म्याग्दी/जिल्लाको बेनी नगरपालिका–९ तोरीपानीकी १९ वर्षीया गर्भवती मीना परियारको हत्यामा संलग्न र सघाउने पाँचै जनालाई जिल्ला अदालत म्याग्दीमा कर्तव्य ज्यान मुद्दा दर्ता भएको छ । गत बर्षको पुस १६ गते राति वेपत्ता भएकी परियारलाई २५ वर्षीय राम खत्रीले मीनाको घरमै पुगेर बोलाएर करिब १ सय मिटर तल रहेको चौतारीमा हत्या गरी झाडीमा लुकाएर डोको नाम्लो लिएर कालीमूलको जङ्गलमा खाल्टो खनी पुरेको प्रहरीलाई बयान दिएका छन् ।
व्यक्ति बेपत्ता बनाएको कसुरमा २०८० माघ २३ गते पक्राउ परेका खत्रीलाई म्याग्दी जिल्ला अदालतको गत फागुन १७ गतेको थुनछेक आदेशअनुसार पुर्पक्षका लागि कारागार चलान गरिएकोमा शब भेटिएपछि थप अनुसन्धानमा नयाँ तथ्य सार्वजनिक भएको प्रहरी नायव उपरीक्षक भरत श्रेष्ठले बताए। ‘गर्भवती बनाएका खत्रीलाई ब्यवस्थापन गर्न परिवारका सदस्यले समेत सघाएको देखिन्छ,हामीले सबैलाई मुद्धा दायर गरेका छौ’ प्रनाउ श्रेष्ठले भने । घटनाको अघिल्लो दिन घरमा समेत छलफल भएको देखिएको प्रनाउ श्रेष्ठको भनाई छ ।
शुक्रबार साँझ आयोजित जिल्ला प्रहरी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा अभियुक्त विवाहित भएको र प्रेमीका दलित भएकाले गर्भवती भएपछि घटना घटाइएको देखिएको प्रनाउ श्रेष्ठको भनाई छ । घटनामा हत्यामा मिलेमतो गरेको भन्दै प्रहरीले मुख्य अभियुक्त खत्रीकी आमा ४५ वर्षीया रेणु खत्री, दाई विक्की खत्री, भाई श्याम खत्री, सालो नाता पर्ने २३ वर्षीय रोजन खत्री र २३ वर्षीय श्याम खत्रीलाई समेत घटनामा मिलेमतो गरेको भन्दै कर्तव्य ज्यान मुद्दा दर्ता गरेको हो । प्रहरीले मुख्य अभियुक्त खत्रीलाई कर्तव्य ज्यान मुद्दामा हदैसम्म अर्थात सर्वस्व सहित जन्म कैद सजाय माग गरेको प्रहरी निरीक्षक राजन रायमाझीले बताए । घटनालगत्तै व्यक्ति बेपत्ता बनाएको कसुरमा मुद्दा चलाए पनि भेटिएको शवको सनाखत गरेर परिवारले किटानी जाहेरी दिएपछि कर्तव्य ज्यान मुद्दामा अनुसन्धान गर्दा परिवारले दलित यूवतीसँग विवाह नगर्न दवाव दिएपछि हत्याको योजनामा अभियुक्त खत्री पुगेको भनाई छ ।
मीनासँगको प्रेम सम्बन्ध स्वीकार गरेका मुख्य आरोपी रामले प्रहरी, सरकारी वकिल कार्यालय र अदालतमा भने बेपत्ता बनाएको र हत्या गरेको घटनामा इन्कारी बयान दिदै आएका थिए । डिएनए परीक्षणका लागि प्रहरीको विधि विज्ञान प्रयोगशालामा पठाइएको रिर्पोट बाहेक अन्य सबैमा हत्या नै भएको देखिएको प्रहरीले जनाएको छ । धारिलो हतियार प्रयोग गरेर हत्या भएको र पेटमा भु्रण समेत रहेको पुष्टि भएको थियो । परियार हत्या घटना सामुहिक भएको भन्दै पीडित परिवार र अगुवाले दवावमुलक धर्ना र प्रर्दशनी गरिरहेका छन् । संयुक्त राजनीतिक दलित सङ्घर्ष समितिले अन्तरजातीय प्रेम सम्बन्ध हुँदै गर्भवती बनाएर नियोजित रुपमा हत्या भएकाले किटानी जायरीमा भएका सबैलाई हदैसम्मको कारबाहीको माग गरेका छन् ।





