो क्रममा रहेको बताए । उनले कास्कीमा प्रत्येक हप्ता डेंगीको बिरामी बढिरहेको जानकारी दिए ।
‘पानी परिहेको छ,यतिबेला विभिन्न ठाउँमा स–सानादेखी ठूला भाँडाहरुमा पानी जमिरहेका छन् । सफा पानीमा पनि लामखुट्टेले अण्डा पार्छ र संक्रमण हुन्छ । अहिले संक्रमण दर बढिरहेको छ तर समुदायस्तरमा त्यति चासो नदेखिएको हामीले निष्कर्ष निकालेका छौं,’ उनले भने, ‘डेंगी ु नियन्त्रणका लागि हरेक घरघरमा हामी पुग्न सक्दैनाँ,ै नागरिक आफै सचेत हुनुपर्छ । पानी जम्न दिनु हुँदैन । वडा जनप्रतिनिधिसँग पनि हामीले पटकपटक छलफल गरिरहेका हुन्छाँै । उहाँहरुले राम्रो काम गरिरहेको बताउनुहुन्छ तर बिरामी भने बढिरहेका छन् ।’
डेंगी नियन्त्रणका लागि हरेक नागरिक आफै सचेत भइ आफ्नो घरआँगन वरपर सफा पानी जमेमा त्यसलाई तत्कालै फालेमा डेंगी नियन्त्रण गर्न सकिन्छ । कुनै डेंगी संक्रमित व्यक्तिलाई टोकेर अर्कोलाई टोक्ने मात्र नभई डेंगी सार्ने लामखुट्टेको अण्डामासमेत उक्त संक्रमण हुने हुँदा लामखुट्टेको जीवनचक्रलाई नष्ट गर्नुपर्ने उनको भनाइ छ । यसअघि पोखरा महानगरपालिकाले डेंगी नियन्त्रणका लागि पोखरा सभागृहको हलमा एक अन्तरक्रिया कार्यक्रमको आयोजना चाहिँ गरेको थियो । तर, महानगरमा भने संक्रमण घट्नुको साटो बढ्न थालेको छ ।
पोखरामा २०७२÷७३ सालदेखि डेंगी देखिन थालेको थियो । सुरुका तीन वर्ष पोखरामा एक एकजना मात्र डेंगीका बिरामी भेटिएकोमा चौथो वर्ष ५ सय ७१ जना बिरामी परेका थिए । त्यसपछिको वर्ष भने त्यो संख्या झन्डै २ हजार पुगेको थियो । डेंगी सरुवा रोग हैन । तर, यो लामखुट्टेको टोकाइबाट सर्ने र फैलने गर्छ । डेंगी सार्ने लामखुट्टेले प्रायः दिउँसो मात्र टोक्छ । खासगरी एडिज प्रजातिको लामखुट्टे डेंगीका लागि जोखिमपूर्ण हुन्छ । गर्मी एवं वर्षाको समयमा यस्तो लामखुट्टे फैलने भय बढी हुन्छ । यो लामखुट्टे जमेको सफा पानीमा अण्डा पार्दछ । पानी जम्ने भाँडाकुँडा, टिनका बट्टा, पुराना टायर, खाली ड्रम, फूलदानी, गमला, पानी ट्यांकीलगायतका भाडामा फुल पार्छ ।
चिकित्सकका अनुसार डेंगी लागेपछि उच्च ज्वरो आउने, जीउ, जोर्नी र हाड दुख्ने गर्छ । त्यस्तै आँखाको गेडी वरिपरि दुख्ने, वाकवाकि लाग्ने, वान्ता हुने, खान मन नलाग्ने, छालामा रगत जमेको धब्बा देखिने, नाक, गिँजा, तथा शरीरका अन्य अंगबाट रगत बग्ने सम्भावना हुन्छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->