पोखरा/ गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले हरितालिका तीज, २०८१ को अवसरमा शुभकामना सन्देश व्यक्त गरेका छन । भट्टले शुक्रबार सन्देश जारी गर्दै नेपाली महिलाहरूको महान पर्व हरितालिका तीजको सुखद् अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनीहरूमा हर्षोल्लास, सुख, शान्ति, समृद्धि, आपसी एकता, पारिवारिक सद्भाव एवं सुस्वास्थ्य र दीर्घ जीवनको शुभकामना व्यक्त गरेका हुन ।
‘परापूर्व कालदेखि अवलम्बन गरिएको रीतिरिवाज, रहनसहन र धार्मिक सहिष्णुताको प्रतिविम्बको रूपमा पनि तीज पर्वको विशिष्ट स्थान छ’, सन्देशमा छ, ‘यस्ता पर्वले नेपालीहरुलाई एकताको सूत्रमा आबद्ध गर्दै धार्मिक सहिष्णुता तथा सद्भाव कायम गर्नुका साथै एकापसमा खुसी साटासाट र मनोरञ्जन गर्ने अवसर समेत प्रदान गर्दै आएका छन् ।’
तीजको मौलिकतालाई कायम राख्दै यसको सांस्कृतिक महत्वको जगेर्ना गर्न आवश्यक रहेकोमा उनले जोड दिएका छन् । सरल र सदाचार जीवनशैली अपनाउन खर्चिलो तथा भड्किलोपन बन्देज गरी यस्ता चाडपर्वहरुको गरिमालाई सम्मानजनक बनाई राख्नु आजको आवश्यकता रहेको उनले बताए । तीजले नेपाली महिलाहरूलाई समाजमा लैंगिक तथा जातीय विभेद लगायत सबै प्रकारका असमानताहरूको अन्त्य गर्दै समतामूलक प्रगतिशील समाजको निर्माणतर्फ अग्रसर हुन उत्प्रेरित गर्न सकोस् भन्ने शुभेच्छा पनि उनको छ ।





