बागलुङ/गत मंगलबार बागलुङ नगरपालिका ४ को दाबगरामा बनेको बसपार्क उद्घाटन भयो । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले बसपार्कको उद्घाटन गरे । बुधबारै उक्त बसपार्क सुनसान भएको टिकाटिप्पणी शुरु भयो ।
बिहिबार गुठी युवा क्लबले संचालन गरेको तीज मेलामा उपस्थित भएर बागलुङ नगरप्रमुख बसन्तकुमार श्रेष्ठ र उपप्रमुख राजु खड्काले नयाँ बसपार्क संचालनमा आएको प्रसंग कोट्याए । तीज मेलालाई चिप्लेटी बसपार्क खाली गरिएको थियो । तर, गुठीका भित्री गल्लीदेखि रुद्रे पिपलसम्म बसहरु सडकछेवैमा पार्किङ गरिएका थिए । उपल्लाचौरमा भने बस थिएनन् । नगरप्रमुख श्रेष्ठले बसपार्क संचालन गर्ने र चिप्लेटीलाई बहुउद्देश्यीय क्षेत्रको रुपमा विकास गर्ने लक्ष्य सुनाए ।
‘चिप्लेटी बसपार्क बाध्यताले पार्क गरिएको स्थान हो, यो हिरा बन्न सक्छ’ श्रेष्ठले भने, ‘तपाईं हामी मिलेर बसपार्क संचालनमा पहल गरौं, चिप्लेटीमा बहुउद्देश्यीय र आम्दानीमुलक व्यवसाय संचालन गरौं ।’ जमिन खण्डीकरण नभई आयआर्जनमा जोडिन सकिने क्रियाकलाप गर्न सकिने उनले औल्याए ।
त्यसो त चिप्लेटी बसपार्क बाध्यता र तत्कालिन आवस्यकताले बनेको थियो । यहाँ सामुदायिक प्रहरी पनि रहेकोले सुरक्षा महसुस गरेर व्यवसायीले एक करोडबढी पर्ने आफ्ना सवारी साधन पार्किङ गर्न थालेका हुन् । उपल्लाचौरमा रहेको दावगरा बसपार्क जस्तो संरचनाहरु यहाँ छैनन् । नयाँ निर्मित बसपार्कमा टर्मिनल भवन, व्यापारिक सटर र सार्वजनिक शौचालय समेत भएकोले अन्य व्यवसायिक विकास गर्न सकिने प्रसस्त आधार छन् । यहाँ खानेपानी र सरसफाइको नियमित व्यवस्थापन भने गर्न बाँकी छ । बढ्दो बजारीकरणलाई उपल्लाचौर, ओडारचौर, रमेटार र कुँडुलेसम्म बिस्तार गर्न पनि यो बसपार्क उपयोगी हुन सक्छ ।
यातायात व्यवसायीहरुले पनि नयाँ बसपार्क संचालनमा केही शर्त अगाडि ल्याएका छन् । प्रहरी चौकी राखेर सुरक्षाको व्यवस्थापन गर्नुपर्ने, केही रेष्टुरेन्टहरु संचालनमा ल्याउनुपर्ने, बजारमा जथाभावी राखिएका टिकट काउन्टरहरु एकीकृत गर्ने जस्ता विषय उनीहरुले उठाइरहेका छन् । स्थानीयले भने बसपार्कको आवस्यक पूर्वाधार र सुरक्षा व्यवस्था मिलाएपछि अनिवार्य रुपमा सवारीले बसपार्कमै हाजिर हुनुपर्ने सुझाव दिएका छन् । गण्डकी धौलागिरि यातायात कम्पनीका अध्यक्ष उमेश केसी महंगा बसको सुरक्षा र सहज सडकको पहुँच भएपछि बसहरु जान सक्ने बताउँछन् ।
बसपार्क उद्घाटन भएको भोलीपल्टै सुनसान हुने कुरा चर्चाको विषय बनेपनि दिगो रुपमा बसपार्क संचालन गर्ने कुरा पनि उत्तिकै महत्वपूर्ण भएको केसीको भनाई छ । त्यसका लागि टिकाटिप्पणीले भन्दा तत्कालिक र दिर्घकालिक आवस्यकताका काममा नगरपालिकालाई सुझाव दिने र गर्न सकिने संभावनाको खोजी गर्ने हो ।
बसपार्क आवस्यक छ भन्नेकुरा धेरै वर्षअघि महसुस भएको हो । अहिले बागलुङ बजारका हरेक गल्लीमा गाडी पार्किङ गर्दा ट्राफिक व्यवस्थापन अस्तव्यस्त छ । सडकपेटीमा सामाग्री राखेर बेच्ने, सडकमा सवारी साधन पार्क गर्ने प्रवृत्तिले नगर कुरुप देखिएको छ । जब व्यवस्थित सहर बनाइन्छ र बसपार्क पनि नियमित संचालन हुनेछ, तब ट्याक्सी, इरिक्सा र साना सवारी साधनले पनि नियमित काम पाउनेछन् ।
त्यसका लागि नगरले पहुँचमार्ग भने व्यवस्थित बन्नैपर्छ । त्यस बाहेक बागलुङ बेनी सडकमा बसपार्क जोड्ने काम गर्न बाँकी छ । बागलुङ बजारमा घुम्ने स्थान नभएर पर्यटक आगमन कम हुने गरेको छ । बिस्तारै बजारीकरण बढ्दा ती स्थानमा राम्रा र आर्कषक होटल बन्ने, घुम्ने स्थानहरु बढ्ने अवस्थाले नगरलाई नै फाइदा हुनेछ ।
बाँकी रह्यो जग्गादाताको कुरा । जसले २३ वर्ष अघि जग्गा दिएका छन् उनीहरुलाई छिटै कित्ताकाट गरेर घडेरी दिनुपर्छ । त्यसपछि क्रमशः आवस्यकताको आधारमा घरटहरा पनि बन्न थाल्नेछन् । त्यहाँ आवस्यकताकै आधारमा किराना पसलदेखि होटल रेष्टुरेन्ट र फेन्सी पसल खुल्नेछन् । स्वच्छ प्रतिष्पर्धाको आधारमा व्यवसाय गर्ने वातावरण बनेपछि बजार चलायमान बन्छ ।
नगरप्रमुख श्रेष्ठले पनि सोही आसमा चिप्लेटी बसपार्कलाई बहुउद्देश्यीय स्थान बनाउने बताएका हुन् । लामो समयदेखि बसेको स्थान छोड्न केही कठिनाइ हुने हाम्रो पुरानै संस्कार हो । बसपार्क छाड्दा चिप्लेटीमा पर्ने व्यवसायिक असर न्युनिकरणका लागि नयाँ संरचना बनाउने र नयाँ बसपार्कमा नयाँ व्यवसायको खोजी गर्ने काम नगरबासीको पनि हो । नगरप्रमुख र उपप्रमुखले गाडी पार्क गरिदिएर मात्र बसपार्क चल्ने होइन । त्यसका लागि नगरबासीले आजैदेखि सकारात्मक सोचका साथ काम थाल्यौं भने नयाँ बसपार्कको सपना पुरा हुनेछ ।





